के ईशाई भए पछि मान्यजनको गोडा छुनु या पाउ ढोग्नु हुन्छ ?

आफुभन्दा ठुलाहरुको सम्मान कसरी गर्ने ? सायद धेरै ईशाईहरुको मनमा कौतुहलता सहित यो प्रश्न होला । यस भिडियो म यसै विषयमा केन्द्रित भएर चर्चा गर्नेछु ।
कृपया यो भिडियोलाई अन्त सम्म हेर्नुहोस र यो भिडियोलाई धेरै भन्दा धेरै शेयर गर्नुहोला ता कि यस विषयमा अन्जान सबैले जान्न सकुन । यदि तपाँई पहिलो चोटी यस च्यानलमा आउनु भएको हो भने या अहिले सम्म सब्सक्राईब गर्नु भएको छैन भने र यस च्यानलमा अपलोड भएका हरेक भिडियोहरुको जानकारी पाउन चाहनुहुन्छ भने सब्सक्राईब गर्न नभुल्नु होला र साथैको वेल घण्टि पनि क्लिक गर्नुहोला ।

यो भिडियो पनि हेर्नुहोस ।


शुरु गरौं : के ईशाई भए पछि मान्यजनको गोडा छुनु या पाउ ढोग्नु हुन्छ ?
म हिन्दु पृष्ठभुमी बाट आएको हो । हिन्दु संस्कार वा चलन अनुसार आफुभन्दा ठुलाहरुको सम्मानमा निहुरेर उनिहरुको गोडा ढोग गर्ने नियम हुन्छ । सानो छँदा हिन्दु सँस्कारमै हुँदा हामी पनि यस्तै गथ्र्यौ । र यो प्रक्रिया पछि येशूमा विश्वास गरे पछि पनि धेरै वर्ष चलिरहयो । जव सम्म यसको यथार्थ बारे बुझेनौ । किनकि मलाई पनि त्यस बेला सम्म लाग्थ्यो ढोग गर्दैमा खासै ठुलो प्रभाव पर्दैन । यो सामान्य विषय हो । आज पनि हिन्दुहरुमा यो प्रक्रिया देख्दा सामान्य नै लाग्छ । किनकि यो हिन्दुहरुको सँस्कार हो । तर जव हामी हिन्दु आस्था छाडेर ईशाई विश्वासमा आउछौं तब यो चलन छोडनलाई अफ्टेरो हुन्छ, यसर्थ यस विषयमा विशेष जानकारी हुनु आवश्यक छ ।
सबै भन्दा पहिला यो जान्न जरुरी छ कि बाईबल विशेष गरी आफुभन्दा ठुला या मान्यजनहरुको जहिल्यै सम्मान गर्नु पर्छ भन्नेमा स्पष्ट छ । तर कसरी ? हो यही सम्बन्धमा हामी हेर्दैछौं ।
पहिला बचनबाट हेरौं :
लेवि १९ः३२ बुढापाकाका सम्मानमा उठ र वृद्ध मानिसको आदर गर । तिमीहरुले परमेश्वरको भय मान । म परमप्रभु हुँ ।
यदि तपाँई परमेश्वरको भय मान्नु हुन्छ भने आफै ठुला बडाको आदर गर्नुहुन्छ । यस सन्र्दभमा प्रभ् येशूले शास्त्री र फरिसीहरुलाई मोशाको व्यबस्थाबरे सम्झाउनु भयो ।
मत्ति १५ः४ किनभने परमेश्वरले भन्नुभएको छ, “आफ्ना बुबा र आमाको आदर गर, र बुबा र आमाको विरुद्धमा दुष्ट कुरा जसले बोल्छ, त्यो चाँहि निश्चय मारिनु पर्छ ।
पुरानो करारमा मोशालाई पनि यति कडा चेतावनी सहितको नियम दिइएको थियो ।
यसै गरी,

आफ्नो आमा बुबाको आदार गर्ने सम्बन्धमा बाईबल स्पष्ट छ । तर कतिपय अवस्थामा मान्यजनहरु आफ्नो अगाडी आफु भन्दा सानाहरु झुकेको नै चाहन्छन् । किनकि सबै मान्यजनहरु सहि हुन्छन भन्ने छैन । कहिले काँही आफ्ने आमा बाबु पनि आफ्नो स्वार्थ पुरा गर्न जर्वजस्ति झुक्न लगाउँछन । प्राय यस्ता आज्ञाहरु गलत हुन सक्छन । यस्तो अवस्थामा बाइबलिय बचन कसरी पालन गर्ने ? यस सन्र्दभमा मेरो विचार यो छ किः “ठुलाबडाको आदार गर्नुको अर्थ यो होइन कि उनीहरुको सबै सहि गलत को मान्नु वा झुक्नु वा कुनै आवाज नउठाउनु ।” अथवा उनिहरुको सबै विचार गलत होस या सही आँखा चिम्लेर आज्ञा पालन गर्नु । झुक्नु वा कुनै आवाज नउठाउनु । तर बाईबलले कहिल्यै यसरी मान्यजनको सम्मान गर्न भनेको छैन ।
बाईबलले सिकाउँछ कि मानिसले बनाएको नियम वा रितिरिवाज यदी परमेश्वरको सामने आउँछ भने एक ईशाईको हैसियतले परमेश्वरको आज्ञा मान्नु आवश्यक छ, मानिसको नियम वा आज्ञा हैन । चाहे बाबु आमा होस या अरु जो कोही होस ।
प्रेरित ५ः२९ तर पत्रुस र प्रेरितहरुले भने, “हामीले मानिसहरुको होइन तर परमेश्वरको आज्ञा पालन गर्नै पर्छ ।
बाईबलले यो पनि सिकाउँछ, तपाँई ठुलाबडाको कुरामा सहमत हुनुहोस या नहुनुहोस तर उनहिरुको आदार गर्नै पर्छ । तर कसरी ??
१ तिमोथी ५ः१,२ वृद्ध मानिसलाई नहप्काऊ, तर तिनलाई बाबुलाई जस्तै गरी सम्झाउ । आफुभन्दा सानाहरु सँग भाइसमान व्यवहार गर । वृद्धा स्त्रीहरुसँग आमाझैं र युवतीहरुसँग चाँहि सम्पुर्ण पवित्रतासाथ बहिनीसमान व्यवहार गर ।
यस बचन अनुसार हामी असहमत भए पनि मान्यजनहरु सँग सम्मानका साथ व्यवहार गर्नु पर्छ । अर्थात आफ्नो बोली र व्यवहारमा नम्र भएर सम्मान गर्नु पर्छ । सयंम भएर उहाँहरुको कुरा सुन्नु पर्छ । यदि उनिहरुको कुराको आज्ञामा इन्कार गर्नु छ भने क्षमा याचना गर्दै विनम्र भएर प्रष्ट्याउँदै इन्कार गर्नु पर्छ । किनकि, बाईबल पुर्ण स्पष्ट छ आमा बुबाको वा ठुला बडाको आदार र सम्मान गर्नमा अनि आज्ञा पालन गर्नमा ।
तर पुरै बाईबलमा काँहीपनि पाउ छुने बारे लेखिएको छैन । अर्थात परमेश्वरले आफ्नो वचनमा सम्मानकोलागी पाउ छुने संकेत दिन्भएकोे पाईदैन । न त पुरानो नियममा न त नयाँ नियममा । यस कारण गोडा ढोग्ने रिति ईशाईहरुको हुदैं हैन ।
हामी विश्वासमा आउनु अगाडी अथवा अन्यजातीको अवस्थामा रहँदा आफ्नो आमा बुबा वा मान्यजनहरुलाई नै इश्वरको दर्जामा हेथ्र्यौ । अर्थात उनिहरुमा कुनै पनि पाप छैन । सायद आमा बुबाहरुले पनि यस्तै सोच्छन । यो हाम्रोे दृष्टिकोण हो । परमेश्वरको हेराई हाम्रो भन्दा फरक छ । यसर्थ सामान्यतया हामी कतिलाई पापको सही अर्थ थाहा नै छैन जसरी बाईबलले सिकाउँछ । कतिको लागी पाप भनेको कुनै ठुला पापहरु जस्तै हत्या, बलत्कार, व्यभिचार आदि । तर बाईबल अनुसार स्वार्थ, अहंकार, ईष्र्या, देष, झुठ पनि पाप हो जो हरेक मानिसमा हुन्छ । म ईशाई हुनु भन्दा अगाडी यस्तै सोच्थे कि मेरा आमा बाबु पवित्र छन तर जब विश्वास गरे र बाईबल अध्ययन गर्दै गए तब थाहा भयो कि सबै मानिसमा पाप छ । जसरी रोमी ३ः१० मा लेखिएको छ । जसो लेखिएको छ, “धर्मी कोही छैन, एक जना पनि छैन” यस कारण हरेक मानिसलाई ख्रीष्ट येशूको बलिदानबाट प्राप्त हुने मुक्ति र क्षमाको आवश्यक छ । या न कि मेरो आमा बुबालाई पनि ।
