यो बाटो कहाँ पुग्छ ?

चैतको चर्को घामको पोलाइलाई पसिनामा परिणत गरेर एउटा बटुवा कुनै अपरिचित दोबाटोमा गएर अल्मलिन्छ । असमञ्जस्यता, अन्योलता अनि अनभिज्ञता । दोधारमा अल्मलिएर टोलाउदा टोलाउँदै समय धेरै बित्न सक्छ अनि दिन अझै छिप्पिन सक्छ । उसलाई डर लाग्छ अनि शंकोचतावश परबाट आउँदै गरेको एउटा अर्को ब्यक्तिलाई सोध्न विवश हुन्छ- यो बाटो कहाँ पुग्छ?
साँच्चै, यो बाटो कहाँ पुग्छ ? गैरीगाउँ, सानोवेशी वा विशालटार- यस्तै कतै । तपाईको अगाडि यस्ता थुप्रै बाटाहरु होलान् । तर कुनै एउटा विरानो वस्ती, जहाँको वातावरण तपाइलाई थाह दछैन, शायद हुन सक्छ त्यसको फाँटभरि डम्म कुहिरोले अनि त्यो बस्तीको किनारबाट बग्ने नदीको किनारभरि हुस्सुले ढाकेको छ । दिवसले उषालाई त्यागेर जवानीको जोश पछि सन्ध्याको काखमा घुस्रिने आशाले लम्किसक्दा पनि तपाइ उषाको मीठो चुम्बनको स्वाद लिदैहुनुहोला वा किराहरुको चिर चिर र टिर टिर आवाजसंगै पाइलाहरु चाल्दा त्यो निर्जन जंगलको शुन्य बाटोमा तपाइको मन ढुक्क फुल्यो होला । अथवा यो हुन सक्छ चाँद आकाशको गर्भमा लुकेको रातमा मधुरो टुकीको सहारामा कुनै अपरिचित बाटो हिँड्दै हुनुहोला । जे होस् तपाइ कुनै बाटो हिँड्दै हुनुहुन्छ । गल्लीका,फाँटका,भीर पहरा,कन्दरा अनि उकालो ओरालो भञ्ज्याङ हुदै शहरका टोल र बस्तीहरुका ।
जीवन पनि त एउटा बाटो हो, जहाँबाट तपाई लक्ष्यमा पुग्नुहुन्छ । तपाईको चाहना पनि त एउटा बाटो हो जसबाट तपाईले सन्तुष्टी खोज्नु हुन्छ । तपाईका भावना पनि बाटो हो जुन एक बाट शुरु भएर अर्कोमा गई टुङ्गिनेछ ।
तर एउटा प्रश्न कहिल्यै गर्नुभयो ? खुल्ला आकाश मुनि यो सुन्दर बगैँचारुपी संसारमा तपाई हुनुहुन्छ । तर तपाई भन्नुहुन्छ बाटो बिराएको यात्री हुँ म, भौतारिएर थाकेको बटुवा हुँ म, भावनाहरुलाई चियाएर यो बिरानो बस्तीको चौबाटोमा अलमलिएको छु म, हराएको छु म ।
हो, तपाई हराउनु भएको छ । आफू आफै भित्र बिलाउनु भएको छ, शायद त्यसैले सोध्ने गर्नुहुन्छ यो बाटो कहाँ पुग्छ ? मलाई बाटो चिनाइदेउ । तर एउटा कुरा यस्तो भनिएको रहेछ- कुनै बाटो मानिसलाई सजिलै जस्तै लाग्नसक्छ तर त्यसले अन्त्यमा मुत्युसम्मै पुन्याउँछ । नचाहँदा नचाहँदै पनि एउटा प्रश्न उठ्न सक्छ चाहेर पनि उत्तर पाउन सकिदैन फेरि भुलिसक्दा पनि उही प्रश्न दोहोरिन सक्छ । यो बाटो कहाँ पुग्छ ?
जीवनका थुप्रै बाटाहरु छन् । तपाई कुन बाटो हिँड्दै हुनुहुन्छ । एउटा चिल्लो, कालो पत्र पोतिएको छ, जहाँ तपाईको गोडा चिप्लन सक्छ । अर्को बगर भएर जान्छ जहाँ गेगरहरु छन् । अनि ठेस लाग्ने ढुङ्गाहरु, जहाँ तपाईको जुत्ता प्वाल पर्न सक्छ अनि पाइतालामा घाउ बन्न सक्छ । यति हुँदा हुदै पनि कतै त्यो बाटोले माथि भनिए जस्तै मुत्यु सम्मै पुयाउने त होइन ? आखिर मर्नु त पर्छ नै यो संसामा तपाई पाउनाको रुपमा आउनुभएको छ । अर्कोको घरमा कति दिन बस्न सक्नुहुन्छ र ?
