पाप

पाप छोटो तर गहिरो अर्थ लुकेको शब्द। मान्छे आफुले जान्न थालेदेखि नै यस शब्दसँग परिचित हुन्छ। एउटा बच्चाले आमाको काखबाट तोतेबोलि शुरु गरेदेखि नै पापको ब्याख्या सिक्न थालेको हुन्छ। झुठो बोल्नु पाप हो, चोर्नु पाप हो, लोभ गर्नु पाप हो आदि। तर जब उसको दिमाग विकसित हुदै जान्छ, आमाको काखबाट बाहिर निस्केर आफु हिड्न सक्छ तब यी सबै परिभाषा वा ब्याख्या भुल्न पुग्छ अनि उसको प्रतिप्रश्न हुन्छ मैले के पाप गरेको छु र?

हो, आज पाप मानिसले आफैलाई सोध्ने धेरै प्रश्न मध्ये यो प्रमुख हो। पाप इश्वरीय अवधारणा हो। भौतिक बिज्ञानले यसलाई ब्याख्या गर्न भ्याइसकेको छैन वा यो उसको बिषय भित्र पर्दैन। जसरी भौतिक कानुनले बन्देज गरेको बिषय अपराध बन्दछ त्यसै गरी इश्वरीय कानुनको अवहेलना पाप बन्दछ। भौतिकवादीलाई यी सबैको कुनै आवश्यकता छैन वा उनीहरुलाई यो बिषयसँग देखावटि सम्बन्ध राख्नु छैन।
हामी प्राय ढोंगी हुन्छौं र आफ्नो वास्तविकताको खोल ओढने गर्छौ। धेरै चोटी हामी पापलाई लुकाउँछौँ। ग्रिसेली भाषामा पापलाई हमर्तीया भनिन्छ जसको अर्थ निशानादेखि चुक्नु हुन्छ । हाम्रो समाजमा जब कसैले नराम्रो अथवा अनैतिक काम गर्छ त्यसलाई पाप भनिन्छ अनि गर्ने व्यक्तिलाई पापी। यस हिसाबले हेर्दा पनि पाप शब्द व्यक्ति, समाज अनि धर्मसँग जोडिएको हुन्छ। तर धर्म जहिले पनि विवादास्पद हुन्छ। यसको अर्थ कि यो सबैको लागि सर्वमान्य हुदैन। त्यसै हुनाले आज विश्वमा धेरै धर्महरु छन् र मानिसहरुले त्यसलाई पछयाउँदै आएका छन्। धेरै चोटी प्राय मानिस अर्ति उपदेश दिन चुक्दैनन् अनि प्राय नैतिकताको कुरा गर्न पनि बिर्सदैनन्। आफु अनैतिक नै किन नहोस तर अरुलाई नैतिकताको पाठ सिकाउनु उसको नैतिकता हुन्छ।आजको विश्वमा जहाँ जहाँ र जति जति बेला धर्मको कुरा उठ्छ त्यहाँ र त्यतिबेला पापको कुरा आउँछ। यदि मानिसले पाप नै नगरेको हुन्थे भने धर्मको कुरा उठदैनथ्यो वा मानिसमा पाप हुदैनथ्यो भने धर्मको पनि आवश्यकता पर्दैनथ्यो तर पाप सँग जोडिएको धर्म आज राजनितिको बलियो हतियार भएको छ।
जे होस् , आखिर यो पाप मानिसमा कसरी आयो त,जान्नु जरुरी छ। अनि कल्पना गरौं पाप भएन भने के मानिसलाई धर्मको आवश्यकता पर्देन त? अब प्रश्न उठ्छ मानिसले पाप कहिले देखि गर्न थाले त? के मानब सृष्टि देखि नै पापी थिए त?
