गरीब र धनी पास्टरको समस्या –डा. भोजराज भट्ट

गरीब र धनी पास्टरको समस्या
प्रिय मित्रहरू,
त्यो मानिस माहान हो जसले आफ्नो लागि नभएर अरूकै लागि केही गरेर यो संसारबाट विदा हुन्छ। आफ्नो लागि मात्रै वास्था गर्ने मानिसको उदाहरण यूनानी किम्वदन्तीमा उल्लेखित प्राचिन पुरूष नारकिसोसले छोडेको छ। नारकिसोसको नामबाटै पश्चिमा संसारमा “नारसिसिजम्” भन्ने सब्दको उत्पत्ति भयो जुन सब्दले आफ्नै रूपसँग मोहीत भएको मानिसलाई बुझाउँछ। किम्वदन्ती अनुसार नारकिसोस अति नै सुन्दर र घमण्डी थियो। म जस्तो अरू कोही छैन भन्दै आफ्ना प्रशंसकहरूलाई समेत उसले घ ृणा गर्दथ्यो। उसको अहंकारलाई ठिक पार्न नेमेसिस नामकी स्त्रीले उसलाई एउटा सुन्दर र सफा पानी को पोखरीमा लान्छे। पोखरीमा प्रतिविम्वीत आफ्नो रूपलाई देख्ने वितिक्कै नारकिसोस घोप्टो परेर हेरेको हेर्‍यै भयो। उसले आफ्नो छायाँलाई यति मनपरायो कि उसले त्यो ठाउँ छोड्नै चाहेन र अन्तमा त्यो छायाँलाई हेर्दा हेर्दै उसको म ृत्यु हुन्छ।