तर के तपाई आफनो घर र्फकने बाटो खोज्दै हुनुहुन्छ ? कि कोशिस गर्नु भएन ? तपाईको आफनो शहर त सुनले बनेको छ होइन र ? अनि त्यहाँको सडक पनि त सुनको छ रे – यस्तो बिचित्र शहरको बासिन्दा तपाई कसरी यस संसारमा आउनु भयो ? बाटो बिराएर नै त हो नि होइन र ? शायद तपाईले अनुभव गरेको हुनुपर्दछ यहाँ माया खोज्दा पिडा पाइन्छ, फुललाई रोज्दा काँडा विज्छ अनि कही भाग्न खोजे ठेस लाग्छ । तपाईले यहाँका सबैसंग मितेरी लगाउनु भएको छ होइन र ? तर फेरि त्यो बसन्तको झाङभित्र लुकेर कोइलीले सधै तपाईलाई कोहो भनेर किन सोधिरहन्छ ? यसको अर्थ तपाई अझै नौलो नै हुनुहुन्छ । यो माटो, यो बाटो अनि यहाँको हावापानी संग परिचित हुन सक्नुभएन । तपाईले आफनो परिचय त सबैलाई दिनुभयो तर कसैले तपाईलाई चिनेन् ।
त्यति मात्र होइन तपाई अन्यायमा पनि पर्नुभएको छ किन कि यहाँ त कसैले न्यायपुवर्क मामिला लड्दैन, सत्य त चोकमा ढलेको छ अनि असत्यले जरो गाडेको छ । यति हुदा हुदै पनि तपाईले प्रयास गर्नुभयोहोला, दु.खीलाई हरतरहले सहायता गरेर न्याय कायम राख्न खोज्नुभयो होला अनि आफुभित्र भएको दियो अँध्यारोमा चम्काउन खोज्नुभयो होला । तर पनि तपाई आफै हराउनुभयो, तपाईको त्यो दियो बल्न सकेन ।
यी दिनहरुमा तपाई थाकेर लखतरान बन्नु भएको छ वा फिक्री, शोक,चिन्ता,पिर,पिडाको भारी बोकेर हराएको बाटोमा बिसाउने चौतारी खोज्दै हुनुहुन्छ । के आफनो भारी बिसाएर थकाई मार्न चाहनुहुन्छ ? अनि त्यही चौतारीबाट मन्द पवनको झोकासंगै सुशेल्दै हराएको बाटो पहिल्याई हिड्न चाहानुहुन्छ ?
तपाई जस्तै हराएकाहरुलाई डोर्‍याउन एउटा बाटो तयार छ । शायद तपाईले यस बिरान बस्तीमा पाईला राल्नु भन्दा अघि नै त्यो बाटो तयार भएको हुनुपर्छ । जुन बाटोबाट धेरै हिडिंसके अब तपाईको पालो आइपुगेको छ । त्यो बाटो सत्य अनि जीवन हो । जहाँबाट हिड्नेले फेरि अलमलिनु पर्दैन,हराउनु पर्दैन, अनि बिचलित हुनु पर्दैन । अलिकति त्यस बाटोको परिचय चाहनुहुन्छ ?
बाटो तपाईकै अगाडीबाट शुरुभएको छ । जसलाई निर्माण गर्नको लागि कसैले आफैलाई बलिदान दिएका थिए । हो, तपाईकै निम्ति त्यो बाटो तयार गर्नलाई ख्रीष्टले आफनो प्राण अर्पण गर्नुभएको थियो अनि आज त्यो बाटो रगतले कोरिएको छ जहाँ शितलता बिछयाईएको छ । त्यस बाटोले कलवरीसम्म डोयाउँछ । शायद यही सत्यतालाई उजागार गर्दै होला प्रसिद्ध लेखक जेरोम के. जेरोमले सबै बाटोले कलभरी पुयाउँछ भन्ने पुस्तक लेखेका । तपाइले सोध्नुहुन्छ, यो बाटो कहाँ पुग्छ ? भनेर । तर बाटो त जहाँ पनि पुग्न सक्छ । त्यही बाटो हो जुन सदियौं देखि थियो अनि सदियौं सम्म रहन्छ । तर तपाई बीचमा आएर सोध्दै हुनुहुन्छ ? बरु तपाई चाँही कहाँ पुग्नुहुन्छ ?
