बरु सात दिन भोकै बस्छु, तर दमाई कामी कहाँ दूध पुर्याउँदिन !
बरु सात दिन भोकै बस्छु, तर दमाई कामी कहाँ दूध पुर्याउँदिन !
Pastor Dhurba Kumar Pariyar
आजको मर्निङ्ग वाकमा थिएँ, काठमाण्डौको जोरपाटी नजिकै । दुई जना बृद्वहरुलाई बाटोमा कुराकानी गर्दै हिडेको भेटे । एकजनाले साना साना बट्टामा राखिएको दुईवटा झोलामा दूध बोकेर हिड्नुभएको थियो । म कुरा सुन्दै थिएँ ।
एक जनाले भन्नुभयो, “यो ठाउँ बरु विकाश भएछ ।”
दूध बोक्नेले जवाफ दिनुभयो, “जहाँ बाहिरका मानिसहरुको बस्ती बढ्छ, त्यहाँ चाडो विकास हुने त हो नि !” यो कुरा मलाई घत लाग्यो, किनकि अमेरिकामा पनि बाहिरका मानिसहरु प्रवेश गरेपछि धेरै विकाश भएको कुरा सुनेको, पढेको र देखेको छु ।
बुढाहरुको कुरा अघि बढ्दै थियो ।
“अनि यो दूध चाही कहाँ पुर्याऊने हो नि?” दूध बोक्नेलाई सोध्नुभयो ।
“फलानो गाउँमा” भनेर दूध बोक्नेले जवाफ दिनुभयो ।
“दमाई कामी कहाँ पनि दूध पुर्याउँने हो कि क्याहो?”
दूध वालाले भन्नुभयो “पुर्याउँछु, दमाई कामीको पनि पैसा नै हो क्यारे !”
अर्कोले भन्दैहुनुहुन्थ्यो, “म त दमाई कामी कहाँ दूध पुर्याउँदिन । बरु सात दिन भोकै बस्छु, तर दमाई कामी कहाँ दूध पुर्याउँदिन !”
उहाँहरु उकालो लाग्नुभयो, म ओरालो झरे ।
बाटोभरि मनमा धेरै कुरा खेल्यो । प्रतिवाद गरौ भन्ने लागेको थियो । तर बाटो परिवर्तन भैहाल्यो । गोश्वारा हुलाक सुन्धाराकी एक महिलाले “फलानालाई त दमैले लगि हालोस् भन्दा एकपटक सामूहिक रुपमै प्रतिवाद गरेको थिएँ । उहाँ लगायत अरु कर्मचारीले माफी मागेपछि छाडेको थिएँ । आफू दमाई भएकोले आफ्नो जातलाई कसैले घृणा गर्दा रीस उठ्नुका साथै दुख पनि लाग्दोरहेछ । मैले “धिक्कार मेरो जात !” भनेर धेरै पल्ट अनायासै मुखबाट निकालेको छु । किनभने जातको कारण यस्ता बेईज्जतीहरु अनगिन्ती भोगेको छु । कति औलामा गन्न सक्ने घटनाहरु छन्, जुनबेला यो जातमा जिउनु भन्दा त मर्नु जाती भनेर मर्ने उपाय खोजेको पनि छु ।
थोरै पढियो, लेखियो र केही कुरा जानियो भने जीवनमा केही गर्नुपर्छ नत्र पशुतुल्य होईन्छ भन्ने लाग्दोरहेछ । गाउँमा बस्ने रहर कसलाई हुँदैन र ? गाउँको धारा, पधेरा, विवाह, भोज, सभा, समूहमा जातीयताको आधारमा गरिएको विभेदले जीवनमा प्रगति गर्नुको मज्जा नै मिलेन । हैनभने म एउटा निम्न आर्थिक अबस्थाको बालिघरे दमाईको छोरो, बाल्यकालमै बुवाले दोश्रो विवाह गरी छोडेर हिडेको, स्कूलको फि तिर्न पनि धौ धौ पर्ने ब्यक्तिले गाउँका धनाड्य मानिने साथीहरु सरहनै थोरै भएपनि पढेलेखेको हो । तर विभेदमा बाँच्नु भन्दा गाउँमा नबस्नु नै मुनासिव लाग्यो ।
