धर्मनिरपेक्ष र केही अनुत्तरित प्रश्नहरू

“धर्मनिरपेक्ष कि धार्मिक स्वतन्त्रता” शिर्षक दिई गताङ्कमा नै यस विषयमा विशेष चर्चा गरिसकिएको छ र यो लेख पनि त्यसैको निरन्तरता हो । साथै यहाँ अभिव्यक्त हुने सम्पूर्ण विचारहरू पनि धर्मनिरपेक्षकै सेरोफेरोमा केन्द्रित रहनेछन् ।
गत जेठ ३ गते गरिएको “प्रतिनिधि-सभा घोषणा २०६३” मा प्रस्तुत नेपाल धर्मनिरपेक्ष राज्य” हुनेछ भन्ने वाक्यांशले त्यसपछि स्वतः हाम्रो देश धार्मिक रूपले निरपेक्ष भयो भन्ने कुरा हामी सबैलाई अवगत भयो र हामी एकप्रकारले खुसी पनि भयौँ । उक्त धर्मनिरपेक्षभित्र विशेष तीनवटा कुराहरू हुन सक्छन् भनी यस अघि नै केही चर्चा गरिसकिएको हुनाले यस लेखलाई पनि त्यतैतिर केन्द्रित गर्न चाहन्छु । ती तीन बुँदाहरु यस प्रकार छन् ।
१) सबै धर्मलाई समान अवसर दिइने -राज्यबाट कसैलाई पनि भेदभाव नगरिने र सबैलाई सबै किसिमका धार्मिक गतिविधि सञ्चालन गर्न छुट दिइने,
२) राज्यबाट कुनै पनि धर्मलाई मान्यता नदिइने- इच्छा हुनेले गर्न पाउने तर सरकारी तवरबाट कसैलाई कुनै मान्यता नदिइने र
३) सबै धार्मिक समूहलाई आ-आफ्नो धार्मिक गतिविधि सञ्चलन गर्ने पूर्ण स्वतन्त्रता दिइने तर निश्चित सीमा र परिधिभित्र रहेरमात्रै गर्नुपर्ने -अरूको धर्म, आस्था र विचारलाई आघात नपर्ने गरी तोकिएको सीमाभित्र रहेर आफ्नो धार्मिक कार्यको अभ्यास गर्न पाइने ।
जनआन्दोलन-२ बाट ब्युँतिएको प्रतिनिधि-सभाले गरेको घोषणमा “नेपाल धर्मनिरपेक्ष राज्य” हुनेछ भन्ने वाक्यांश पनि छ तर त्यस वाक्यांशको मूल मर्म के हो भन्ने कुरा भने आजसम्म पनि हामीलाई थाहा हुन सकेको छैन । साथै माथि व्यक्त गरिएका तीन विचारहरूमध्ये कुनचाहिँले त्यस धर्मनिरपेक्ष भित्र प्रवेश पाउने हुन् त्यो पछि नै थाहा लाग्नेछ । सरकारले कुन उद्देश्य राखेर त्यसरी यो देशलाई पहिलो चरणमा नै “धर्मनिरपेक्ष राज्य” भनेर घोषणा गर्‍यो त्यस विषयमा पनि हामीले अहिल्यै नै केही बोलिहाल्न मिल्छ जस्तो लाग्दैन । किनकि हामीले सरकारको उद्देश्य र योजना थाहा पाउन सकेका छैनौँ । जब घोषणा गरियो त्यसको लगतै कति मानिसहरूले साँच्चै नै यो सरकारले सबै धर्महरूलाई मान्यता दिन खोज्यो भनेर उनीहरूले त्यसको स्वागत गरे । तर कति मानिसले भने त्यसको ठाडै इन्कार गरी बिरोधमा उत्रे र घोषणा कसैलाई तल झार्न फयाँकिएको जाल हो भनी आरोप पनि लगाए । उनीहरूका भनाइमा देशलाई धर्मनिरपेक्ष बनाइनुको कुनै औचित्य थिएन । त्यस घोषणाको लामो समयसम्म सरकारी तवरबाट कुनै आधिकारिक धारणा नआएकोले मानिसहरूका मनमा विभिन्न शङ्काहरू उब्जने मौका मिल्यो र विभिन्न प्रकारले राम्रा नराम्रा अभिव्यक्तिहरू पनि