शायद तपाईमा होला अलिकति, मान्यता,थोरै अधिकार,थुप्रै कर्तब्य,अनगिन्ती भावना अनि असिमित चाहना । थुप्रै कर्तब्यलाई बिर्सेर तपाई थोरै अधिकारको निम्ति लड्नुहुन्छ । हिड्न पाउनु पनि त तपाईको अधिकारको कुरा हो । हुन सक्छ तपाईलाई यस्तो लागेको -संसारमा म एक्लै छु।धेरै भौंतारिएँ, थाँके अनि छटपटाएँर भावनामा चोट लाग्यो, अनि कल्पनाको संसार भत्क्यो । लक्ष्यको बाटोमा दरारहरु पैदा भए र पैताला भासिए । यही दिनमा जीवनको परिभाषा खोज्नुभयोहोला । शेक्सपियरको भनाई -”मेरो पुस्तकालयमा आएर मन परेको पुस्तक पढ र आफ्नो दुःख कम गर” लाई संझेर थुप्रै पुस्तकहरु पढ्नु भयोहोला । तर न त तपाईको दुःख कम भयो न त तपाईको घाउ नै निको भयो ।बरु त्यो बल्झिदिदाँ तपाईलाई पोल्न थाल्यो ।त्यतिबेला पनि तपाईले जीवनको परिभाषा भेट्नुभएन । यस्तै छ जीवन यहाँ एक छेउबाट हेर्दा पनि थाह पाउन सकिदैन के हो भनेर अनि अर्को छेउबाट चियाउंदा पनि बताउन सकिदैन यसभित्र के छ भनेर ?
यो अन्योलमा पनि तपाईले एउटा पुस्तक पढ्नुभएन होला । जसले तपाईको जीवनको परिभाषा गर्दछन् । हजुर, वाइवल जसले तपाईको वाटो देखाईदिन्छ । याद भयो ?चन्द्रमामा पुग्ने तपाईको रहर चार दिवारमा बन्द हुदा बुकी फुलेको हेर्न चाहाने तपाईको मन खरवारीको डढेलो हेर्न बाध्य हुनुपर्दा जीवनलाई धिक्कार्नु भयो होला । तर तपाईलाई थाहा छैन । बाइबले भन्छ तपाईको जीवन अनमोल छ । त्यतिमात्र होईन तपाईको आत्मा मन्दिर हो किन आफ्नो मन्दिरको ढोका बन्द गर्नु हुन्छ? तपाई तिर्थ गर्ने धेरै धाउनुभयो होला तर तपाईको शरीर नै तिर्थ स्थल हो भनेर थाहा पाउनु भएन । त्यसैले अरुणले अस्ताचलको काखमा विश्राम लिनु भन्दा अघि एक नजर उठाएर हेर्नुहोस् त ? सुनौला किरणले तपाईलाई पर्खिरहेका छन् । यो अन्तिम विदाई भन्दा अघि तिनै किरणहरुलाई पछ्याउनेहोस् । तपाईका पाईलाहरु क्रुसको फेदिमा पुगेर रोकिनेछन् । तपाईको निम्ति कलमरीको वाटो तपाई गर्ने ख्रीष्ट येशु तपाइकै प्रतिक्षामा पाउनुहुनेछ । आशा उमङ्ग र जोश बढेको चाल पाउनुहुन्छ अनि जीवनको रहस्य पत्ता लगाउनुहुन्छ । चाहानुहुन्छ ? लम्कनोस अहिल्यै क्षितिज तपाईको नजरवाट बिलिन हुनु भन्दा अघि । फेरि तपाईलाई कुनै दोबाटोमा अलमलिनु पर्दैन, अनि यो बाटो कहाँ पुग्छभनेर सोधिरहनु पर्दैन । आफ्नो जिवनलाई सुधार गनुहोस् किनकी सुधार नै जीवनको मुल वाटो हो ।
By:आर.पि. क्षितिज

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

In this site, here is no any scam. Please remove Adblock. Thank you for understanding...