काठमाण्डौमा बस्न थाले । जातीय विभेद यहाँ पनि विरक्त लाग्दोनै रहेछ । भारतका संविधान निर्माता डा. बाबासाहेव अम्बेडकरले जातीय विभेदको कारण धर्म परिवर्तन गरेको कुरा थाहा पाएँ । मैले पनि जातीय विभेदको कारण पलपलमा मर्नु भन्दा धर्मको खोजी गर्न थाले र परिवर्तनको बाटो रोजे । हो, जुन धर्म मैले अपनाएँ, त्यो धर्मशास्त्रले मानिसलाई ईश्वरले समान रुपमा सृष्टि गरेको कुरा थाहा पाएँ अनि त्यहाँका विश्वासीहरु पनि जुनसुकै जातको भएपनि जातको आधारमा भेदभाव गरेको कहिँ कतै भेटिन । यो धर्म र विश्वासीहरु प्रति म आकर्षित हुँदै गएँ । जीवन र जगत बारे अलि अलि बुझ्न थाले । मुक्ति र उद्घार बारे धेरैकुरा जान्ने मौका मिल्यो । येशूमा विश्वास गर्नु भनेको अध्यात्मिक र भौतिक दुबै तवरबाट ठीक लाग्यो । भौतिक कुरा भन्ने वित्तिकैै पैसाको कुरा आउँछ, मैले पैसाको लोभले विश्वास गरिन र कसैले मलाई पैसाको लोभ पनि देखाएनन् । मैले निस्वार्थ रुपमा यो ईसाइ धर्म अवलम्वन गरे । लोभ, लालच, डाहा, इश्र्या, नाम, पद, जात भात, पैसा, वेश्या ईत्यादी कुराहरुबाट दूर रहने शिक्षा प्राप्त गर्दै गएँ । “अरुले तिमीहरुलाई जस्तो गरेको चाहन्छौ, तिमीहरुपनि अरुहरुलाई त्यस्तै ब्यवहार गर” भन्ने बाईबलको कुराले मलाई सधै अरुको सेवा गर्ने प्रेरणा दियो । र, आजसम्म मैले त्यो कुरा आफ्नो ल्याकतले भ्याएँसम्म गर्दै आएको पनि छु ।
हिजोआज, इसाई विरोधी गतिविधि धेरै हुँदै आएको छ । म एउटा नेपालको शिक्षाले आचार्य गरेको ब्यक्तिले इसाई भित्र (येशूलाई नमान्ने झुट्टा इसाई र दुईचार जना बाहेक) कहिँकतै गलत प्रबृत्ति रहेको पाएको छैन । गुलाब भित्र त काँडा हुन्छ भने लाखौ इसाइहरु भित्र पनि एक दुई जना काँडा नभएको होइन । त्यस्तालाई हामी उद्घार पाएको तर सुधार नभएको इसाई भन्छौ ।
मैले भन्न खोजेको के हो भने इसाई भएर म जस्ता हजारौ मानिसहरुले बाँच्ने आधार पाएका छन् । तर इसाईहरुप्रति नेपाली समाजमा जुन प्रकारको वितृष्णा कसैले हालिदिएका छन् ती मानिसहरु तिनै हुन्, जसको दमन र शोषणको क्षेत्र साँगुरो बन्दै गएको छ । त्यसैले आजको युगमा पनि कसैलाई दबाइराख्छु भन्नु मुर्खता बाहेक केही पनि हुँदैन भन्नेकुरा सबैले बुझ्नु जरुरी हुन्छ । र, “बरु सात दिन भोकै बस्छु, तर दमाई कामी कहाँ दूध पुर्याउँदिन” भन्न छाड्नुपर्छ ।