कति मान्छेहरुको सोचाई यस्तो हुन सक्छ विशेष त अन्य पृष्ठभुमि छ भने, परमेश्वर लाई कसले देखेको छ ? मलाई त मेरो आमा बुबाले जन्म दिए जसलाई म देख्न पनि सक्छु त्यसैले मेरो लागी त उहाँहरु नै ईश्वर हुनुहु्न्छ । व्यक्तिगत हिसाबले यो विचार ठिक होला तर यस सन्र्दभमा उनिहरुले मानिसलाई परमेश्वरको दर्जामा राखेको हुन्छ ।
एउटा भनाई छः “यदी गुरु र भगवान दुवै खडा छन भने कसको पाउ पहिला छुने , गुरुको, किनभने गुरुले नै मलाई भगवान सँग मिलाएको हो ।” यो अन्य धर्मको शास्त्रमा भएको एक चर्चित गुरुको भनाई हो । अब यहाँ गुरुको पैदल छोएर गुरुलाई भगवानको दर्जा दिइएको छ । तर बाइबल यो भन्दा धेरै भिन्न छ । जब कि बाइबलले बताउँछ– ठुलाबडा र आमा बुबाको सम्मान गर्नु पर्छ तर बाईबलले परमेश्वर र मानिसको दर्जा अलग अलग छ भनि सिकाउँछ ।
परमेश्वर सृष्टिकर्ता हुनुहुन्छ तर मानिस उहाँको सृष्टि हो । सृष्टिकर्ता र सृष्टि कहिल्यै एक हुँदैनन् । सृष्टिकर्ताको आफ्नै स्थान छ भने सृष्टिको पनि आफ्नै स्थान छ । हो सृष्टिकर्ता र मानिस बिच एउटा सुन्दर नाता हुनसक्छ । अनन्तको सम्बन्ध । यो पनि हुन सक्छ सृष्टिकर्ता मानिस भित्र बस्नुहुन्छ मानिसको मार्ग दर्शनको लागी । तर दुवै एक हुन सक्दैनन् । जुन स्थान सृष्टिकर्ता वा परमेश्वरको छ त्यो मानिसको कहिल्यै हुन सक्दैन । त्यसैले हरेक मानिसले सबै भन्दा पहिला परमेश्वरलाई स्थान दिनु पर्छ । किनकी सबैथोकको सृष्टिकर्ता परमेश्वर हुनुहुन्छ । । हामी परमेश्वरको स्थान कुनै मानिसलाई दिन सक्दैनौ । परमेश्वरको स्थान सबै भन्दा माथी छ । हरेक मानिस जसले बाईबलको परमेश्वरलाई स्विकार गर्छन उनीहरुले यो कुरा मान्न जरुरी छ ।
बाईबले सिकाउँछ परमेश्वर पवित्र हुनुहुन्छ तर मानिस पापी छ । चाहे आमा बुबा, छोरा छोरी, शिक्षक, जो सुकै होस सबको हृदयमा पाप छ । बाईबल अनुसार, जुन आदर, सम्मान, भक्ति महिमा परमेश्वरलाई दिईन्छ, त्यो कहिल्यै मानिसलाई दिन मिल्दैन । यसैले मानिसले परमेश्वरको अघि दण्डवत गर्नु पर्छ या न कि मानिसको अघि हैन ।
प्रकाश १९ः१० अनि तिनलाई दण्डवत् गर्न म तिनकोपाउमा घोप्टो परें । तर तिनले मलाई भने, “तिमीले मलाई यसो गर्नुहुँदैन । म येशूको गवाही कायम राख्ने तिम्रा भाईहरुको र तिम्रो सङ्गी–ददास मात्र हुँ । परमेश्वरलाई दण्डवत् गर ! किनकि येशूको गवाही अगमवाणीको आत्मा हो ।”