आफ्नो लागि मात्रै जीवन जीउनुमा खासै रस छैन कारण नारकिसोसको छायाँ जस्तै यो जीवन पनि क्षणिक मात्रै हो। अाज रमझम र तडक भडक गरे पनि भोलिको कुनै ठेगान छैन। तर आज हामीले कसैको यो क्षणिक र दु:खी जीवनमा केही मात्रामा भए पनि आनन्द र खुसी थप्न सकेको खण्डमा हाम्रो लागि भोलि आफ्नै अर्थ लिएर आउने छ।
अरूको लागि केही गर्न उ ठुलै मानिस; धनी, मानी र ज्ञानी नै हुनुपर्छ भन्ने छैन। भए त झनै राम्रो। तर हुनै पर्छ भन्ने छैन। केवल उसको मन हुनुपर्छ। अर्काको दु:खेको घाउमा मलहम लगाउने मन प्राय सबै मानिसमा हुँदैन। मानिस मानिस न त हो। उसका पनि थुप्रै घाउहरू छन्। तर जब हामी आफ्नो घाउलाई बिर्सेर अर्काको दु:खिरहेको घाउको वास्था गर्छौं, तब हाम्रो घाउ आफै निको पनि हुनसक्छ।
हुनत संसारमा धर्महरूको कुनै अभाव छैन। तापनि, येशू जस्तो मुक्तिदाता अन्त कतै छैन भनेर बाईबलले भन्छ र हो पनि। येशूले मानिसका पापका, रोगका, गरीबीका, र बन्धनका घाउहरूलाई छोएरै निको पार्नुहुन्छ र भाँचिएका र टुक्रियका मनहरूलाई फेरी जोडिदिनुहुन्छ। एक पटक कसैले येशूलाई साँच्चै चिन्दछ भने त्यो व्यक्तिले आफ्नो जीवन आफ्नै लागि जीउँदैन। परमेश्वर र मानिसको लागि उ जीउँन थाल्छ। मानिसलाई मुक्तिको सन्देस सुनाउनु उसको जीवनको मुख्य लक्ष बन्दछ भने उसलाई पालनपोषण गर्ने जिम्मा येशूको हातमा जान्छ।
हो, आज नेपाली ईसाई समाजमा धेरै दु:ख छ। गएको एक हप्ता मैले सिन्धुपाल्चोक जिल्लाका केही मण्डलीमा सेवा गर्ने मौका पाएँ। राजधानीको निकट जिल्ला भए पनि खासै जीवन स्तरमा कुनै सुधार देखिँन। मण्डलीमा आउने विश्वासीहरूको भौतिक अवस्था झनै नाजुक देखिन्थ्यो। पास्टर, अगुवाहरूको अनुहारमा पनि एक किसिमको हार अनि अनिश्चितता। माहाभुकम्पले थपिदिएको दु:खको त कुरै नगरौँ र राज्यले गरेको दुर्व्यवहारको पिडा अर्कै छ। यस्तो अवस्थामा कता कता मण्डलीलाई नै नैराष्यको आत्माले छोएको जस्तो लाग्थ्यो; हार खाएको भान हुन्थ्यो। एक जान पास्टर त लगभग २० बर्ष अघिनै म कहाँ केही भौतिक सहयोगको आशा राख्दै आएका थिए कारण काठमाण्डोका प्राय सबै पास्टरहरूले केही न केही उपाए लगाएरै भए पनि आर्थिक उन्नति गरेकै हुन्छ भन्ने विश्वास छ गाउँ बेँसीका पास्टरहरूलाई। हो पनि। सहरका मण्डलीहरूले आर्थिक उन्नति गरेकै हो। यो उन्नति कसरी भयो भन्ने एउटा जटील पक्ष त छँदै छ।
सहरमा आरामदायी जीवन यापन गर्दै “परमेश्वरले दिएको आशिषमा” रमाईरहेका पास्टरहरू जब दु:खी र गरीब विश्वासीहरू माझ पुग्छन् तब दया हो या दोष हो या लोभ, भन्नै गाह्रो, केही न केही जागरे आउँछ उनिहरूको मनमा। सायद दयाको खोल भित्रको दोष र लोभको मिश्रण पनि हुनसक्छ त्यो। आफ्नो मण्डली वा सम्प्रदायको प्रभुत्वलाई स्वीकारेमा पास्टर अगुवालाई हजार पन्द्रसय, विश्वासीहरूलाई पुराना लुगाफाटा वा यस्तै यस्तै भौतिक राहातको आस्वासन दिएर फर्किन्छन् फोटो र भिडियोहरू टन्न खिचेर।
भौतिक सहायता चाहिने कुरा हो। सकेमा सबैका गरीबी र रोग-व्याज सदाको लागि हटाउन सके झन कति राम्रो। सबैलाई जागिर मिलाउन सके कति राम्रो। तर प्रभु आफैले यहूदा स्कोरितीलाई भन्नुभयो “गरीबहरू त तिमीसँग सधैँ रहनेछन्” कारण यो संसार पापको बसमा छ र यी गरीब पास्टर र विश्वासीलाई बल्छीको चारो बनाउनु पनि पापैको लक्षण हो।
