ख्रिष्टियनहरुले देउसी भैलो खेल्न हुन्छ ? किन हुँदैन ?

ख्रिष्टियनहरुले तिहारमा देउसी भैलो खेल्न हुन्छ कि हुँदैन ?

हुन सक्छ धेरै ईशाई विश्वासीहरुको मनमा यो प्रश्नले अन्योल सृजना गरेको छ । विषेशगरी नयाँ विश्वासीहरुमा । सामान्यतया आफुले मान्दै आएको रिति तिथी, परम्परा पुर्ण प्रमाणीत वा ठोस कारण नभई तुरुन्त छोड्न जो कोहीलाई पनि गाह्रै पर्छ । आशा छ यदि कोही यस्तो खालको दुविधामा हुनुहुन्छ भने यो सामाग्रीले सत्य थाहा पाउन केही हद सम्म सहायता गर्नेछ भन्ने आशा लिएको छु ।
प्रायजसो जवानहरु अन्जान भएकै कारण देउसी भैलोमा सहभागी हुने गर्छन । देउसी भैलो ईशाईहरुले खेल्न हुन्छ या हुँदैन भन्ने सम्बन्धलाई एउटा निर्णय गर्नु भन्दा पहिला देउसी भैलो किन खेलिन्छ भन्ने यर्थात बारे जानकारी लिनु आवश्यक हुन्छ ।
देउसी भैलो तिहारमा खेल्ने गरिन्छ ।
तिहार हिन्दु धर्मावलम्बीहरुको दशैं पछिको सबैभन्दा ठूलो पर्व हो । हिन्दु शास्त्र अनुसार यो पर्व कात्र्तिक कृष्ण पक्ष त्रयोदशीका दिन काग तिहारको नामले शुरु भएर कात्र्तिक शुक्ल पक्षको द्वितीया तिथिको भाइटीकासम्म अर्थात(पाँच दिन) मनाइन्छ । पाँच दिनसम्म मनाइने पर्व भएकाले यसलाई यमपञ्चक पनि भनिन्छ । यो पाँच दिवसीय पर्व विशेष गरी नेपालमा मनाइन्छ त्यस पछि भारतमा र अन्य देशहरुमा पनि मनाईन्छ जहाँ जहाँ हिन्दू धर्मावलम्वीहरुको बसोबास हन्छ । हिन्दू धर्मावलम्वीले दीपावली (दिवाली) को रुपमा यस पर्वलाई धूमधामसाथ मनाउँछन । यस पर्वको नाम हिन्दी शब्दको “त्योहार” शब्दबाट विकृत हुँदै तिहार बनेको अनुमान लगाइन्छ । यसलाई दीपावली अनि दिवाली नामले पनि चिनिन्छ । शास्त्र अनुसार यमराजले आफ्नी बहिनी यमुनाका घरमा आतिथ्य ग्रहण गरेको हुनाले यी पाँच दिनलाई यमपञ्चक भनिएको हो । यही दिन भगवान धन्वन्तरीको जन्म भएको हुनाले यसलाई धन्वन्तरी जयन्ती वा धनतरेस पनि भनिन्छ । यसै दिन साँझमा घरको मूलद्वारको सामु यमराजलाई दीपदान गर्नाले मृत्युदेव प्रसन्न भई आरोग्यता तथा दीर्घजीवन प्रदान गर्छन भन्ने विश्वास छ अर्थात त्यो घरमा कहिल्यै पनि अपमृत्यु वा अल्पमृत्यु हुँदैन भन्ने मान्यता छ । यमपञ्चकमा क्रमशः काग, कुकुर, गाई, लक्ष्मी, गोवर्धन र भाइ पुजा गरिन्छ । पिङ खेल्ने, दीपावली गर्ने र देउसीभैलो खेल्दै सेलरोटी आदि मिष्ठान्न खाई रमाइलो गरी तिहार मनाउने गरिन्छ ।
अब बुझौं देउसी भैलो किन खेलिन्छ ?
हिन्दु शास्त्र अनुसार अयोध्यावासीहरूले आफ्ना परम प्रिय राजा श्रीरामका आगमनमा खुशियाली मनाएका थिए । राजाको स्वागतमा अयोध्यावासीहरूले घिउका दियोहरू बालेका थिए । कार्तिक महिनाको बाक्लो कालो अमावस्याको त्यो रात्रि दियोहरूको उज्यालोले जगमगाएको थियो । मानिसहरूले घर–घरमा, गल्ली–गल्लीमा “देव श्रीराम” (हाम्रा राम देउता हुन) को नारा लाउँदै घुमेका थिए । यसरी समय क्रम सँगै देव श्रीरामबाट विकृत हुँदै “देउसिरी राम, देउसिरे, अनि देउसी” भएको अनुमान गरिन्छ । सोही परम्परालाई मान्दै आजपनि हिन्दु धर्मावलम्बिहरू देउसी खेल्दै हिंड्ने चलन छ । देउसी खेल्ने टोलीलाई देउसे भनिन्छ र उनीहरूमा एउटा भट्याउने र अरु भट्याउनेको पछि पछि देउसिरे भन्ने हुन्छन ।