यहाँ वचनले स्वर्गदुतको पाउ छुन पनि बन्देज गरिएको पाउँछौ, हिब्रु २ः७ अनुसार “तपाँईले तिनलाई अलिबेरका निम्ति स्वर्गदुतहरु भन्दा केही तल होच्याउनु भयो ।” स्वर्गदुत त मानिस भन्दा उच्च छन । फेरि मानिसको पाउ कसरी छुन मिल्छ त ? जो सुकै मान्यजन हुन । स्वर्गदुतले दण्डवत गर्न किन दिएनन् भने जो कसैले पनि परमेश्वर बाहेक अरुलाई दण्डवत गर्नु भनेको परमेश्वरको दृष्टिमा मुर्तिपुजा सरह हो । किनकि, जब तपाँई कुनै मानिसको पाउ छुनुहुन्छ तपाँई उसलाई परमेश्वरको स्थानमा राख्नु हुन्छ । यो प्रक्रियाबाट एक किसिमले उसको हरेक कुरा मान्ने सम्बन्धमा मानसिक दवाव हुन्छ । चाहे त्यो सही होस या गलत । मानौ यदि कोही हिन्दु बाट ईशाई भएको छ भने विवाह पछि पति पत्निको सम्बन्धलाई उच्च स्थान दिन ग्राहो हुन्छ । किनकी उ पुरानोसंस्कारमा हुर्केको हुन्छ । यस प्रकारको असन्तुलित विचारलाई मानसिक दवाव भन्न सकिन्छ ।
यद्धपि, अन्य धर्ममा आमाबुबाको स्थान उच्च हुन्छ । विवाह पछि पनि श्रिमती भन्दा आमा बुबा नै उच्च मानिन्छ । तर बाइबल अनुसार विवाह पछि पति पत्निको सम्बन्ध सबै भन्दा माथि हुन्छ । बाँकी सबै सम्बन्ध पछि जस्तो उत्पति २ः२४ लेखिएको छः “यसैकारण मानिसले आफ्ना आमा बुबालाई छोड्छ र आफ्नी पत्नी सँग मिलिरहन्छ, र तिनीहरु एउटै शरीर हुन्छन् ।”
यसैले बाईबल कसैलाई पनि परमेश्वरको स्थान दिन मनाही गर्छ । चाहे जो सुकै होस । यसले सम्बन्धको सन्तुलन बिग्रन्छ । दण्डवत परमेश्वरलाई नै गर्नु पर्छ । अरु सम्बन्ध आफ्नो आफ्नो स्थानमा हुन्छन ।
नेपाली समाजमा गोडा ढोग्ने चलन कसरी बस्यो त ? यसको पनि कारण होला । यहाँ चर्चा गर्न जरुरी छैन । तर ढोग्नु अर्थ यही हो की ठूला मान्छेलाई आफुभन्दा महान सम्झेर सम्मान गर्नु हो । आँखामा भावनाको पट्टी बाँधेर परमेश्वरलाई दिनु पर्ने स्थान मानिसलाई दिनु सरासर गलत हो ।
लूका १४ः२६ “यदि कोही म कहाँ आउँछ, र आफ्ना बुबा, आमा, पत्नी, छोरा छोरिहरु र दाजुभाई, दिदीबहिनीहरुलाई र आफ्नै प्राणलाई समेत तुच्छ ठान्दैन भने, त्यो मेरो चेला हुन सक्दैन ।”
कसै कसै को भनाई छ कि सानाले ठुलालाई ढोग गर्दा सकारात्मक प्रभावको ट्रन्सफर हुन्छ र उनीहरु बिच राम्रो सम्बन्ध रहन्छ । तर यस अर्थमा यदि कोही मान्छे जाँड रक्सि खान्छ, अर्थात कुलतमा फसेको छ भने उसलाई ढोग गर्दा कस्तो असर ट्रान्सफर हुन्छ होला त ? अथवा कुनै पनि बाबु आमा यो कुरामा जिद्धी गर्छ भने अहंकारको भावना हो । र कसरी सकरात्मक कुरा ट्रान्सफर हुन सक्छ ? सोच्नुहोस । तर बाईबलले सिकाउँछ कि आमा बुबा वा ठुला मान्छेको सम्मान मनबाट हुन्छ । यसकोलागी कुनै रिति रिवाजको आवश्यक छैन । जसमा मानिसको महत्व भन्दा बढी महत्व दिइयोस ।
हाम्रो समाजमा कति अवस्थामा देखिरहेको छौं कि , बुहारी देख्नमा सासुको गोडा ढोग गर्छे तर भित्र मनमा रिस डाह, आदि गरिरहेको हुन्छ । छिमेकी सँग कुरा काटिरहेको हुन्छे भने त्यस्तो सम्मानको के अर्थ ? सायद सासु पनि बुहारी प्रति यस्तै व्यवहार गर्छन । कोही कोहीमा असल सम्बन्ध पनि हुन सक्छ तर कमै मात्रमा । यस्ता उदाहरण धेरै छन । जो मानिसहरुको अगाडी देखाउन मात्र गरिन्छ तर भित्र हृदयमा कुनै प्रेम हुँदैन । तर बाईबल अनुसार अन्तर हृदयबाट गरिएको प्रेम नै परमेश्वरको निम्ति उचित हो । आफु भन्दा ठुलालाई सम्मान गर तर मानिसलाई मानिसकै स्थानमा राख अनि परमेश्वरलाई परमेश्वर कै स्थानमा । परमेश्वरको अवला कसैको सामु दण्डवत नगर्नु । अथवा कसैको गोडा नछुनु ।
