ईशाईहरुको बदनाम गर्ने नक्कली ईशाईहरु जसले ख्रीष्टमा विश्वास नै गर्दैनन्

जो ख्रिष्टलाई नै विश्वास गर्दैनन्

तर ख्रिष्टियन भनि गलत प्रचार भयो 


गिदोन लामिछाने (महाप्रतिवाद)

इटहरी÷मूलधारको इसाई मत भन्दा फरक विचार राख्ने परमेश्वरको मण्डली विश्व सुसमाचार समाज (सियोन) सँग आबद्ध केहि मानिसहरुलाई प्रयोग गरेर इसाई धार्मिक समुदायको बद्नाम गर्ने अतिवादीहरुको पूर्वयोजना अनुसार सुनसरीको इटहरीमा एउटा रहस्यमय घटना सार्वजनिक भएको छ ।

२०६३ सालदेखि सियोनमा लागेका अभिषेक कार्की र उनको परिवारलाई सियोनका अगुवाहरुले बिल्लीबाठ बनाएको भन्दै ०७६ बैशाख ९ गते इलाका प्रहरी कार्यालय इटहरी अगाडी खुल्ला रुपमा ताण्डव नृत्य नै देखाए । जसलाई योजनाबद्ध रुपमा इसाई धर्ममा लाग्दाको परिणाम भनि प्रचार प्रसार गराइयो । त्यसको चाँजोपाँचोमा केहि अतिवादी सञ्चारकर्मीहरु नै सक्रिय थिए । तर पीडित भनिएका र पीडकहरुको इसाई समाजसँग कुनै सम्लग्नता नरहेको इटहरी इसाई समाजका अध्यक्ष पाष्टर राजेश भण्डारीले जानकारी दिएका छन् । 

अध्यक्ष भण्डारीले भने–‘अभिषेक कार्की र उनको समूहले इसाईहरुलाई नै बारम्बार दुःख दिँदै आएका थिए । उनीहरु येशू ख्रीष्टमाथि विश्वास नै गर्दैनन् र मुक्तिदाताका रुपमा आन साङ होङलाई मान्दछन् भने पत्रकार मित्रहरुले कसरी इसाई र ख्रिष्टियनहरु भनि प्रचार गर्नुभयो उनीहरु आन साङ होङका अनुयायीहरु हुन् । ख्रिष्टका अनुयायीहरुलाई मात्रै ख्रिष्टियान वा इसाई भनिन्छ । पत्रकारको आवरणमा केहि कट्टरवादी–अतिवादीहरुले अभिषेक र उनको परिवारलाई सुनियोजित रुपमा नाटक मञ्चन गर्न लगाइएको हो ।’ उनले भने–‘हुनसक्छ उनी पीडित होलान् त्यसमा प्रशासनले न्याय दिनुपर्छ तर इसाई धर्मसँग जोडिएर प्रचार हुनु दुःखद हो । किनकी उनलाई हामी राम्ररी चिन्दछौं । उनी ख्रिष्टियनहरुका घरघरमा गएर ख्रिष्टबाट भड्काउने र रुपियाँ पैसाका पछि मानिसहरुलाई दौडाउने काम गर्थे । अभिषेक सियोनको जिम्मेवार र कट्टर अनुयायी हुन् भागबण्डा र स्वार्थ नमिले पछि ख्रिष्टकै बद्नाम हुनेगरी मिडियामा रोइलो गर्नु खेदजनक छ ।’