धमाधम आउन थाले । सरकारमा सामेल भएका राजनीतिक पाटीका नेताहरू र कति मन्त्रीहरूलाई यो धर्मनिरपेक्ष के हो र किन यो देशलाई त्यसरी हतार-हतार नाममात्रको (हाललाई) धर्मनिरपेक्ष राज्य बनाइयो भन्ने कुरा थाहा होला तर अरूहरूलाई यस बारेमा खासै जानकारी छैन । अझै पनि धेरै मानिसहरू सरकारको कार्य-शैली देखेर सशङ्कति बनेका छन् र यो सरकारका अरू पनि घोषणाहरू कार्यान्वयन हुन्छन् भन्ने कुरामा उनीहरू ढुक्क हुन सकेका छैनन् ।
नेपाल सरकारको परिभाषामा यो धर्मनिरपेक्ष भनेको के हो र कुन विचार अनि उद्देश्य राखेर यो सरकारले नेपाललाई धर्मनिरपेक्ष राज्य घोषणा गरियो – भन्ने कुरा आज पनि अन्योल र दुविधाकै विषय बनेको छ । आज धर्मप्रति आस्था राख्ने तमाम नेपाली दाजुभाइ-दिदीबहिनीहरूले यो कुरा बुझ्न चाहेका छन् तर कसैले पनि यसको उचित उत्तर दिने जर्मकोसम्म पनि गरिरहेको छैन, न त यस विषयमा कुनै आधिकारिक चर्चा-परिचर्चा नै भइरहेको छ । यसकारण आज कति मानिसहरूले भनिरहेका छन् कि यो सरकारले जुन घोषणाहरू गरिरहेको छ, ती केवल घोषणाका लागि गरिएका घोषणाहरू मात्रै हुन् । यदि त्यसो नहुदो त गरिएका घोषणाहरू एकपछि अर्को गर्दै लागू गरिन्थ्यो होला र मानिसहरूले विस्तारै राहत पनि पाउँदै जान्थे। जसरी हिजो नेपाल हिन्दूराज्य हुँदा जे जस्तो अवस्था यहाँ थियो त्यस्तै आज पनि छ र अरू धर्मावलम्बीहरूले त्यो घोषणाको कत्ति पनि अनुभूति गर्न सकिरहेका छैनन् । यही कारण पनि आज धेरै मानिसहरू अन्योलमा छन् र यो सरकारले के गर्न खाजेको हो भन्ने कुरा पटक्कै बुझेका छैनन् । घोषणाको मर्म हेर्दा र सरकारी मान्छेका कुरा सुन्दा त गजबै लाग्छ तर व्यवहारमा भने एकरति पनि फरक पाइएको छैन । के अब यो घोषणाले हिन्दूइतरहरूले साँच्चै नेपालमा सबै किसिमका धार्मिक स्वतन्त्रता पाउँछन् त – यदि त्यसै गरिन लागिएको हो भने त राम्रै कुरा हो तर कसैलाई तल झार्न वा भ्रम सिर्जना गर्न मात्रै यो धर्मनिरपेक्षको जाल फयाँकिएको हो भने सम्पूर्ण नेपाली जनता र सबै धर्मावलम्बीहरूका लागि विडम्बना सिवाय यो अरू केही हुनेछैन । आजसम्मको व्यवहार देख्दा र यो कागजी रूपमा गरिएको घोषणा सुन्दा धर्मनिरपेक्ष ‘कागलाई बेल पाक्यो हर्षन विस्मात्’ भन्ने नेपाली उखान चरितार्थ भएको जस्तो भान हुन्छ । सात राजनीतिक दलको संयुक्त सरकार भएदेखि यता र यो देशलाई धर्मनिरपेक्ष राज्य घोषणा गरिएदेखि यता पुराना सरकार र यस सरकारका काम गर्ने शैलीमा त्यति तात्विक भिन्नता पाइएको छैन । न त यो सरकारले धर्मको क्षेत्रमा ध्यान नै पुर्‍याउन सकेको छ । हालको सरकार र पाटीको दौडधूप र परिस्थिति हेर्दा त नेताहरूलाई यस सम्बन्धमा सोच्ने कुनै फुर्सद नै छैन जस्तो अनुभूति हुन्छ । अहिले आएर कतै यो सरकारले एउटा अर्को नयाँ काम गरेको देखाउन त यो घोषणा गरेको होइन भन्ने महसुस भइरहेको हुन थालेको छ ।
