बाइबलीय भ्यालेन्टाइन कस्तो ?

– भुवन देवकोटा ।

फेब्रुअरी महिनालाई भ्यालेन्टाइन महिनाको रूपमा मनाउनेहरूको जमात आजभोलि बढ्दै जान थालेको छ । यहाँनेर हामीले बाइबलको एउटा वाक्य सम्झनै पर्दछ । जहाँ पावलले भन्दछन् कि दुष्टचाहिं यस संसारको देव हो, आकाशको शक्तिको मालिक हो । अहिले हामीले संसारमा देखेका धेरै कुराहरू दुष्टको अधीनमा छन् र दुष्टबाट सञ्चालित छन् किनभने बाइबलले लेखेको छ- संसार दुष्टको अधीनमा परेको छ । दुष्टले परमेश्वरका सन्तानलाई नाश पार्नका लागि विभिन्न जालझेल रच्दछ । पाठकवृन्द, तपाईंले मेरो कुरालाई नकारात्मक रूपमा लिनुअघि यस्ता कुरालाई सबैले मानेको चलन भनेर होइन, परमेश्वरको वचनमा दाँजेर हेर्ने साहस जुटाउनुहोस् भन्ने निवेदन गर्न चाहन्छु । के हामीलाई बाइबलले आफ्नै निर्णय संसारको तरिकामा जीवनसाथी छान्ने छुट दिएको छ – के हाम्रो चलन वा हामीलाई ठीक लाग्ने कुरा बाइबलको शिक्षाभन्दा माथि छ ? के मानिसको निर्णय सर्वोच्चको वचनलाई जित्ने हुनुपर्दछ ? परमेश्वरको वचनमा सबै कुराको अधिकार छ ।

बाइबलले बताउँछ- हामी परमेश्वरका सन्तान, सो संसारबाट अलग भएका मानिसहरू हौं । हामी संसारको चालअनुसार चल्नुहुँदैन । किनभने यो संसार, यो दुनियाँ हाम्रो घर होइन । हाम्रो घर, हाम्रो नागरिकता स्वर्गमा छ । प्रभु येशू हामीलाई घर तयार पार्न जानुभएको छ । उहाँ हामीलाई त्यो घरमा लैजानको लागि एक दिन आउनुहुनेछ । त्यही आशा, त्यही विश्वासमा हामी विश्वासीहरूले येशूको प्रतीक्षा गरिरहेका छौं । स्वर्ग जाने तयारी गरेर मात्र हुँदैन, त्यसका लागि आफूलाई योग्य पनि बनाउनु पर्छ । स्वर्ग जानका लागि योग्य बनाउनु भनेको परमेश्वरको वचनअनुसार आफ्नो जीवन जिउनु हो, बुद्धिमती कन्याहरूजस्तै आफ्नो विश्वास र वचनअनुसारको जीवनमा सदा चनाखो र होसियार रहनु हो ।

तर आज संसारमा यस्ता धेरै प्रचलन, संस्कृति र परम्परा देखिका छन्, त्यसले हामीलाई स्वर्गको निम्ति योग्य बनाउँदैन। त्यस्तै एउटा संस्कृतिको रूपमा विकास भइरहेको छ- भ्यालेन्टाइन डे पनि । भ्यालेन्टाइन डेको संस्कृति अहिले जुन रूपमा विकास भइरहेको छ, त्यो परमेश्वरको वचनको विरुद्धमा छ तर पनि हामी ख्रीष्टियनहरूले जानी-नजानी यस्ता परम्परालाई पछ्याइरहेका छौं किनकि हाम्रो वरिपरिका सबैले यसलाई विशेष चाडको रूपमा मान्दछन् । मिल्ने साथीको बहाना, जमानाअनुसार चल्ने बहानामा हामी परमेश्वरको वचनका विरुद्ध जिउनु दुःखद हो । अहिले धेरै युवा-युवती भ्यालेन्टाइन डेको उत्सव मनाउने तयारीमा छन् । कतै यो तयारी परमेश्वरको वचनको विरुद्धमा त छैन – भन्ने उनीहरूले ख्याल गरिरहेका हुँदैनन् ।

धेरैले भ्यालेन्टानइ डेलाई प्रेम साटासाट गर्ने अवसरको रूपमा परिभाषित गर्ने गरेका छन् । एकअर्कालाई माया गर्नु नराम्रो त होइन तर भ्यालेन्टाइन डेको नाममा जुन मायाको आदान-प्रदान हुन्छ, त्यसको उद्देश्य के हो ?