सियोन समूहका मानिसहरु प्रभू माता मान्ने गर्दछन् जुन बाइबल बिरुद्धमा छ । उनीहरुले बाइबल नै बोक्दछन् तर त्यसको अर्थ र परिभाषा भने उल्टोपाल्टो लगाउने गर्छन् । ख्रिष्टको विषयमा लेखिएको बाइबल बोकेर आन साङ होङको विषयमा अथ्र्याउँदै हिड्ने उनीहरु कोरियाबाट परिचालित छन् । सन् १९६४ मा आन साङ होङले परमेश्वरको मण्डली विश्व सुसमाचार समाज (सियोन) खडा गरेका हुन् । अहिले १७५ वटा देशहरूमा २ हजार ५ सय भन्दा बढी मण्डलीहरू छन् भने करिब २५ लाख मानिसहरू उक्त मण्डलीमा आबद्ध भएको सियोनले दाबी गरेको छ । यस संस्थाले संस्थापक आन साङ होङलाई नै मुक्तिदाता (ख्रिष्ट) मान्दछ । कोरियाली आन साङ होङ नामक व्यक्तिद्वारा स्थापित तथा झाङ गिल्झा नामक महिलाद्वारा विश्वव्यापी रुपमा प्रचारित ‘वर्ल्ड मिशन सोसाइटी चर्च अफ गड’ समूहले नेपालका विभिन्न क्षेत्रहरुमा बसोबास गर्ने ख्रिष्ट्रियनहरुको घर–घरमा गई भ्रममा पार्ने, ख्रिष्ट माथिको विश्वासबाट भड्काउने प्रयास गर्दै आइरहेका छन् । विशेष गरी बाइबलीय शिक्षामा कमजोर रहेका तथा भर्खरै मण्डली जान शुरु गरिरहेकाहरुका माझ नियमित रुपमा जाने र मण्डली नेतृत्वको आलोचना गर्ने, ख्रीष्टलाई होइन आन साङ होङ तथा उनकी प्रचारिका कोरियाली महिला झाङ गिल्झालाई मान्न लगाउने जस्ता भ्रमित शिक्षा फैलाउने कार्य गर्दै आइरहेका छन् ।

आन साङ होङ सन् १९४७ मा ‘होलिनेस् चर्च’ मा प्रवेश गरेका थिए । उनले ख्रीष्टको कुनै पनि समयमा हुन सक्ने आगमनमा विश्वास गर्दथे । उनले उक्त चर्चलाई छोडी उनले सन् १९६४ मा ‘आन साङ होङ विटनेस सोसाइटी’को स्थापना गरे । उनले दावी गरेका थिए कि अन्तिम दिनमा ख्रीष्टको आगमनको तयारीका निम्ति उनी पवित्र आत्माको अवतारको रुपमा पृथ्वीमा जन्मेको हो । सन् १९८५ मा उनको मृत्यु भएपछि उनकी आत्मिक पत्नी तथा अनुयायीहरुले सोसाइटीलाई ‘वर्ल्ड मिशन सोसाइटी चर्च अफ गड’ को रुपमा संस्थापन गरे । यस समूहले विश्वास गर्दछ कि उनी नै दोश्रो पटक आउने भनिएको ख्रीष्ट येशू हुन् । यस समूहको वर्तमान अगुवा झाङ गिल्झा हुन् भने बरिष्ठ पास्टर चाहिँ किम जू–किउल हुन् । यस संस्थाको प्रमुख कार्यालय दक्षिण कोरियाको क्युंग्गी प्रान्तको संगनाम शहरको बुनडाङ भन्ने स्थानमा रहेको छ । यस मण्डलीले विश्वास गर्दछ कि झाङ गिल्झा स्वर्गीय माता वा परमेश्वर माता हुन् । आन साङ होङ परमेश्वर पिता हुन् भने मण्डली सदस्यहरु उहाँहरुका छोरा छोरीहरु हुन् । यसरी उनीहरुको अनुसार मण्डली स्वर्गीय परिवारको छाया वा चित्रण हो । ख्रीष्टको दोश्रो आगमनमा उहाँ पवित्र आत्माको रुपमा आउनुहुने र उहाँ आइसकेको हो भनी यस समूह दावी गर्दछ । आइसक्नु भएको ख्रीष्ट चाहिँ ‘ख्रीष्ट आङसाङ होङ’ हो भन्ने यस समूहको मूख्य वकालत हो । अब यस पवित्र आत्माको युगका निम्ति मुक्तिदाताको नाम ख्रीष्ट आङसाङ होङ रहेको भन्ने दावी गर्दै यस सोसाइटीले मानिसहरु वीच यस युगमा ख्रीष्ट येशूलाई होइन तर ख्रीष्ट आङसाङ होङलाई विश्वास गर्न आफ्ना प्रचारकहरुलाई परिचालन गरिरहेछ । येशू ख्रीष्ट अब मानिसहरुको मुक्तिको निम्ति आवश्यक नभएको र यस युगमा उहाँको वलिदानको कुनै अर्थ नभएको वकालत यस समूहले गरिरहेछ ।