नेपाललाई धर्मनिरपेक्ष राज्य घोषणा गरिएपछि कति मानिसहरू आक्रोसित बनेका छन् भने कतिका मनमा यसले विभिन्न शंका, डर र त्रास सृजना गर्ने काम गरेको छ । तर धेरै उदारवादी मानिसहरू र अरू धर्मावलम्बीहरू भने यो कार्यबाट निश्चित रूपमा उत्साहित बनेका छन् । सदिऔँ देखि एकलौटी रूपमा आधिपत्य जमाएका मानिसहरूलाई रिस उठ्नु र खिन्न लाग्नु त स्वाभाविक नै हो किनकि आजसम्म पनि उनीहरूले अरू धर्मावलम्बीहरूमाथि विभिन्न बहानामा थिचोमिचो गर्दै आइरहेका थिए र अब यस घोषणाले उनीहरूको बाटो बन्द गरिदिने काम गरेको छ । यसकारण साँच्चै उनीहरू यो कुराबाट निकै विचलित बनेका छन् । तर विगतको अन्याय-अत्याचार र दवावलाई सम्झेर “नहुनुभन्दा कानो मामा नै निको” भनेर धेरै हिन्दूइतरहरू भने केही नभए पनि यो कदमको स्वागत गर्न पट्टी लागेका छन् । हुन त यो घोषणाले हिन्दूइतरलाई अहिलेसम्म त प्रत्यक्ष कुनै लाभ भएको छैन तर पनि भविष्यमा केही होला कि भनेर नै मानिसहरू उत्साहित बनेका छन् । तर कता कता मानिसहरूका मनमा चैन भने अझै आएको छैन । यदि यो मुलुक धर्मनिरपेक्ष छ भनौँ भने पहिला र अहिले राज्यले धर्मलाई गर्ने व्यवहारमा कुनै तात्विक भिन्नता पाइएको छैन र जुन कुरा जे जसरी पहिला चलेका थिए ती आज पनि यथावत छन् । यदि छैन भनौँ भने कागजी रूपमा घोषणा गरिएको छ र सरकार तथा राजनीतिक पाटीले अब नेपाल धर्मनिरपेक्ष राज्य भइसक्यो भनेर वकालत गर्न छोडेका छैनन् । यसकारण यहाँनेर आज धेरै मानिसहरू अल्मलिरहेका छन् । किनकि घोषणा र वकालत एकातिर छ तर व्यवहार भने अर्कैतिर । यदि यो देश साँच्चै धर्मनिरपेक्ष राज्य हुँदो हो त अरू धर्महरूले पनि सरकारी मान्यता पाउँथे र त्यस धर्मका चाडबाडहरूमा छुट्टी पनि दिइन्थ्यो होला। धर्मनिरपेक्ष राज्य भनिएको छ तर शाही सरकारले जस्तै हिन्दूहरूका औँसी-पूणिर्माका दिनमा पनि छुट्टी दिन छोडिएको छैन तर अरूहरूका विशेष चाडमा छुट्टी त के, यो सरकारले एक शब्दसम्म पनि बोलेको छैन । यदि सरकारले यो धर्मनिरपेक्ष भन्ने कुरालाई याद गरेको हुँदो हो त केही समय अगाडि मुस्लिमहरूको ठूलो चाड इद आउँदा छुट्टी दिन्थ्यो होला तर त्यसमा सरकारले केही पनि बोलेन र बिदा पनि दिएन । अब इर्साईहरूको बडा दिन “ख्रिस्टमस” अर्थात् ठूलो चाड नजिकै आउँदै छ तर त्यस सम्बन्धमा पनि आजसम्म सरकारी तवरबाट कुनै पहल भएको देखिँदैन । विभिन्न धर्मावलम्बीहरूका चाडमा कर्मचारीहरूलाई छुट्टी दिने काम त शाही सरकारले पनि गरेकै थियो । खै त