यो ख्याल गर्नै पर्ने विषय हो । धेरैको बुझाइ के हुने गरेको छ भने भ्यालेन्टाइन डे विशेषगरी अविवाहित केटा-केटीको लागि हो । आफ्नो जीवनसाथी छान्ने र आफूलाई मन पर्ने मान्छेलाई प्रेम प्रस्ताव राख्ने अवसर पनि हो । यसलाई नराम्रो रूपमा लिनु नहुने धेरैको तर्क पनि छ । तर हामीले परमेश्वरको वचनलाई हेर्यौं भने यस्ता तर्क गलत हुनेछन् । बाइबलले यी सबै कुरालाई बेठीक भनेको छ । बाइबलमा लेखिएको छ- परमेश्वरले हरेक मानिसका लागि ठीक जोडीको व्यवस्था उहाँले चाहेको समयमा उहाँको तरिकाले जुटाउनुहुनेछ । हामीले हाम्रो तरिकाले, हाम्रो शैलीले, संसारिक चाहनाले जीवनसाथी खोज्नुपर्दैन । अझ डरलाग्दो कुरा त भ्यालेन्टाइन डेमा संसारमा प्रेमको बहानामा धेरै व्यभिचार हुन्छ । हामीले व्यभिचारलाई येशूको परिभाषाबाट बुझ्नु असल हुन्छ । मत्ती ५:२८ मा येशूले भन्नुभयो कि कामवासनाको इच्छाले हेरेमा व्यभिचार हुन्छ । येशूको वचन सत्य हो ।

हामीले आफ्नै तरिकाले जीवनसाथी खौज्छौं भने परमेवरलाई मान्यता दिएको ठहर्दैन किनभने हाम्रो जीवनको सबै कुरा परमेश्वरको निर्णय अनुसार हुनुपर्छ। उहाँको निर्णय, उद्देश्य र चाहना विपरीत गएर संसारिक चाहनामा हामीले हाम्रो जीवनसाथी छनौट गर्न खोज्यौं भने त्यो उहाँलाई मन पर्दैन । यस्तो अवस्थामा भ्यालेन्टाइनलाई आफ्नो जीवनसाथी छनौट गर्ने उत्तम चाडको रूपमा मनाउन खोज्नु कदापि ठीक हुँदैन । भ्यालेन्टाइन डेका दिन युवा-युवती सकेको सबै कुरा गर्न चाहन्छन्, जुन परमेश्वरको नजरमा पापपूर्ण कार्य पनि हुन सक्छ । हामीले परमेश्वरको वचन भित्री हृदयदेखि नै स्वीकार गर्ने हो भने हाम्रो पहिलो प्रेम परमेश्वर आफैं हुनुहुन्छ । हाम्रो पहिलो प्रेम परमेश्वरका लागि नै हुनुपर्छ । परमेश्वरको पहिलो प्रेम पनि हामीहरू नै हौं किनभने परमेश्वरले हामीलाई अत्यन्तै प्रेम गरेर आफ्नो पुत्रलाई हाम्रो लागि क्रुसमा मर्न पठाउनुभयो।

हामी ख्रीष्टियन युवा पुस्ताले भ्यालेटाइन डेलाई गलत रूपमा त मनाएका छैनौं भनेर सोच्नुपर्ने बेला भएको छ। भ्यालेन्टाइन डे कहाँबाट सुरु भयो ? कसरी सुरु भयो ? के यो परमेश्वरको वचनअनुसार मण्डलीले सुरु गरेको हो ? परमेश्वरको वचनअनुसार भ्यालेन्टाइन डेमा गरिने क्रियाकलापहरू मिल्छन् त ? हाम्रो अहिलेको गलत कदमले आगामी युवा पुस्ताले बाटो बिराउनेछन् । भ्यालेन्टाइन डेको आफू अनुकुल परिभाषा गरेर युवाहरूले परमेश्वरको वचन विरुद्ध आफूलाई प्रस्तुत गर्नु भनेको नेपालको मण्डली तथा चर्चको भविष्य पनि बर्बाद बनाउनु हो । आजका युवाले जस्तो क्रियाकलाप गर्छन्, उनीहरूभन्दा पछिका पुस्ताले त्यसको सिको गर्दै आफूलाई पनि गलत बाटोमै अग्रसर गराउनेछन् । त्यसैले हरेक युवाले चाल्ने प्रत्येक पाइला परमेश्वरको वचनअनुसार छ कि छैन भनेर विचार पुर्याउनै पर्छ । त्यस्तै विचार भ्यालेन्टाइन डे मनाउँदा पनि गरिनुपर्छ ।

त्यसकारण कुनै कुराको जग र सुरुवात परमेश्वरको वचनअनुसार छैन वा त्यसको प्राथमिक उद्देश्य परमेश्वरको महिमा गर्ने किसिमको छैन भने हामी ती संसारका र जवानीका अभिलाषाबाट भाग्नुपर्छ।

यसकारण तिनीहरूका बिचबाट निस्केर आओ र तिनीहरूबाट तिमीहरू अलग होओ, परमप्रभु भन्नुहुन्छ, अशुद्ध कुरा केही नछोओ र म तिमीहरूलाई ग्रहण गर्नेछु (२कोरिन्थी ६ः१७) ।
– भुवन देवकोटा ।

Source: http://christiankhabar.com/

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button

Adblock Detected

In this site, here is no any scam. Please remove Adblock. Thank you for understanding...