आजसम्म इसाई आस्थालाई नष्ट गर्न सक्ने कुनै कानुन र हतियार बन्न सकेको छैन ।
धर्म परिवर्तन गराउन नहुने, कसैले कसैको धर्म परिवर्तन गराउन वा सो कुराको उद्योग गर्न वा दुरुत्साहन दिन नहुने, र कसैले कुनै, जात, जाति वा सम्प्रदायमा सनातनदेखि चलिआएको धर्म, मत वा आस्थामा खलल पार्ने कुनै काम वा व्यवहार गर्न वा खलल हुने गरी कुनै प्रलोभन देखाई वा नदेखाई अन्य कुनै धर्ममा परिवर्तन गराउन वा अन्य कुनै नियतले त्यस्तो धर्म वा मत प्रचार गर्न नहुने । यदि त्यसो गरेमा पाँच वर्ष कैद र पचास हजार रुपैयाँसम्म जरिबाना हुनेछ भनेर नयाँ बन्न लागेको कानुनमा उल्लिखित गर्ने तयारी भएपछि थुप्रै इसाईहरू निरुत्साहित भएका छन् ।
धर्म निरपेक्षताको व्याख्यालाई बंग्याएर एकल हिन्दूराज्यको वकालत गरिरहेको सरकारले भर्खरैमात्र क्रिसमस विदालाई पनि सार्वजानिक विदाबाट हटाएर इसाईहरूमाथि अन्याय गरेको छ ।
कानुन सबै नागरिकका लागि भए तापनि धर्मसम्बन्धी ऐन इसाई आस्थालाई नै लक्षित गरेर ल्याइएको देखिन्छ । यसकारण थुप्रै इसाईहरू सुसमाचार प्रचारमा प्रतिबन्ध लाग्ने भयो भनेर अत्तालिएका छन् । हिन्दूवादी शासकहरूको मनसाय पनि इसाई आस्थालाई नै कमजोर बनाउँ, ठेस पुर्याउं भन्ने देखिन्छ । यदि यो कानुन लागुभयो भने के होला भन्ने कुरा केहि समय यता निकै चासोको विषय बनेको छ ।
नयाँ कानुनले प्रत्यक्षरूपमा इसाईहरूलाई असर पर्ने भएपछि, यसको समाधान र विकल्प खोज्न लागिपरेका केहि अगुवाहरूले एनसीएफमा भेला भएर पाचवर्ष चाहिँ होइन, तीनवर्ष जेल र पचासहजार जरिवानाको ठाउँमा तीसहजार हुनुपर्छ भनेर अपराधीको उपाधीलाई स्वीकार गर्ने बहुमत खोजिरहेको देख्दा अचम्म लागेको छ । यस्ता केहि मनोमानी गर्ने व्यक्तिहरूको उपद्रो देखेर म छक्क परेको छु ।
इसाईहरूले गर्ने गतिविधिलाई सरकारले आपराधको सूचीमा राख्ने अभ्यास गरिरहँदा, ठिकै छ सरकार हामी अपराधी नै हौँ, सजाय घटाउनुपर्यो भन्ने इसाई संगठनका नेताहरू देख्दा बैराग लागेर आउँछ ।
मानवको अधिकारको स्वतन्त्रतामाथि उक्लेर हेर्ने हो भने आफ्नो आस्थाको अभ्यास गर्नु र त्यसको प्रचार गर्नु प्रत्येक मानिसको अधिकार हो । यसकारण हामी अपराधी होइनौं । यदि नेपालको कानुनले हाम्रो अभ्यासलाई अवैधानिक ठान्छ भने ठानोस् तर हामी अपराधीको दर्जामा झर्नुहुँदैन ।