त्यहि गलत तथा झूटो शिक्षा प्रचार गर्दै आर्थिक कमाउ धन्दामा लागेका मध्ये एक थिए इटहरीका अभिषेक कार्की र उनको परिवार । उनीहरुले घटनाका विषयमा जतिबेलासम्म खुलासा गरेनन् कि उनीहरु सुरक्षित थिए । उनीहरुको समूहमा विभाजन आयो र एक पक्षले अर्कोपक्षलाई भौतिक आक्रमण ग¥यो अनि उनले सबै कर्तुत खुलासा गरे । जुन कुराहरु बाइबलीय शिक्षा, ख्रिष्टियन अभ्यास र मूल्यमान्यता विपरित थिए । अभिषेकले पत्रकारहरुका क्यामेरा अघि दिएको अभिव्यक्ति र प्रस्तुती साच्चिकै कारुणिक र मर्मस्पर्शी छन् । उनको ति रोदनहरु बाहिर प्रष्फुटन हुनै पर्ने थियो र भयो पनि । यद्यपी त्यसलाई मसलेदार सञ्चारकर्मीहरुले अतिरञ्जित गराए र मौकाका रुपमा लिए अनि सिङ्गो इसाई विश्वास माथि नै प्रहार गर्ने ठूलो अस्त्रका रुपमा प्रयोग गरे । 

घटनाको विवरण बाहिएपछि तत्कालै इसाई समाजका प्रतिनिधिहरु इलाका प्रहरी कार्यालय इटहरीमा पुगे अनि कार्यालय प्रमुखसँग घटनाका विषयमा जानकारी लिए । अन्यायमा परेकालाई न्याय दिलाउने कार्य अदालतको भएको र अदालतको आदेश पालना गर्ने जिम्मेवारी प्रहरीको भएको कार्यालय प्रमुखको जवाफ प्राप्त गरेपछि ढुक्कका साथ फर्किएको थियो समाजको टोली । घटनाका विभिन्न पाटोहरुलाई जोडेर सिङ्गो इसाई जगत नै यस्तै हो भन्ने भ्रम निरन्तर सृजना गर्न उद्दत रहे शुरुवाती समयदेखि नै घटनालाई ट्वीइस गर्दै आएका अतिवादीहरु जसले इसाई समाजले जवाफ दिनै पर्ने भयो ।