कतिले यो पनि भन्न सक्छन, यदि हामी अन्यजातीको रितिरिवाज मान्दैनौ भने कसरी हामीले उनीहरु प्रति प्रेम प्रकट गर्ने ? पावल ले १ कोरिन्थी ९ः१९–२३ मा भनेका छन “यहूदीहरुलाई जितँु भनेर यहूदीहरुका निम्ति म यहूदिहरुजस्तै बनें । …..व्यवस्थाको बाहिर रहनेहरुलाई जितँु भनेर म आफै व्यवस्थाको बाहिर रहेजस्तै भएँ ….।” किन त ?
अब पावलले यो कुन सन्दर्भमा भनेको हो भनेर बुझ्न यो अध्याय पुरै पढनु पर्छ , यो वचन यतिमै सिमित छैन । पावले कुनै गलत बोलेका छैनन्, कि व्यभिचार गर्नेहरुलाई जित्न व्यभिचार गर, जड्ँयाहालाई जित्न जड्ँयाहा बन, वेश्यालाई विश्वासी बनाउन वेश्या बन । यस्तो कहिल्यै भनेका छैनन् । पावलले यति मात्र भनेका छन्, जो यहूदी छ यहूदीको लागी मोशाको नियम अनुसार चल्न कुनै गाह्रो थिएन । किनकि मोशाको नियम पनि परमेश्वरले नै दिएका हुन् । र अन्य जातिहरुकोलागी वा व्यवस्था बाहिर हुनेहरुको लागी मोशाको व्यवस्थालाई एकतिर राखी येशुले बताउनु भए अनुसार आत्माको नियम अनुसार चल्थे जसले गर्दा अन्यजातीका विश्वासीले उनलाई आफ्नै ठानुन् । यसर्थ पावलले न कहिल्यै पनि अन्यजातिको नियमलाई पछ्याए न त परमेश्वरको नियमलाई नै उलङ्घन गरे । किनकि उनलाई थाहा थियो परमेश्वर अन्यजातिका रितीरिवाजहरुलाई घृणा गर्नुहुन्छ ।
यसर्थ यदी हाम्रो ठुला मान्छे, मान्यजन वा बाबु आमा अन्य आस्थामा भए पनि यो कुरामा हामी प्रष्ट हुनु पर्छ । त्यसैले जस्तो सुकै सतावटको सामना गर्नु परेता पनि यो विषयमा हरेक ईशाई परमेश्वरको वचनमा दृढ हुनु पर्छ । किनकि येशूले भन्नुभएको छ उहाँ सँधै हाम्रो साथ हुनुहुन्छ र सत्यको वचनले हामीलाई सत्यको मार्ग तयार गर्नेछ । सबै किसिमका अन्ध विश्वास बाट टाढा राख्नेछ ।
अन्तमा निचोड यही हो । तपाँई हामी जुनसुकै आस्थाबाट ईशाई विश्वासमा आएको भएता पनि यो चलन पुर्णत त्याग्नु पर्छ । किनकी मानिसले केवल परमेश्वरको सामु मात्र दण्डवत गर्नु पर्छ ।
जसो लेखिएको छः लूका ४ः८ येशूले त्यसलाई जवाफ दिनुभयो, “लेखिएको छ, तैंले परमप्रभु आफ्ना परमेश्वरलाई दण्डवत् गर्नु, र उहाँको मात्र सेवा गर्नु ।” व्यवस्था ६ः१३ मा पनि यस्तै लेखिएको छ ।
यद्यपी यि कुराहरु जान्दा जान्दै पनि प्रश्न गर्नु हुन्छ भने फैसला तपाँईको आफ्नै हातमा छ, के तपाँई परमेश्वरको इच्छा मान्नु हुन्छ कि आफ्नै ? अथवा, तपाँईको लागी परमेश्वर पहिलो स्थान हो कि, आमा बुबा वा मान्यजन ?

तपाँईको लागी परमेश्वर पहिलो स्थान हो कि, आमा बुबा वा मान्यजन ?

-Sanjay Barma #meroGod

Source:
Paul Joseph
openbible.info
patheos.com
Nepali Bible

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

In this site, here is no any scam. Please remove Adblock. Thank you for understanding...