यहाँ पनि दुई वाद छन्। एक थरी विगब्याङ्ग सिद्धान्तलाई पछ्याउछन्  भने अर्को थरी इश्वरीय चमत्कार। आखिर जे भएपनि दुबै चमत्कार नै हुन्। विगब्याङ्ग पनि चमत्कार नै थियो। जसले सुर्यसँगको विगब्याङ्ग ठक्कर सँगै पृथ्वीको सृजना भयो र एक कोसिय जीवको क्रमवद्व विकास मानवमा आएर अन्त भयो वा भनौ अचेत जीवको विकास क्रममा सबैभन्दा सचेत मानिसको विकास भयो र। इश्वरीय चमत्कारको रुपमा हेर्ने हो भने एक बुद्धिमान सारा सृष्टिको रचयिता जसले सबैलाई आ-आफ्नै स्थानमा राखेर सृष्टिको नियम बनाउनुभयो, आफ्नै स्वरुपमा मानव बनाउनु भयो।
त्यसपछि ख्रीष्टियान धर्मशास्त्र बाइबलले भन्दछ मान्छेले पहिलो चोटि अदनको बगैँचामा पहिलो पाप गर्‍यो। अब त्यो पाप थियो आपनो सृष्टिकर्ताको आदेशलाई नमान्नु। आदिम पहिलो मानिस, जसलाई सृष्टिकर्ता परमेश्वरले पृथ्वी को अधिकार गर्नलाई अदनको बगैँचामा छोडिनुभयो। तर असल र खराबी छुट्टयाउने दिमाग भने दिनु भएन। अब त्यो बगैचामा सबैकुरा बाहेक एक बृक्षको फल खान बन्देज थियो। शायद परिक्षाको लागि? अनि अर्को धुर्त सर्प आयो र चलाखिपूर्व रुपमा प्रश्न गर्‍यो। तिमीलाई असल र खराब छुट्टयाउने दिमागको जरुरत छ। तब हब्वा आदमको पहिलो साथी,सोच्न वाध्य भइन, असल र खराब- अनि खाँदैमा के हुन्छ र? त्यसपछि साच्चै असल र खराब छुट्टयाउने दिमाग उनीहरुले पाए। आफु नाङ्गै भएको, बगैचामा घुमफिर गरेको आदि इत्यादी। यो क्षणबाट मानिस (आदम) मा पापको जन्म भयो र पहिलो हत्या भयो। कयिनबाट हाबिलको त्यसपछि त्यो पापी वंश पृथ्वीको छेउसम्म फैलिएर गयो। अनन्त अनन्तको लागि।
शायद यो सृष्टिकर्ता कै योजना थियो वा सानो भुल, जसको कारण यो बुद्धिमानी प्राणीले नैतिक र अनैतिक वा धर्म र पापको ब्याख्या गर्न थाल्यो। तर ख्रीष्टियान धर्मशास्त्र बाइबलले पाप अदनको बगैँचामा आदम र हब्वा फस्नु भन्दा अघि देखि नै थियो भनेर भन्दछ। ( युहन्ना ८:४४ र २ पत्रुस २:४) तर यसको शुरुवात कसरी भयो भने कुरामा चाँहि यो मौन छ। त्यसैले शुरुवात त्यसपछि भयो जब आदम र हब्वाले नखानु भन्ने फल खाए। आदम र हब्वाको पापको प्रमुख ५ परिणामहरु निस्के:
१. अरुलाई सर्ने:
आदमको पापले सारा मानव जाति माथि नै असर पर्‍यो। रोमी ५:१२। सबैले पाप गरेका छन् र यो शुरुवात आदमबाट भएको थियो।
२. भ्रष्टता:
पाप भष्टताको प्रणाम हो मानिस नैतिक रुपबाट पतन हुनु पाप गर्नु हो। मानिसले परमेश्वरलाई कुनै रुपबाट पनि खुशी तुल्याउन नसक्नु नै पहिलो कमजोरी हो त्यसले गर्दा मानिस झन भ्रष्ट हुँदै जान्छ।
३.पापको पराजय:
पाप पराजित छ। यसलाई ख्रीष्टले जित्नुभएको छ। बाइबलले भन्छ पापको ज्याला मुत्यु हो, तर ख्रीष्टमा विश्वास गर्नेले नयाँ जीवन पाउँछन्। यसर्थ यो पराजित छ।
४.अपरिवर्तित स्वभाव:
पाप पराजित भएपनि मानिसको हठी र ढिठ स्वभावले यसलाई निरन्तरता दिएको छ। झुठ बोल्नु, अर्काको आलोचना गर्नु मानिसको सामान्य बानी हो, जुन अपरिवर्तित छ।
