चर्चको वर्तमान शिक्षालाई मूल्याङ्कन गर्ने बेला

–भुवन देवकोटा

प्रविधि र सामाजिक सञ्जालको विकासको कारणले अहिले प्रशस्तै प्रचारकहरू, वचनको शिक्षा दिनेहरू नेपालको चर्चमा र नेपालको चर्चबाट देखा पर्नु धेरै राम्रो कुरा हो । धेरै जना बाइबल धर्मशास्त्रमा तालिम लिएका, बाइबल कलेज पढेका विद्यार्थीहरू बाइबलको शिक्षा दिन, मण्डलीलाई सुसूचित गराउन, परमेश्वरको वचनको गहिरो अध्ययन दिनको लागि निरन्तर अघि बढेको देख्नु हामी सबैको लागि सुखद कुरा हो । यस्ता कुरा उत्साहप्रद हुँदाहुँदै पनि धेरै पल्ट सही शिक्षाको अभावको कारणले मण्डलीमा आत्मिक रूपमा सुकेनास बढ्दै गएको, गुणात्मक रूपमा ख्याउटे बन्दै गएको उदाहरणहरू पनि हाम्रो बीचमा प्रशस्तै छन् ।
वचनको शिक्षा दिने नाउँमा अथवा सुरुसुरुमा धेरै उत्साही भएर तालिम नलिई वा सठीक अध्ययन नगरी प्रचार गर्दा वा शिक्षा दिने भाँति नपु¥याउँदा धेरै पल्ट अरू मानिसहरूको बीचमा परमेश्वरको नाउँ हाम्रै कारणले बेइज्जत भएका घटनाहरू पनि हाम्रा बीचमा बग्रेल्ती देखिन लागेका छन् । त्यो कुरा पक्कै पनि मण्डलीको भविष्य र मण्डलीलाई सही मार्गनिर्देशन दिनको लागि असल कुरा पक्कै होइन । त्यसकारण हामी वचनको शिक्षा दिने व्यक्तिहरूले आफ्नो शिक्षा र मण्डलीले पाइरहेको शिक्षालाई गम्भीर भई ठीक किसिमले परमेश्वरको वचनसँग दाँजेर मूल्याङ्कन गर्ने बेला आएको छ ।
प्रचार गर्ने नाममा जथाभावि प्रचार गर्दा वा पूरा अध्ययन नगरी अन्य धार्मिक समुदायलाई अनावश्यक आक्षेप लगाउँदा हाम्रो सुसमाचारको प्रचार कमजोर बन्दै गएको छ । येशू र बाइबलको प्रत्यक्ष विरोध गर्नेहरूलाई पनि उनीहरूकै भाषा र शैलीमा जवाफ दिनु बाइबलीय प्रेमको नमुना होइन । हातमा स्मार्ट फोन छ र बाइबल छ भन्दैमा जथाभावि प्रचार र व्याख्या गर्न लाग्दा परमेश्वर र उहाँकी दुलहीको अपमान पो भएको छ कि ? भावनात्मक प्रचार गरेर मानिसहरूलाई आफूतिर आकर्षित गर्दै पैसा र प्रसिद्धिको पछि लाग्ने जमात पनि हाम्रा बिचमा बढिरहेको कुरा सबैलाई थाहै छ । अब यी सबै कुरालाई बाइबलीय प्रेम र नम्रतामा सुधार गर्ने समय आएको मेरो ठहर छ, नत्र हाम्रै कारणले अन्यजातिहरूको माझमा परमेश्वरको नाउँको बेइज्जत हुनेछ ।
अर्को, अझ गाह्रो कुराचाहिँ येशू प्रभुले भन्नुभएजस्तै हामीले मानिसहरूलाई तिनीहरूको फलबाट चिन्ने बेला आएको छ । मीठो कुरा गर्यो, राम्रो कुरा गर्यो, भावनात्मक रूपमा हाम्रो भावनालाई छुने र परिपोषित गर्ने वा हाम्रो भावनात्मक विषयलाई उचालेर हामीलाई मख्ख पार्ने व्यक्ति भेटियो भन्दैमा हामीले असल शिक्षकको रूपमा उसले बाइबलबाट बोलिरहेको छ भनेर त्यसलाई लिनु मूर्खता हुन्छ । किनकि भावनात्मक कुरा गर्नु र बाइबलको शिक्षा एउटै होइन । परमेश्वरको वचनको शिक्षा