प्रभु येशूको जन्मको उदेश्य के हो ?

ख्रीष्टमस, येशूको जन्म र परमेश्वरको महिमा

ख्रीष्टमस अर्थात प्रभु येशू ख्रीष्टको जन्मा उत्सव डिसेम्बर २५ का दिन अर्थात (पौष १० गते) विश्वव्यापी रूपमा मनाउने गरिन्छ । नेपालको परिपेक्षमा भन्नुपर्दा मण्डलीको सुरुवातसँगै हर्षोल्लासका साथ यहाँ पनि प्रत्येक वर्ष अरु देशहरूमा जस्तै ख्रीष्टमस मानउन शुरु भएको हो । समय क्रम सँगै ख्रीष्टमस मनाउने चलन र तरिका पनि व्यापक हुँदै गईरहेको छ र वर्तमानमा यो मण्डली वा विश्वासी समुदायमा मात्रै सिमित नभएर प्रभु येशूमा व्यक्तिगतरूपमा विश्वास नगर्ने व्यक्ति वा समुदायले पनि उत्तिकै उत्साहका साथ ख्रीष्टमस मनाई रहेको देखिन्छ । विभिन्न तारे होटलहरुमा यो प्रचलन पहिले देखिनै थियो । पश्चिमी देशहरूमा त अक्टोबर महिना देखिनै ख्रीष्टमसको चहलपहल शुरु भईसकेको हुन्छ । मुख्य व्यापारिक केन्द्रहरू विशेष किसिमले सजाइएका हुन्छन र स्कूल कलेजहरूमा लामो बिदा दिइएको हुन्छ । सैयौं वर्षदेखि चलिआएको प्रचलन अनुसार यो विशेष चाडको रूपमा मनाइन्छ ।

मानिसको स्वभावअनुसार सबैकुरा संसारिक दृष्टीकोणले हेर्ने बानी रहेकोले ख्रीष्टमसलाई पनि एउटा चाडको रूप दिने र सो अवसरमा खान, पीन गर्दै मोजमज्जा गरेर बिताउने प्रचलन बढ्दै गईरहेको देखिन्छ । प्रभु येशूको जन्म परमेश्वरको इच्छा र योजना अनुसार भए पनि यस अवसरलाई हेर्ने दृष्टिकोण र गरिने व्यवहारमा कुरीतिले स्थान पाउंदै गईरहेकोले यसको वास्तविक महत्व हराउँदै गईरहेको भान हुन्छ । यसैकारण यस लेखमा हामी प्रभु येशू ख्रीष्टको जन्मको उद्देश्य बारे केही महत्वपुर्ण चर्चा गर्ने छौं ।
प्रभु येशूको जन्म आज भन्दा २००० वर्ष अघि इस्राएल देशको यरूशलेम शहर नजिकै बेथलेहेम गाउँमा रहेको एउटा गोठभित्र भएको थियो । बाइबल धर्मशास्त्रको नयाँ करारमा सुसमाचारका पुस्तकहरु मत्ती र लूकाका पुस्तकहरूमा उहाँको जन्मको विस्तृत विवरण दिइएको छ ।

प्रभु येशू जन्मिनुको उदेश्य
येशूको जन्मको उद्देश्य परेमश्वरको उदेश्य र योजना सँग सम्बन्धित छ । किनभने यस योजनाको योजनाकार परमेश्वर स्वंयम नै हुनुहुन्छ । परेमश्वरको योजना उहाँको वचन अर्थात बाइबल धर्मशास्त्रमा उल्लेखित छ । हामी सुसमाचारको पुस्तक लूकाको केही पदहरू हेर्ने छौँ ।
स्वर्गदूतले तिनीहरूलाई भने, ‘‘नडराउ किनभने हेर, म तिमीहरूलाई बडो आनन्दको सुसमाचार सुनाउँछु, जो सबै मानिसहरूका निम्ति हुनेछ । आज दाऊदको सहरमा तिमीहरूका निम्ति एक जना मुक्तिदाताको जन्म भएको छ, जो ख्रीष्ट प्रभु हुनुहुन्छ । तिमीहरूलाई चिन्हचाहिँ यो हुनेछ । तिमीहरूले एउटा बालकलाई लुगाले बेह्रेको र डूँडमा सुताइराखेको भेट्टाउनेछौँ । तब एक्कासी ती स्वर्गदूतसँग स्वर्गीय सेनाको एउटा दल देखा प¥र्यो । परमेश्वरको स्तुति गर्दै, तिनीहरूले भने, “सर्वाेच्चमा परमेश्वरलाई महिमा, र पृथ्वीमा जुन मानिसहरूसँग उहाँ प्रसन्न हुनुहुन्छ, तिनीहरूलाई शान्ति” (लुका २ः१०–१४)
स्वर्गदूतहरू परमेश्वरका विशेष दूतहरू हुन जसको काम कर्तव्य मध्ये परमेश्वरको विशेष सन्देश मानिसलाई दिने हो । यसकारण बालकको रूपमा येशूको जन्म हुँदा स्वर्गदूतहरूको सक्रियतामा निकै वृद्धि भएको देखिन्छ र माथि उल्लेखित पदहरूमा परमेश्वरले गोठालाहरूलाई येशूको जन्मको उद्देश्यसहितको समाचार सुनाउन स्वर्गदूतहरुलाई पठाउनु भएको थियो ।
उपरोक्त पदहरूको विश्लेषण गर्दा हामी निम्नलेखित विशेष कुराहरू उल्लेख भएको भेट्टाउँछौं ।

१. सम्पूर्ण मानव जातिको मुक्तिदाताको रूपमा प्रभु येशू ख्रीष्टको जन्म भएको हो ।
सृष्टिको शुरुवातमा पहिलो व्यक्ति आदम र उनकी श्रीमतीको रूपमा आदमकै करङबाट बनाइएकी पहिली स्त्री हव्वाले परमेश्वरको आज्ञा उल्लंघन गरेको कारण पाप गरे र मृत्युको अधिनमा परे । यसको फलस्वरूप सम्पूर्ण मानव जातिमा (जो आदमका सन्तान), पाप र मृत्यु व्याप्त भयो । रोमी ५ः१२ मा उल्लेख गरिए अनुसार, ‘‘एक जना मानिसद्वारा संसारमा पाप आयो, र पापबाट मृत्यु । यसरी सबै मानिसले पाप गरेका हुनाले सबै मानिसमा मृत्यु फैलियो ।” यसैले मानिसको रूपमा पाप गर्ने हाम्रो स्वभाव भएको छ । हामीले पाप गरेको कारण पापी ठहर्याइएका होइनौँ तर पापी स्वभाव भएको कारण पाप गर्न बाध्य हुन्छौँ । परमेश्वरको इच्छा सम्पूर्ण मानव जातिको लागि के हो भने प्रभु येशूमा विश्वास गरेर हामीले गरेका पापहरूबाट क्षमा पाउनु र पाप स्वभावबाट पनि मुक्त हुन सकौं । यसैकारण प्रभु येशू यस संसारमा उद्धारकर्ता वा मुक्तिदाताको रूपमा आउनु भएको हो । जो उहाँले आफ्नो मृत्युद्वारा पूर्ण गर्नु भयो । जस्तो कि बाइबल धर्मशास्त्रमा लेखिएको छ, “तर परमेश्वरले हाम्रा निम्ति उहाँको प्रेम यसैमा देखाउनुहुन्छ, कि हामी पापी छँदै ख्रीष्ट हाम्रा निम्ति मर्नुभयो (रोमी ५ः८)” । पापको कारणले परमेश्वरबाट टाढिएको मानव जाति प्रभु येशूको जन्म र मृत्युको कारण परमेश्वरसित मिलापमा आउन सम्भव भएको छ । मानव जातिको लागि यही आनन्दको सुसमाचार लिएर स्वर्गदूतहरू आएका थिए ।

२. यस घटनाले स्वर्गमा परमेश्वरको महिमा भएको छ ।
मानिसलाई आफ्नै स्वरूपमा, हाम्रै प्रतिरूपमा बनाऔँ । तिनीहरूले समुद्रका माछाहरू, आकाशका पंक्षीहरू, पालिने पशुहरू र जमिनमा चलहल गर्ने सबै जन्तुहरूमाथि अधिकार गरून । यसैकारण परमेश्वरले मानिसलाई आफ्नै स्वरूपमा सृष्टि गर्नुभयो । परमेश्वरकै प्रतिरूपमा उहाँले तिनलाई सृष्टि गर्नुभयो । नर र नारी नै गरी उहाँले तिनीहरूलाई सृष्टि गर्नुभयो । –उत्पत्ति १ :२६–२७
सृष्टिको मुख्य योजनाकारको रूपमा मानिसको लागि शुरुवातमा परमेश्वरको योजना थियो र मानिसलाई सोही अनुरूप सृष्टि गरिएको कुरा उपरोक्त पदहरूमा उल्लेख गरीएको छ । यहाँनिर दुष्ट या शैतानको उल्लेख्य भूमिका छ । किनभने परमेश्वरले दिनु भएका आज्ञाहरू तोडेर मानिसलाई पाप र मृत्युको अधिनमा ल्याउन उसैले छल गरेको छ । यसमा महत्वपूर्ण कुरा के छ भने पापको कारण मानवजाति र परमेश्वरको बीचमा भय र अविश्वासको खाडल खन्न शैतान सफल भएको देखिन्छ । तर परमेश्वर यस्तो परमेश्वर हुनुहुन्छ जो शुरुवातबाट नै अन्तसम्म हेर्न सक्नु हुन्छ र उहाँको सिद्ध योजना उहाँलाई नै थाहा छ । शैतानलाई वा मानिसलाई हैन । परमेश्वर पवित्र हुनुहुन्छ र मानिसलाई पनि पवित्र पार्ने उहाँको इच्छा हो । पवित्रता भनेको यस्तो अवस्था हो जहाँ पापको अस्तित्व हुँदैन, र हामी सबैलाई उहाँले पापरहित बनाउने इच्छा गर्नु भएको छ । यसको साथ साथै परमेश्वर सिद्ध पनि हुनुहुन्छ । सिद्धता भनेको पवित्रता भन्दा पनि माथिल्लो अवस्था हो, जहाँ पाप के हो ? सो थाहा पाएर स्वेच्छाले पापलाई यसको सबै आकर्षणसहित जरादेखि नै निर्मुल गरीएको हुन्छ । परमेश्वरको इच्छा हामी पवित्र मात्र हैन तर सिद्ध पनि हौँ भन्ने हो ।

प्रभु येशूको जन्म र क्रूसको मृत्युको कारणले मानिसको लागि पापको क्षमा पाउन र पाप स्वभाव निर्मूल पार्न सम्भव भएको छ । यो सिद्धताको शुरुवात हो र येशूमा विश्वास गरी आज्ञाकारी र समर्पित जीवनद्वारा क्रमिक रूपमा सिद्धतातर्फ अघि बढ्दै गरिन्छ । प्रभु येशूको जन्मले स्वर्गमा परमेश्वरको इच्छा पूर्ण भए जस्तै यस पृथ्वीमा पनि उहाँको इच्छा पूर्ण हुने सम्भव भएकोले परमेश्वरको महिमा भएको छ ।

३. पृथ्वीमा रहेका यस्ता व्यक्तिहरू जसले येशूमा विश्वास गर्नेछन, परमेश्वरसँग मिलाप भई शान्तिमा आउने छन ।
‘‘किनभने परमेश्वरले संसारलाई यस्तो प्रेम गर्नुभयो, कि उहाँले आफ्नो एकमात्र पुत्र दिनुभयो, ताकि उहाँमाथि विश्वास गर्ने कोही पनि नाश नहोस तर त्यसले अनन्त जीवन पाओस ।” –यूहन्ना ३ः१६ । उपरोक्त पदमा मानव जातिको लागि रहेको परमेश्वरको प्रेम र त्यसको फलस्वरुप येशूलाई यस संसारमा वलिदान हुनका लागि दिइएको कुरा उल्लेख छ । उद्देश्य के छ भने उहाँ येशूमाथि विश्वास गर्ने कोही पनि नाश नहोस अर्थात नर्क जान नपरोस तर अनन्त जीवन पाओस । नर्क जानु भनेको परमेश्वरदेखि टाढा जानु हो । अनन्त जीवन पाउनु भनेको मृत्युमाथि विजय पाउनु हो र सधै भरिको लागि परमेश्वरको उपस्थितिमा वा स्वर्गमा बस्नु हो । यो नै परमेश्वरँंग मिलाप हो । “यो सब परमेश्वरबाट भएको हो, जसले हामीलाई ख्रीष्टद्वारा आफूसँग मिलापमा ल्याउनुभयो, (२कोरिन्थी ५ः१८) ।” यसप्रकार सृष्टिको शुरुवातमा पहिलो मानिस आदमद्वारा शुरु भएको पाप र त्यसको फलस्वरुप व्याप्त भएको मृत्यु र नरकको खाडल दोश्रो मानिस येशूद्वारा नष्ट गरी पापको क्षमा, पाप स्वभावलाई निर्मूल गर्न र परमेश्वरसित मिलाप या शान्ति सम्भव भएको छ ।

यसर्थ, प्रभु येशू कुनै धर्मको प्रवर्तक हुनु हुन्न । उहाँले परमेश्वरको राज्यको प्रचार गर्नु भएको हो । आफ्नो व्यक्तिगत जीवनको पवित्रता र आश्चर्य कर्महरूद्वारा परमेश्वरको राज्य र त्यसको सामथ्र्यको प्रदर्शन गर्नुभयो । उहाँ मानव जातिको पापमोचनको लागि मानवरूप लिएर जन्म लिनु भएको र सबै पाप आफूमाथि लिएर क्रूसको मृत्यु मर्नु भएको र तेश्रो दिनमा बौरी उठ्नु भएको येशू अहिले प्रभुहरूका महाप्रभु र राजाहरूका महाराजाको रुपमा परमेश्वरको दाहिने बाहुलीमा विराजमा् हुनुहुन्छ । उहाँ एक दिन फेरि आउन हुन्छ तर त्यो दोश्रो आगमन उद्धारको लागि हैन, न्यायको लागि हुनेछ । बाइबल धर्मशास्त्रमा लेखिए अनुसारको उद्धारको समय अहिल्यै हो । एकमात्र परमेश्वर, मानव र परमेश्वरबीचको एक मात्र उद्धारकर्ता येशूमा विश्वास गरेर मुक्ति पाउने समय अहिल्यै हो ।
धन्यवाद ।।

-Sanjay Barma

Source: www.kamaladhikari.com.np / www.bachan.tv

Leave a Reply

Your email address will not be published. Required fields are marked *