५.परमेश्वरको प्रतिक्रिया: 
पापबाट टाढा बस्।पाप सगँ परमेश्वर क्रोध गर्नहुन्छ ।मानिसलाई यसबाट मुक्त गर्न चाहनु हुन्छ। किनकि परमेश्वर पाप चाहनुहुन्न।
ख्रीष्टियान धर्मशास्त्रले पापको दुई अवस्थाको बारेमा बताउँछ, पहिलो सबै मानिस पापमा जन्मेको हुन्छन् र स्वभावत पापी भएकोले पापपूर्ण कार्यहरु गर्छन्। वास्तवमा भन्ने हो भने जीवनको रहस्यपछि आउने अर्को ठूलो रहस्य पापको उपद्रव हो। पाप कहाँ बाट आयो त? यसमा प्राय धर्मशास्त्रहरुको आ-आफ्नै सिद्धान्तहरु छन्। तर सबैको सार एउटै प्राय हुन आउँछ कि पाप मानव दुरदशा हो। अंग्रेज लेखक जे.के चेस्टरसन भन्छन्, पाप कसैले खण्डन गर्न नसक्ने धर्म सिद्धान्त हो। पाप मानिसको भित्री स्वभावबाट उत्पन्न हुन्छ। धार्मिकताको खोल ओडेपनि भित्री आत्मामा पापले बास गरेको हुन्छ। रीस गर्नु, डाह, झगडा, व्यभिचार, लोभ, हत्या हिंसा, लालसा, आदि इत्यादी पापका प्रकृतिहरु हुन्।
जीवन जीउने आफ्नै शैली हुन सक्छ। तर शैली फरक भएपनि त्यो अन्तरनिहित वंशहरुले पापी स्वभावलाई निरन्तरता दिइरहेको हुन्छ। कसैले मैले के पाप गरेको छु र? भन्ने प्रश्न गर्देमा त्यसबाट चोखिन सक्दैन। यदि अरुको हत्या गर्नु पाप हो भने एउटा बच्चा लाखौँ जैविय कोषहरुलाई मारेर आफु बाँच्न सफल हुन्छ।
जो सक्षम छ, त्यो बाँच्छ भन्ने विकासवादी डार्विनको सिद्धान्तलाई एकछिन सोचेपनि त्यसबाट अलग भएको देखिदैन। त्यसैले सेन्ट अगष्टिनले भने जस्तै हरेक ब्यक्ति आदि पापको हिस्सामा परेकै हुन्छ। शायद त्यसैले प्रत्येक ब्यक्ति यसबाट उम्कन अनेक बहाना गर्छन्। यी सबै कुराबाट के प्रष्ट हुन्छ, भने पाप मानव स्वभाव हो र यसबाट टाढा भाग्न सक्दैन। यदि यो राजनितिक वा कुनै कानुन भित्र पर्दथ्यो भने शायद सबै मानिस दण्डको भागि बन्ने थिए, तर यो भनेर यसबाट अलग भएको भन्न कहाँ सकिन्छ र? दण्डको भागि त भएकै छ। आखिर कसरी?
ख्रीष्टियान धर्मशास्त्र बाइबलले भन्दछ सबैले पाप गरेका छन। र यो पनि ठोकुवाका साथ भनिएको छ, अनि त्यो पापको ज्याला मुत्यु हो, आत्मिक मुत्यु। किनकि पाप आत्मासँग संबन्धित छ। अब त्यो धर्मशास्त्र बाइबलले बताएको केही महापापको कुरा गरौं।
१. रीस: 
हुनत रीस आफैमा पाप होइन कि, सबै ब्यक्तिमा रीस उठ्छ। स्वयं ख्रीष्ट रिसाउनु भएको कुरा बाइबल बताउँछ। (मर्कुस ११: १५-१७) रीस किन  उठ्छ त? मान्छे विवेकशील छ। हरेक बस्तुलाई हेर्ने नजर उसको फरक छ। अनि जब त्यो फरक दृष्टिकोण उसलाई अरुबाट मन पर्देन तब उसमा तनाव उत्पन्न हुन्छ र रीसको रुपमा बाहिर आउँछ। रीस स्वाविक हो यसलाई चर्को प्रतिक्रिया भन्दा फरक पर्दैन। तर त्यो प्रतिक्रियाले जब अरुलाई असर पुरयाउँछ तब त्यो पाप हुन्छ। कहिले काहीँ त्यो प्रतिक्रियाको परिणाम कानुनी अपराधमा परिणत हुन पुग्दछ। पिटाइ, हत्या संजाय आदि रीसको परिणाम हुन्। त्यसैले रीस मान्छेमा हुने पहिलो महापाप हो।
२. ईर्ष्या 