भिन्नता विगतको हिन्दूराज्य र आजको धर्मनिरपेक्ष राज्यमा ? शाही सरकारका पालामा इर्साईहरूले आफूले किनेको जग्गामा मृतकको दाहसंस्कार सजिलैसँग गर्न पाइरहेका थिए तर आज देशमा लोकतान्त्रिक सरकार छ, तर पनि लेलेको आफ्नो जग्गामा इर्साईहरूले लासहरू गाड्न पाइरहेका छैनन् । यो कुरा जिल्ला प्रशासन आफ्नोलयदेखि अरू कति सरकारी निकायमा समेत जानकारी गराइएको छ तर पनि कुनै पहल गरिएको छैन । यस्तै यस्तै विविध समस्या र अप्ठ्याराहरू आज पनि हिन्दूइतरहरूले भोगिरहेका छन् यसकारण यो धर्मनिरपेक्ष कतै हात्तीको देखाउने दाँत त होइन – भन्ने प्रश्न आज धेरै मानिसहरूका मनमा उठिरहेको छ । यो धर्मनिरपेक्ष घोषणाले खुसीका साथसाथै केही अनुत्तरित प्रश्नहरू पनि खडा गरेको छ ।
२०६३ कार्तिक २२ गते सात राजनीतिक दल र माओवादीका शिर्षक नेताहरूले एउटा विशेष सहमति कायम गरी एक नयाँ अध्यायको सुरुवात गरका छन्, जुन आफैमा एउटा प्रशंसनीय र उत्साहजनक छ । माओवादीका सेना र हातहतियारको व्यवस्थापन गर्ने, अन्तरिम संविधानको घोषणा गर्ने, पुरानो संसद्को विघटन र अन्तरिम संसद्को घोषणा गर्ने, अन्तरिम सरकार बनाउने र जेठ महिनाभित्र संविधान-सभाको चुनाव गर्ने र प्रतिनिधिहरू चयन गर्ने लगायतका थुप्रै घोषणाहरू आठ दलको सहमतिमा कायम गरिएको छ । त्यसै गरी मङ्सिर ५ गते राती ८:२९ बजे वीरेन्द्र अन्तरष्टिय सम्मेलन केन्द्रमा, नेपाल सरकार र माओवादीका बीचमा शान्ति-सम्झौता कायम गरी अर्को नयाँ अध्याय सुरु गरिएको छ । त्यस सम्झौतामा सरकारका तर्फबाट प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला र माओवादीका तर्फबाट अध्यक्ष प्रचण्डले हस्ताक्षर गरी सोही मितिबाट लागू गर्ने प्रतिवध्ता व्यक्त गरेका छन् । यस कुराले विगत ११ वर्षौँदेखि यो मुलुकमा चलेको आन्तरिक हत्या-हिँसा अब अन्त्य हुने भएको छ । अब फेरि त्यो दिन फर्केर नआओस् भन्ने सबैको चाहना रहेकोले मानिसहरूले त्यही प्रकारले दुवै पक्षलाई खबरदारी गरिरहेका छन् । आशा र विश्वास गरौँ अब त्यो दिन कहिल्यै पनि फर्केर हामीहरूका बीचमा आउनेछैन । त्यस घोषणाबाट सबै राजनीतिक दल, नागरिक समाज र सम्पूर्ण नेपालीहरू दाजुभाइ-दिदीबहिनीहरू एकदमै खुसी भएका छन् र त्यस सम्झौताको स्वागत गरेका छन् । उनीहरूका विचारमा अब नेपालमा केही नयाँ कुरा हुनेवाला छ, त्यो सबै नेपाली र नेपालकै भलाइका लागि हुनेछ । वास्तवमै अब हाम्रा लागि केही हुन्छ भन्ने सोचाइ आज सबै नेपालीको धारणा रहेको पाइएको छ र सोही प्रकारले मानिसहरू उत्साहित बनेर त्यही दिनको प्रतीक्षा गरिरहेका छन् । उक्त शान्ति सम्झौतामा पनि नेपाल धर्मनिरपेक्ष राज्य हुने र कसैलाई पनि धर्म