इसाई समाजका केहि अग्रजहरूलाई यो भन्न चाहन्छु कि आफ्नो समुदायको हितको निम्ति कुनै विकल्प र समाधान खोज्न सकिंदैन भने चुप लागेर घरमै बस्नुहोस् । तर सिंगो इसाई समुदायलाई अपराधी बनाउने मनोमानी अभियान आयोजना नगर्नुहोस् । इसाई समुदायलाई यो संकष्ट आईपर्यो, अब हामीमा सतावट आउदै छ भन्दै समस्या देखाएर, प्रोजेक्ट बनाउने, पैसा भित्र्याउने र चलखेल गर्ने काम छोडिदिनुहोस् । यदि राज्य हाम्रो विरूद्धमा छ भने, येशू हाम्रो पक्षमा हुनुहुन्छ ।
इतिहासदेखि आजसम्म कुन कानुन र हतियारले येशूको नाउँलाई नष्ट गर्न सकेको छ र ? हामीसम्म आईपुगेको सुसमाचारको धरातललाई फर्केर हेरौं । येशू आमाको गर्भबाट मानवशरीरमा जन्मेको दिनदेखि आजसम्म पनि संसारले उहाँलाई मार्न खोज्दैछ । कानुन र कुनैपनि हतियारले येशूको प्रेमलाई, उहाँको सत्यतालाई, उहाँको अस्तित्वलाई मेटाउन सकेको छैन । उहाँ जिउँदो हुनुहुन्छ ।
येशूको सत्यतालाई पृथ्वीबाट मेट्ने प्रयास धेरैले गरे । पश्चिमी नास्तिकहरूदेखी, कम्युनिष्ट माओवादीहरू हुँदै, संसारको हरेक ठाउँमा येशूलाई मार्न खोजियो, तर उहाँलाई कुनै मृत्युले जित्न सकेन । लाखौँ इसाईहरूलाई भयानक दर्दनाक पिडा दिएर मारियो । येशूको राज्य झनै फैलियो ।
टाढा टाढाको इतिहासलाई खोज्नुपर्दैन, छिमेकी राष्ट्र चीनलाई हेर्नुहोस्, जहाँका लाल सेनाहरूले क्रिश्चियनहरूलाई पशुसरह मार्थे । त्यहाँका माओवादीहरूको निम्ति इसाईहरूलाई मार्नु र थुन्नु साधारण कुरा भइसकेको थियो । त्यतिखेर चीनमा सानो संख्यामा इसाईहरू थिए । साठ्ठी वर्षपछि आज झन्डै १६ करोड भन्दा बढी इसाईहरू त्यहाँ छन् । पृथ्वीमा सबैभन्दा बढी इसाई जनसंख्या चिनमा नै तयार हुँदैछ । अहिले त्यहाँ हरेक हप्ता चर्च जानेको संख्या, यूरोपभरबाट चर्च जाने विश्वासीको भन्दा दोब्बर रहेको छ । तापनि त्यहाँ अझै सतावाट कायमै छ ।
सबैभन्दा भयंकर सतावटहरूमा इसाईहरूलाई इनारमा थुनेर राख्दा पनि येशू त्यहाँ जिउनुभयो । जमिनमुनि र जंगलमा विश्वासीहरूले संगति गर्दापनि येशू जिउनुभयो । येशूको राज्य नष्ट गर्न, योजना बनाउने शासकहरू मरेर गए । येशू जिउँदो हुनुहुन्छ । तिनीहरूको राज्य ढल्यो । येशूको राज्य बढिरहेको छ ।
नेपालबाट पनि ५७ जना नेपाली (नेवारहरू) इसाईहरूलाई पृथ्वीनारायण शाहले सन् १७६९ मा बिदेशी फादरहरूका साथमा देशनिकाला गरेका थिए । १८० वर्ष सुसमाचारको निम्ति नेपालको ढोका बन्द रह्यो । त्यसपछि सन् १९५० मा ढोका खोलियो । ६५ वर्षको अन्तरालमा नेपाली इसाईहरूको संख्या उल्लेखनीयरूपमा बढेर झन्डै २५ लाख पुगेको छ । (सरकारी तथ्यांकअनुसार भने झन्डै ४ लाख देखाईएको छ ) ।
