हार कै जीवन जिउनुपर्छ भन्ने छैन –डा. भोजराज भट्ट

हार कै जीवन जिउनुपर्छ भन्ने छैन
गाब्रिएल स्वर्गदूतले जब मरियमलाई येशूको जन्मबारे समाचार दिए, तब उनले भनिन् “यो कसरी हुनसक्छ, किनकि म एक कन्या हुँ”। यो अविश्‍वासको “कसरी” नभएर प्रकृयाको “कसरी” थियो।
तब दूतले भन्छ, “परमेश्‍वरको निम्ति कुनै कुरा असम्भव छैन”। प्रतिउत्तरमा मरियम भन्छिन्; “तपाइँको वचनअनुसार होस्” (लुका १ः२६-३८)। नभन्दै मरियमको जीवनमा परमेश्‍वरले उदेकको काम गर्नुभयो।
यस सत्यलाई येशूले मर्कुस ९ः२३मा अँझ प्रस्टपार्नुभयो; “विश्‍वासगर्नेको निम्ति सबै कुरा सम्भव छ”।
के तपाईँको आवाजलाई सामन्तीहरूको दवावले निलेको छ? के जीवनका परिस्थितिहरूले थिचिरहेकाछन्? के संसारका दुःख र कष्टको भारी उठाउन गाह्रो भैरहेको छ? के गरीबी र रोगहरूले छोडेको छैन? के पापका बन्धनले गाँजीनै रहेको छ? येशूको सेवागर्ने रहर त थियो, वुलाहटपनि अनुभव गरेकै हो तर के आज तपाईँ निरासाको शिकार हुनुभएको छ? जीवनसँग हार खाएको जस्तो लाग्छ? नचाहेरै पनि परमेश्‍वरबाट टाढा गैरहेको जस्तो लाग्छ?
मित्र, यी सबै हुनुमा हामीले परमेश्‍वरको वचनलाई भन्दा मानिसका वचन वा आफ्नै सामर्थलाई विश्‍वास गरेको कारण हो। यदि हामीले परमेश्‍वरको वचनले जे भनेको छ त्यसलाई हृदयबाटै विश्‍वास गरेको खण्डमा उहाँले हाम्रो जीवनमा उदेकको काम गर्न सक्नुहुनेछ।
हिब्रू ११ः६ले भन्छ “विश्‍वासविना परमेश्‍वरलाई प्रसन्न पार्नु असम्भव छ। किनकि जो परमेश्‍वरको नजीक आउँछ, त्यसले परमेश्‍वर हुनुहुन्छ र उहाँलाई खोज्‍नेहरूलाई उहाँले प्रतिफल दिनुहुन्छ भन्ने पक्का विश्‍वास गर्नुपर्छ”। १) परमेश्‍वर हुनुहुन्छ (उहाँको अस्तित्व), २) परमेश्‍वर प्रतिफल दिनुहुन्छ (उहाँको चरित्र)।
मित्र, तपाईँको ज्ञान, शक्ति, चलाँखी र मानिसलाई खेलाउन सक्ने कलाले केही हदसम्म मात्रै सहायता गर्न सक्छ, क्षणिक फाईदाको भान पर्नसक्छ। यसलाई पत्रुसले ओइलाईजाने घाँस र झरिजाने फूलसँग तुलना गरेको छ (१पत्रुस १ः२४-२५)।
तर परमेवश्‍वरलाई विश्‍वासगरेर उहाँको वचनलाई हाम्रो जीवनमा काम गर्न दियौँ भने यसले हामीलाई सदाको लागि र सबै परिस्थितिबाट उकास्‍ने छ। विश्‍वासको कमि छ भने के गर्ने त भन्दा परमेश्‍वरकै वचनले भनेको कुरा याद गर्नुपर्‍यो; “जे सुनिएको छ, त्यसैबाट विश्‍वास आउँछ” (रोमी १०ः१७)।
तपाईँ के सुन्दै हुनुहुन्छ? तपाईँको मण्डलीमा कस्ताकुराहरूको प्रचार गरिन्छ? तपाईँको पास्टर अगुवाले के भन्छन्? परिवारमा कस्तो भाषा प्रयोग गरिन्छ? साथीभाईहरूले के बोल्छन्? आदि ईत्यादीबाट सुनिएका कुराहरूले तपाईँको जीवनमा धेरै ठुलो प्रभाव पारेको हुन्छ। त्यसकारण हामीमा सबै कुरा सम्भव भएको देख्‍न चाहनेले सबै कुरा गर्न सक्ने परमेश्‍वरको वचनले आफ्नो मगज र हृदय भर्नुपर्‍यो। परमेश्‍वरको वचन सुन्नुपर्‍यो। अनि वचनले नै त्यो विश्‍वास उत्पन्न गर्नेछ।
जब हामीमा विश‍्‍वास उत्तपन्न हुन्छ तब हामीलाई दबाउन खोज्‍नेहरू र दुःख दिने परिस्थितिहरूबाट हामी निश्‍चयनै छुटकारा पाउँने छौँ। हाम्रा निम्ति सबै कुराहरू सम्भव हुने छन्। त्यसैकारण भजनसंग्रह १०३ः१-५ले निम्‍न कुराहरू नविर्सनु भनेर भनेको छ; —
१) उहाँले हाम्रा सबै पाप छमा गर्नुहुन्छ।
२) हाम्रा सबै रोग निकोपार्नु हुन्छ।
३) हाम्रो प्राणलाई खाडलबाट निकाल्नुहुन्छ।
४) दया र करूणाको मुकुट पहिर्‍याउनुहुन्छ।
५) हाम्रा इच्छाहरूलाई उत्तम कुराले तृप्त पार्नुहुन्छ।

के हामी यि कुराहरू मेरै लागि हुन् भनेर विश्‍वास गर्नसक्छौँ? सक्छौँ भने ति हाम्रै हुनेछन् किनभने विश्‍वासगर्नेको निम्ति सबै कुरा सम्भव छन्।
–डा. भोजराज भट्ट

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

In this site, here is no any scam. Please remove Adblock. Thank you for understanding...