अरूका लागि केही गर्नु भनेको खाली भौतिक सहयोग गर्नुमा मात्रै समित हुनुहुँदैन कारण अधिकांस समय भौतिक विपन्नताको पछाडी आत्मिक विपन्नताको हात हुन्छ। सहरबाट जाने पास्टरहरूले कसरी यी गरीब र दु:खी विश्वासीहरूको जीवनमा आनन्द र खुसी थप्न सक्छन् होला त? यदि म आफै गरीब र दु:खी छु भने म कसरी यसबाट उकासिन सक्छु त? यदि म गाउँको पास्टर हुँ भने कसरी त्यो गाउँमा म सफल सेवा गर्नसक्छु त? मलाई के चाहिएको छ?
१) गाउँका पास्टर र गरीब विश्वासीहरूलाई विदेशी दाता होईन स्वर्गका परमेश्वर चाहिएको छ जसले उहाँका सबै खाँचोहरू पुरा गर्नुहुनेछ। मानिसले दिएर हाम्रा भौतिक आवस्यकताहरू कहिल्यै पुराहुन सक्दैनन्। हाम्रो गरीबी र दु:खबाट केवल परमेश्वरले मात्रै हामीलाई उकास्न सक्नुहुन्छ। कसैको दयामा बाँचेको मानिस झन् दरिद्र हुन्छ।
२) भौतिक सहयोगको लागि गरिएका मानिसका प्रतिज्ञाको सट्टा जीवित परमेश्वरले गर्नुभएका प्रतिज्ञाहरूलाई समात्नु परेको छ। पाप पखाल्नको लागि गरिएको सहायताले हामीलाई आशिष दिँदैन। तर परमेश्वरको वचनमा भर पर्ने मानिस खोलाको किनारमा रोपेको रूख जस्तै हुनेछ जसका पात कहिल्यै ओईलाउँदैनन्, जसले हरेक ऋतुमा फल दिन्छ। उसले जे पनि गर्छ त्यसमा त्यो सफल हुन्छ।
३) आफ्नो वास्तविक परिचयको परिभाषा भौतिक उपलव्धीबाट नभएर आत्मिक उपलव्धीबाट परिभाषित हुनुपर्‍यो। वचन र पवित्र आत्माको शक्ति केवल सहरका र धनी पास्टरको लागि मात्रै होईनन्। लेख्न पढ्न सक्ने जुनसुकै व्यक्तिको जीवनमा वचनको ज्ञान र आत्माको भरपुरीले उदेकको काम गर्नसक्छ। तर यसको लागि हाम्रो सोच परिवर्तन हुनुपर्‍यो। स्वाभिमानी पास्टर बन्नको लागि चुनौतिहरूलाई आत्मिक तवरले जित्नुपर्‍यो।
४) सेवाकाईमा आउनुको मुख्य कारण आफ्नो लागि हो वा मानिसको लागि हो; निश्चित हुनुपर्‍यो। पेट पाल्नको लागि सेवामा आएको भए, सेवा छोडेर कुनै काम व्यवसाय गर्दै मण्डलीको सक्रिय सदस्य हुनु राम्रो। येशू प्रभुले हामीलाई “गएर पेट पाल्नको लागि चेला बनाउ” भन्नु भएन। क्रूस उठाएर जानको लागि बोलाउनुभएको छ। आफ्नो लागि हामी बाँच्दैनौ, ख्रीष्टको लागि र उहाँका मानिसको लागि हामी बाँच्नु पर्ने हुन्छ। त्यसकारण नारकिसोस जस्तो सेवकको काम छैन् परमेश्वरको राज्यमा।
५) स्वर्गिय आशामा जीवन जीउन सिक्नुपर्‍यो। संसारमा रहुन्जेल कुनै पनि भौतिक उपलब्धी गर्न सकिएन भने पनि आनन्दित हुँदै सेवामा समर्पित हुनसक्ने मनको लागि स्वर्गको दर्शनले हाम्रो मजगलाई भरेको हुनुपर्छ।
हुने खाने पास्टरहरूले पनि भौतिक सहयोगको चारो देखाउनुको सट्टा विश्वासी र कम्जोर पास्टरहरूलाई परमेश्वरको वचन र पवित्र आत्मामा भर पर्न सिकाउनु पर्‍यो। त्यसको लागि आफुमा भएको भक्तिको भेषलाई त्यागेर शक्तिलाई धारण गर्नुपर्‍यो। हिँजो अस्ति सम्मको लोभ र लालचको पापबाट पश्चताप गर्दै परमेश्वरको शक्तिमा कसरी भर पर्नसकिन्छ भनेर आफैले अनुभव गर्नुपर्‍यो। परमेश्वरको आशिष चतुर्‍याँईबाट नभएर उहाँका प्रतिज्ञामा गरेको विश्वासबाट अनुभव गर्नुपर्‍यो। तब मात्रै हामी अरूलाई पनि यो आशिषको बाटो देखाउन सक्छौँ। गरीब र दु:खी विश्वासीहरूले पनि परमेश्वरका प्रतिज्ञामा भर परेर उनीहरूको गरीबी र दु:खबाट सदाको लागि मुक्ति प्राप्त गर्नेछन्।

–डा. भोजराज भट्ट

Related Articles

Leave a Reply

Your email address will not be published.

Check Also
Close
Back to top button

Adblock Detected

In this site, here is no any scam. Please remove Adblock. Thank you for understanding...