अभिषेक र उनकी श्रीमति आयुशाका अनुसार आफुहरु सियोन समूहमा लागेदेखि नै शोषणमा परेको खुलासा गरेका छन् । अभिषेकलाई स्थायी परिवार नियोजनको बिधि अपनाउन र आयुशालाई गर्भपतन गर्नसमेत लगाइएको उनीहरुले रुदै खुलासा गरेका छन् जुन ख्रिष्टियन विश्वास र मूल्यमान्यता भन्दा विपरित कुरा हो । त्यस्तै आफ्नो जग्गा जमिन समेत बेचबिखन गरेर सबै सम्पत्ति सियोन समूहलाई बुझाएको र आफुहरु सन्त भएको पीडित भनिएका कार्की दम्पत्तिले बताएका छन् तर उनीहरु उक्त संस्थामा लागेको १३ वर्षभइसकेको छ । अभिषेकले खुलासा गरेका छन् कि ‘मैले आफ्नै हातले पैसा बाँडेको छु । मासिक तलब भत्ता दिएको छु ।’ यस घटनाबाट ‘मन मिले मेला हजुर, नमिले झमेला’ भन्ने भनाई चरितार्थ भएको छ । अभिषेकलाई २० वर्षको उमेरमा विवाहपूर्व नै कोरियाली सङ जा हानले विराटनगरको मेरी स्टोप सेन्टरमा परिवार नियोजन गर्न लगाइएको कुरा बाहिर आएको छ र एउटै समूहकी आयुशा चौधरीसँग विवाह भएको भनिएको छ । ‘विवाह भएको केही महिनामै गर्भ रह्यो । त्यो कुरा सियोन समूहका अगुवाकहाँ पुग्यो । उनले गर्भपतन गर्न लगाए । त्यसपछि पुनः गर्भ रह्यो । त्यो पनि गर्भपतन गर्नुपर्छ भन्दै दबाब दिन थाले । आयुशाले पनि अगुवाले भनेको नमाने ‘नर्क’ पुग्ने डरले गर्भपतन गर्न राजी भएको सुनाइन् ।’ पत्रकार बिनय बाह्रकोटीको बाइलाइनमा प्रकाशित समाचारमा उल्लेख गरिएको छ । 

प्रस्तुती भावनात्मक र रोचक भएपनि तथ्यसंगत देखिन्दैन । ‘२०७२ सालको भूकम्पताका लामो समय चर्च बन्द भयो । सोही समयमा उनको पेटमा पुनः रहेको गर्भ हुर्कंदै गयो । ४ महिनाको गर्भ भएकाले अस्पतालले गर्भपतन गराउन मानेन । त्यसपछि छोरा जन्मियो । उनलाई चर्चबाटै निकालियो । अभिषेक र आयुशा दुवै चर्चका कर्मचारीको रुपमा काम गर्थे । दुवैलाई अलग गराएर सम्बन्ध छुटाउने प्रयास पाश्चरले गर्न थाले ।’ यहि समाचारलाई नेपालका थुप्रै सञ्चारमाध्यमले मरमसला थपेर रोचक बनाए । यसबाट ३० लाख भन्दा बढिको संख्यामा रहेको इसाई धार्मिक समुदायलाई आघात पुग्न सक्छ भन्नेतर्फभन्दा पनि धार्मिक विभेद र द्वन्द्व चर्काउन केन्द्रित रिपोटिङ्ग उद्दत छ ।

बैशाख ७ गते शनिबार सियोन समूहकी प्रमिला राईको समूहले इटहरी–२ की अनु राईमाथि आक्रमण गरेको थियो । तिनै कोरियाली सङ जा हानको नेतृत्वमा गएको टोलीले उनलाई आक्रमण गरेको थियो । कोरियाली धर्म प्रचारकको कारण इटहरीको धेरै परिवारको बिल्लीबाठ भएको भनिएको छ । भिजिट भिसामा नेपाल आएका कोरियाली नागरिक सङ जा हानका कारण परिवारभित्रै विग्रह सुरु भएको सत्य हुन सक्छ र यस्ता अपराधिक क्रियाकलाप गर्नेलाई कार्बाही गर्नु आवश्यक छ । कुने पनि चर्चभित्र पाष्टर वा अगुवाहरुले त्यसप्रकारका अन्याय र अत्याचार गरेको भए यसरी सार्वजनिक हुनै पर्छ तर एउटा समूह वा व्यक्ति विशेषलाई आधर मानेर सिङ्गो इसाई समुदाय माथि नै हमला गर्ने दुष्प्रयास भएको भन्दै इसाई समुदायबाट घोर भत्सर्ना गरिएको छ ।
Source: 
Facebook Page: International Nepali Christian Media Network
गिदोन लामिछाने (महाप्रतिवाद)

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

In this site, here is no any scam. Please remove Adblock. Thank you for understanding...