र आस्थाका कारण भेदभाव नगरिने भन्ने कुरा उल्लेख गरिएको हुनाले हामी इर्साईहरूलाई पनि खुसी लाग्नु स्वाभाविक हो । जसरी प्रतिनिधि-सभा घोषणामा यो देशलाई धर्मनिरपेक्ष राज्य हुनेछ भन्दा अति राम्रो लागेको थियो, त्यसै गरी त्यस शान्ति-सम्झौतामा उल्लेख गरिएको धर्मसम्बन्धी कुराले पनि सबै हिन्दूइतरहरूलाई निकै खुसी तुल्याएको छ तर त्यसको कार्यान्वयन पक्ष भने हेर्नै बाँकी छ ।
अब यो देश बनाउने काम हामी सबैको हो भन्ने कुरा सबैले महसुस गरेका छन् र हामीले पनि यो बुझ्नु अति जरुरी देखिन्छ । यसकारण हामी इर्साईहरू पनि संसद् वा सरकारमा सामेल भएर अब हुने हरेक कुरामा हाम्रो पनि सहभागिता जनाउनु पर्छ । अब बन्ने ३३० को अन्तरिम सांसद हामी कदम्कदाचित सहभागी बन्न सकेनौँ भने संविधान-सभाको चुनावमा जसरी भए पनि हामी विभिन्न क्षेत्रबाट छानिएर आउनुपर्छ र सबै जात-जाति, धर्म र क्षेत्रका मानिसहरूको भलाइ गर्ने संविधान बनाउने कुरामा सरिक हुनपर्छ । विगतका दिनमा जे जस्ता भेदभावहरू भए पनि अब कुनै नेपालीलाई जात, धर्म, लिङ्ग र वर्गका आधारमा भेदभाव नगर्ने र सबैलाई समान हक-अधिकार अनि अवसर प्रदान गर्ने एउटा असल राज्यको निर्माण गर्नु पर्छ , हामी इर्साईको सहभागिताविना यो सबै कुरा सम्भव छ जस्तो मलाई लाग्दैन । यदि हामीले फेरि पनि पुरानै कुरालाई दोहोराएर “राजनीति हामीले गर्ने होइन, हाम्रो काम त प्रभुको सेवा गर्ने हो” भनेर कानमा तेल हालेर बस्यौँ भने हामी फेरि धेरै पछाडि पर्नेछौँ र हाम्रा लागि यस्तो अवसर फेरि आउने कुराको कल्पना गर्न धेरै गाह्रो हुनेछ । अवश्य पनि हाम्रो काम सुसमाचार प्रचार अर्थात प्रभुको काम गर्ने हो र प्रभुले आफ्नो दिनमा सबै कुरा हाम्रा लागि गर्नुहुनेछ । हामी स्वर्गीय नागरिक भएकाले संसारका कुरामा मन लगाउनु बाइबलीय आचरणअनुसार ठीक होइन तर अहिले हामी संसारमै बसेका छौँ र यहीँ को हावापानी, अन्नपात अनि हरेक आवश्कीय चीजको उपभोग गरेका हुनाले, यहाँ का कुरामा सहभागी हुनु र पाएको अवसरलाई सदुपयोग गरी तिनै कुराद्वारा प्रभुको महिमा गर्नु हाम्रो परम कर्तव्य हुन आउँछ । यसकारण देश र जनताका लागि अब हामीले हाम्रा हातहरू बढाउनै पर्ने बेला आएको छ । यसकारण प्रार्थना गरौँ र अब बन्ने नयाँ नेपालको विकासमा हामीले विभिन्न किसिमले हाम्रो सहभागिता जनाऔँ, सम्भवत यस कुराबाट प्रभु येशु दुःखी होइन खुसी बन्नु हुनेछ ।
By: शेर ए. सी.

Related Articles

Leave a Reply

Your email address will not be published.

Back to top button

Adblock Detected

In this site, here is no any scam. Please remove Adblock. Thank you for understanding...