सच्चा विश्वासीहरूलाई यो थाहा छ कि हाम्रा वर्तमानका भावनात्मक तथा शारीरिक कष्टहरु त्यसबेला अन्त हुनेछन् जब परमेश्वरसँगको जीवन धेरै असल हुनेछ । अहिले हामीलाई राज्यले जस्तोसुकै सौतेनी व्यवहार गरेपनि, हाम्रो जित निश्चितै छ । किनकि हामी अनन्त शोकरहित ठाउँको बारेमा सोच्छौं, डररहित ठाउँको बारेमा विचार गर्छौं, मृत्यु र रोगबिनाको र रोदनबिनाको ठाउँको बारेमा सोच्छौं । यसकारण संसारको भौतिक संकष्टले येशूप्रतिको हाम्रो विश्वासलाई विक्षिप्त बनाउन सक्दैन । अहँ कुनै कुराले हाम्रो विश्वासलाई फुकाउन सक्दैन ।
यसैले हामी विचलित हुनुपर्ने कुनै कुरा छैन । यहाँ कुनै नयाँ कुरा हुन लागेको छैन । हामीलाई यो थाहा हुनुपर्छ कि परमेश्वरले हामीलाई स्वर्ग जाने टिकटहरू दिनुभएको छ । हामीले जोकोहीलाई पनि त्यो टिकट बाँड्न सक्छौं । स्वर्गका टिकटहरू खल्तीमा बोकेको बोकेकै गरेर मर्न हामी यहाँ छैनौं । जस्तोसुकै संकष्ट, परिक्षा र सतावाटमा पिल्सिनु परे तापनि हामीले स्वर्गका टिकटहरू बाँडीरहनुपर्छ । सबैखाले चुनौतीहरूको सामना गरेर भएपनि हामी हरेकले पाएको टिकटहरू कसै न कसैलाई बाँडेर नै जानुपर्छ । यो हाम्रो प्रभुको आज्ञा हो । येशूको सत्यतालाई दबाउने कुनै कानुन र बन्दुक आजसम्म बनेको छैन । कुनैपनि असल इसाई आफूले पाएको स्वर्गका टिकटहरू खल्तीमा बोकेर मर्न चाहँदैन । यसकारण जस्तोसुकै कानुन बनोस्, हतियार बनोस् त्यो हाम्रो विनास होइन, दुष्टको विनास हो । किनकि हामी त झन् फैलिनेछौँ । झनै बढ्नेछौं ।
इसाई संगठनका अग्रजहरूलाई यहि अनुरोध गर्न चाहन्छु कि सरकारले हाम्रो आस्था अभ्यासलाई अवैधानिक बनाउन लाग्यो, हाम्रो क्रियाकलापलाई अपराधिक गतिविधिमा राख्यो भनेर, तपाईंहरू पनि “हो हामी अपराधी हौँ, सजाय घटाई दिनुभनेर नलाग्नुहोस् ।” संसारले हामीलाई अपराधी बनाएको बदलामा प्रभुबाट हामीले इनाम पाउनेछौं । तपाईहरूले नै हामीलाई अपराधी बनाउँदा कसले के पाउने ? सक्नुहुन्छ भने मानव भएर हामीले पाउनुपर्ने स्वतन्त्रताको निम्ति आवाज उठाउनुहोस् । हाम्रो समुदायले पनि अरू नागरिक र धर्मावलम्बीहरूले जसरी नै अधिकार स्वतन्त्रता पाउन् भनेर आवाज उठाउनुहोस् ।
अन्तमा आदरणीय लोकनाथ मनेनज्यूद्वारा लिखित पुस्तकबाट यी शब्दहरू सबैको निम्ति :
बाइबल सिद्धान्तमा चलेको जीवन, मृत्युको दिनमा पनि सुन्दर देखिन्छ । बाइबल पढ्ने र पालन गर्ने व्यक्तिको निधनमा सबैलाई सन्तोष हुन्छ । यो मान्छे कहाँ जानलाई जीवनभरी तयार बनेको थियो भनि सबले थाहाँ पाउँछन् । त्यो दिनको गीत, गान, भजन, बाइबल पाठ र प्रवचनसँग पनि उनको जीवन र मृत्यु मिल्दोजुल्दो हुन्छ ।
श्रवन बोम्जन