यो वास्तवमा आफुले कुनै कुरा प्राप्त गर्न नसक्दाको अवस्थामा हुने पाप हो। ईर्ष्यामा कुनै अर्थ लुकेको हुदैन् अनि धेरैचोटी कमजोर मनस्यितिको उपज स्वरुप ईर्ष्या पैदा हुन्छ। अरुको राम्रो लुगा, गहना आदि देखेर उठ्ने ईर्ष्या, अरुको धन देखेर उठ्ने ईर्ष्या आदि आवश्यकता भित्र लुकेको महत्वकांक्षाले पनि ल्याउँदछ। वास्तवमा ईर्ष्याले केही उपलव्ध गराउँदैन तर पनि हामीमा ईर्ष्या आउँछ। त्यसो हुनुमा आफुमा हुने असन्तुष्टि हो।ईर्ष्याले आत्मालाई जलाइदिन्छ अनि त्यसको परिणाम भयड्ढकर हुन सक्छ।
३. घमण्ड 
वास्तवमा पाप एउटा यस्तो दुराचार हो जसबाट कोही पनि अलग हुन सक्दैन। घमण्ड मानिसमा आउने अर्को सबभन्दा ठूलो महापाप हो। धनीमा हुन धनको घमण्ड, राम्री स्त्रीको रुपको घमण्ड हरेक ब्यक्तिमा घमण्ड फरक ढङ्गले बसेको हुन्छ। घमण्डले मान्छेलाई क्रुर र निर्दयी बनाइदिन्छ र नम्रता उसको जीवनबाट टाढा भाग्छ।
४. आलस्य 
आलस्य वा अल्छीपन पापको अर्को नमुना हो। यसले मान्छेलाई कर्तब्यबाट विमुख गराइदिन्छ। अनि जब मान्छे कर्तब्यबाट विमुख हुन्छ, उसको आफ्नो जिन्दगीको अर्थ खोज्न सक्दैनन्।
५. लालसा 
लालसा गर्ने अर्को ठूलो पाप हो। लालसाले धेरै कुरा बोकेर ल्याउँछ। शारिरीक रुपमा-नर्कको लागि गरिने दुराचार, ब्यभिचार, यौनाचार, आदि लालसाबाट आउने पापहरु हुन्। जव मान्छेले आफ्नो अनियन्त्रित इच्छाहरुलाई वशमा राख्न सक्दैन् तब त्यसले लालसा पर्दो गराउँदछ अनि पापमा फस्दछ। खानाको लोभ, धनको लोभ, राम्री स्त्रीको लोभ, राम्रो लुगाको चाहना आदि सबै लालसा हुन जसले आत्मिक इच्छालाई उत्कृट बनाइदिन्छ अनि त्यो प्राप्त गर्ने दिशा तर्फ मन केन्द्रित हुन पुग्छ। अनि मान्छेले पाप गर्न पुग्छ।
मानिसले कुनै न कुनै रुपबाट पाप गरेकै हुन्छन् र यदि कोही यसबाट विमुख हुन्छ भने उसलाई केही भन्न सकिदैन्। मानविय स्वभावको अर्को गुण हो कि उसले आफुले गरेको गल्तीलाई हत्तपत्त मान्न तयार हुदैनन्। अनि आजको युगमा कसैले नैतिक पतन हुने अर्थ गर्देमा समाजमा उसको स्थान तल झर्ला वा उसलाई सृष्टि कर्ताले दण्ड देला भन्न सकिदैन्। यो विकसित युगमा वेश्यावृद्धि कसैको जीविको पार्जनको पेशा हुन सक्छ जुन धार्मिक रुपबाट वा पुर्वीय समाजमा अझै पापकर्म भनिन्छ। त्यस्तै गरी विकसित मुलुकका राजनिति कर्मीलाई झुठ बोल्नु सामान्य लाग्न सक्छ। अनि एउटा ब्यापारीको लालच वा झुठ उसको पेशाको एक हिस्सा हुन सक्छ।
जे होस् पाप थियो, छ र हुनेछ। अनि धेरैले यसबाट मुक्त हुने प्रयास पनि गर्छन्। तर यसबाटको छुटकाराको प्रयास आफैमा संम्भव भने छैन। यसको लागि जसबाट आएको हो उसैमा शरण पर्नुको कुनै विकल्प छैन। त्यो हो परमेश्वरले देखाएको बाटो र त्यो बाटो येशु भनेर बाइबलले बताउँछ।
By : आर पि क्षितिज 

एम.ए, बि एल, एम सि एस ए   

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

In this site, here is no any scam. Please remove Adblock. Thank you for understanding...