दिनेले परमेश्वरकै वचनको शिक्षा दिनुपर्छ । भावनात्मक कुरा गरेर मानिसलाई अल्मल्याउँदैमा, केही समयको लागि मख्ख पार्दैमा परमेश्वरको वचनको शिक्षा भन्न मिल्दैन । वचनको शिक्षा दिनेले वचनकै शिक्षा दिनुपर्छ । परमेश्वरको अनुग्रहको प्रचार गर्नुपर्छ । परमेश्वरको क्रूसलाई छोडेर, क्रूसलाई पर राखेर परमेश्वरको वचनको शिक्षा कहिल्यै पनि पूरा हुँदैन किनकि परमेश्वरले क्रूसमा नै सबै कुरा सिध्याउनुभयो । परमेश्वरले आफ्नो पुत्रको क्रूसद्वारा नै संसारलाई आफैंसँग मिलापमा ल्याउनुभयो । अनि वचनको शिक्षा दिने प्रचारकहरूले पनि त्यही गर्ने बेला आएको छ । नत्रता हामीचाहिँ हल्ला गर्ने घण्टी र झ्याली मात्रै हुन्छौं । अनि हामीले दिएको शिक्षाले मानिसहरू परमेश्वरको नजिक जानुभन्दा भावनात्मक रूपमा खुसी मात्रै हुनेछन् । भावनात्मक खुसी टिकाउ नबन सक्छ ।
मण्डली इतिहासलाई अध्ययन गर्दा पनि थाहा लाग्छ कि केही शताब्दीअघि सम्म मण्डलीले वचनको सही शिक्षालाई निकै जोड दिन्थ्यो । जोन क्याल्भिनजस्ता प्रचारकहरूले यही कुरालाई जोड दिए । त्यसैकारण त्यो समयको मण्डली सतावट र कष्टमा पनि स्थिर बस्यो किनकि वचनको गहिरो शिक्षाले मण्डली खँदिलो भएको थियो । तर यो शताब्दीमा विश्वव्यापी रूपमै मण्डलीमा आश्चर्यकर्म र शक्तिका कामलाई जोड दिइएको छ । पास्टर तथा अगुवाहरू मण्डलीको सेवक बन्नुभन्दा हाकिम र ठूला व्यापारीजस्ता भएका छन् । अनेकन् टाइटलले सुशोभित भएर आफूलाई येशूतुल्य ठान्न लागेका छन् । बाइबललाई पर राखी परम्पराको आधारमा पोशाक र बाहिरी आवरणमा जोड दिएर शास्त्री र फरिसीजस्तै देखिन लागेका छन्, जुन कुरा हेर्दा मण्डलीले येशूको उदाहरण पछ्याउने वा पावल अनि नयाँ करारका कुनै पनि अगुवाहरूको चरित्र देख्दैन र अलमलमा पर्छ ।
अब यी कुराहरूलाई बाइबलको चस्माले हेरेर सुधारको छडी चलाउने बेला आएको छ । हाम्रो शिक्षा र जीवनलाई जाँच्ने समय आएको छ । आगामी पुस्ता हाम्रो कारणले वचन र नयाँ करारको मण्डलीको नमुनाबाट निकै पर भाग्नुपहिले हामी नै जाग्ने बेला आएको छ । त्यसको लागि बाइबललाई आफ्नो फाइदाको लागि भन्दा पनि येशूको वचनको रूपमा प्रचारिनु आवश्यक छ ।
यो कुरा तिनीहरूलाई सम्‍झाइदेऊ र प्रभुको सामु आज्ञा देऊ कि तिनीहरूले शब्‍दहरूका विषयमा तर्कवितर्क नगरून्‌, जसले भलाइ गर्दैन, तर केवल सुन्‍नेहरूलाई हानि पुर्‍याउँछ। शर्माउन नपर्ने र सत्‍यको वचनलाई ठीकसँग प्रयोग गर्ने कामदारजस्‍तै आफूले आफूलाई परमेश्‍वरमा ग्रहणयोग्‍य तुल्‍याउने भरमग्‍दूर प्रयत्‍न गर। भक्तिहीन बकबक त्‍याग किनकि यसले मानिसहरूलाई झन्‌ बढ़ी भक्तिहीनतातिर लानेछ (२ तिमोथी २:१४, १५, १६)।

Leave a Reply

Your email address will not be published. Required fields are marked *