यसैगरी देउसीको पछि एउटा अर्को कथा पनि जोडिएकोछ । भनिन्छ एक जना बलि भन्ने राजा पृथ्वीमा राज्य गर्थे, उनी अति नैं दानी थिए, प्रत्येक दिन दान नगरी उनी केही खाँदैन थिए । यस पुण्यको प्रतापले स्वर्ग लोकहरू हल्लिन थाले र देवताहरूले भगवान विष्णुको प्रार्थना गरे त्यसपछि विष्णुले बलिलाई दमन गरी पाताल पु¥याउने आश्वासन दिए । त्यसपछि विष्णु वामन (बाहुन्ने) को रुप लिएर बलिराजालाई छल्न त्यहाँ गए र तीन पाउ जमिन दानको याचना गरे यसमा बलिले सोचे यो ब्राह्मण त्यसै त सानो छ र यसका पाउहरू पनि अति साना छन र यसले अति थोरै जमिन माग्यो भन्ने भ्रममा परे र वबमनको याचना पुरा गरिदिने संकल्प गरिदिए । तर बलिराजाले दान संकल्प के सकेका थिए वामनको रुप विराट भयो र एउटै पाउले समस्त पृथ्वी ढाकिदियो र अर्को पाउले आकाश, त्यस पछि तेस्रो पाउ भरिको जमिन कहाँबाट दिने भनी बलि अन्योलमा परे र उनले आफ्नो टाउको थापे, शिरमा विष्णुको पाउ पर्ना साथ बलि भासिएर पाताल पुगे, अन्त्यमा विष्णुसित उनले प्रार्थना गरे कि उनलाई वर्षमा एक पल्ट तिहारको बेला पृथ्वी घुम्ने अवसर दिइयोस, यस प्रार्थनालाई विष्णुले स्वीकारेर बलिलाई वर्षमा एकपल्ट पृथ्वीमा आउने अनुमति दिए र बलि यहि तिहारको मौकामा घुम्न आउँछन भन्ने विश्वास गरी बलिको स्वागतमा दीप जलाइएको भन्ने पनि भनाई छ । देउसेहरू बलि राजा आउन नभ्याएको र उनीहरूलाई बलिले पठाएको भनी देउसी भट्याउनेले भन्छन । स्त्रीजातिहरूले पनि बलिको स्वागतमा बलि गीतको विकृतरुप भैली गीत गाउँछन र औंसीको रातभरि भैली खेल्छन ।
यसरी अन्य शास्त्रको विवरण र किंवदन्तीहरु भन्दा ईशाई आस्थाको बाईबल पुर्णत फरक छ । देउसी भैलोको इतिहास बुझ्दा देवी देवता र मुर्तिपुजालाई नै मानेको पाईन्छ । अन्य देवी देवता पुज्ने र मुर्तिपुजा गर्ने विषयमा बाईबलमा स्पष्ट लेखिएको छ ।
प्रस्थान २०ः३ “म बाहेक अरु कुनै देवी देवताहरु नमान्नु ।”
१ कोरिन्थी १०ः१४,२० “यसकारण मेरा प्रिय हो, मूर्तिपूजाबाट अलग बस ।” “मुर्तिपुजकहरुले जो बलि चढाउँछन, त्यो परमेश्वरलाई होइन तर भूतप्रेतलाई चढाउँछन्, र तिमीहरु भूतप्रेतसँग सहभागी होओ भन्ने म चाहन्न ।”
कतिपयको विचारमा हामी भट्टयाउने हैन क्यारे, पछाडी उँभिदैमा के हुन्छ र ? सहभागी हुने त हो नि भन्ने विचार हुन्छ । यसै सन्र्दभमा अभिभावकहरुले पनि अनुमति दिन्छन । हाम्रो समाजमा यस्ता घटनाहरु प्रशस्तै भेटिन्छन ।
यस विषयमा भट्टयाउने अरु नै भए पनि याद गर्नुहोस कसको नाममा भट्टयाइन्छ ? के देउसी येशूको नाउँमा खेलिने हो ? हैन । बाईबलमा यसरी भनिएको छ ।
२ कोरिन्थी ६ः१४(क) “अविश्वासीहरु सँग एउटै जुवामा ननारिओ ।”
कतिको यस्तो भनाई पनि हुन्छ, यदि हामी उनिहरुको पर्वमा सहभागी भएनौ भने उनिहरु पनि कसरी हाम्रो कार्यमा सहभागी हुन्छन त ? अनि कसरी हाम्रो सु–समाचारमा उनिहरुले विश्वास गर्छन त ?
हो यो हामीले चिन्ता गर्नेे विषय होइन । सु–समाचार प्रचार गर भन्ने परमेश्वरको आज्ञा हो, प्रचार गर्नु हाम्रो कर्तव्य हो । विश्वास गर्ने नगर्ने सुन्नेको दायित्व हो । पानिको मुहान देखेकोले अरुको लागी मुहान देखाउन मात्र सक्छ अरुको निम्ति पानि पिइदिन सक्दैन । तिर्खालु आफैले पानि पिउनु पर्छ । त्यस्तै हामीले विश्वास गरेका छौं र अरुलाई सु–समाचार प्रचार गर्छौ कसैको निम्ति आफैले विश्वास गरिदिन सक्दैनौ । विवाह भए पछि उसलाई पनि विश्वासी बनाउँछु, उ सँगै मन्दिर गएर येशुको बारेमा भन्छु र विश्वास गराउँछु, उसलाई सु–समाचार सुनाउन उ सँगै म पनि अलिकति मदिरा पिइदिन्छु जस्ता वहानामा धेरै जना परिक्षामा परेका छन । किनकि यस्ता वहानाहरु भनेको शैतानलाई मौका दिनु हो । एफिसी ४ः२७ मा लेखिएको छ । “दियावलसलाई मौका नदेओ ।”
अनि कसै कसैले बाईबलमा पावलले भनेको केही कुरालाई लिएर आधार बनाउन खोज्छन । जस्तैः
१ कोरिन्थी १०ः३१ “यसकारण चाहे तिमीहरु खाओ, अथवा पिओ, वा तिमीहरु जेसुकै गर, सबै परमेश्वरको महिमाको निम्ति गर ।”
अब सोच्नुहोस, के अन्यजातीहरुको देवी देवता वा मुर्तिपुजा गर्ने कार्यमा सहभागी भएर परमेश्वरको महिमा हुन्छ ? कदापी हुँदैन । परमेश्वरको महिमाको निम्नि जे सुकै गर भन्नुको अर्थ मुर्तिपुजामा सहभागी हुनु भनेको हैन । तिनै पावलले रोमीको पुस्तकमा भनेका छन्,
रोमी १२ः२ “यस संसारको ढाचामा नचल, तर आफ्नो मनमा नयाँ भई पूर्ण रुपले परिवर्तित होओ, र परमेश्वरको असल, ग्रहणयोग्य र सिद्ध इच्छा के हो, त्यो तिमीहरुले जाँच्न सक ।”
यसकारण संसारको ढाचामा चलेर परमेश्वरको महिमा गर्न सम्भव छैन ।
यसर्थ निर्णय यही नै हो ईशाईहरु अर्थात ख्रिष्टियनहरुले देउसी भैलो खेल्न हुँदैन । यस विषय जतिनै दुविधा भए पनि वचनले हामीलाई यही नै सिकाउँछ कि आफ्नो मनमा नयाँ भई पूर्ण रुपले परिवर्तित हुनुपर्छ र परमेश्वरको असल, ग्रहणयोग्य र सिद्ध इच्छा के हो, त्योे जाँच्न सक्नु पर्छ । यसो गर्न ख्रिष्ट हामी सँग हुनु पर्छ, ख्रिष्ट हामीसँग हुन उहाँको वचन पालन गर्नु पर्छ, वचन पालन गर्न ख्रिष्ट येशूलाई प्रेम गर्नु पर्छ । जसो लेखिएको छः यूहन्ना १४ः२३ “जसले मलाई प्रेम गर्छ, त्यसले मेरो वचन पालन गर्नेछ, र मेरा पिताले त्यसलाई प्रेम गर्नुहुनेछ, र हामी त्यसकहाँ आउने छौं, र त्यससँग वास गर्नेछौं ।”
आमिन ।।

भजनसंग्रह १ः१–३
धन्य हो त्यो मानिस ।
जो दुष्टहरुको सल्लाहमा हिँड्दैन,
जो पापीहरुको मार्गमा खडा हुँदैन,
अनि गिल्ला गर्नेहरुको संगतमा बस्दैन ।
तर परमप्रभुको व्यवस्थामा नै त्यो खुशी रहन्छ,
र त्यसले दिनरात उँहाकै व्यवस्थामा मनन गर्छ ।
त्यो खोलाको किनारमा रोपेको बोट जस्तै हुन्छ,
जसले आफ्नो ऋतुमा फल दिन्छ,
अनि जसको पात कहिल्यै ओईलाउँदैन ।

आमिन । आमिन ।।

यो भिडियो र लेख शेयर गरिदिनुहोस । तपाँईको एक शेयरले कोही अन्जानले वास्तविकता थाहा पाउन सक्छन् । धन्यबाद ।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *