पास्टर भोजराज भट्टको जीवनका आरोह-अवरोहहरू भाग २ः विदेश पढ्दाको पहिलो अनुभव

पहिलो भागमा राखिएका मेरा तीता–मीठा अनुभवहरूलाई मेरा पाठक मित्रहरूले सकारात्मक रूपले लिनुभएको पाउँदा त्यो लेखेकोमा मलाई खेद छैन। अर्को अंशलाई रूपरेखाकै रूपमा भए पनि पुस्तकमा राख्‍नुभन्दा पहिले सामाजिक सञ्जालमार्फत यहाँहरूको सामु राख्‍न मन लाग्यो। मेरो जीवनलाई पाठकको सामु यसरी उदाङ्गै पारेर खोल्नुको मुख्‍य उद्देश्य बल्यकालबाटै जीवनसँग हारेको मानिसको जीवनमा पनि परमेश्वरले कसरी अर्थ र सामर्थ्य दिनुहुन्छजीवन जिउने रहर थप्नु हुन्छर आफ्नो महिमाको लागि प्रयोग गर्नु हुँदोरहेछ भन्ने प्रमाण पेस गर्नु हो। बाइबलको परमेश्वर मेरो लागि कुनै आदर्श वा दर्शन होइनउहाँ मेरो जीवनको यथार्थ हुनुहुन्छ कारण उहाँको हात मेरो जीवनमा नभएको भए जीवनको दुई दशक नपुग्दै म संसारबाट बिदा भइसक्थें। येशू प्रभुलाई यो जीवन सुम्पेपछि पनि मेरो सामु यस्ता उतार–चढावहरू आए जसमा मेरो मानवीय क्षमताले जीवनको नावलाई कुनै हालतमा पनि पार लाउन सक्ने थिएन। नेपालमा गनिएका यस्ता मानिसहरू मेरो विरुद्धमा उभिए कि मेरो पतन निश्चित थियो। तर आज जे छुजस्तो छु र जहाँ छुत्यसमा प्रत्यक्ष प्रभुको हात मेरो जीवनमा भएको कारण हो। आशा छ, मेरो कथा र व्यथाहरूले तपाईंहरूलाई त्यो परमेश्वरको नजिक ल्याउनेछ जसले तपाईंको जीवनमा सोचेको वा चिताएको भन्दा अझ ठूलो काम गर्न सक्नुहुन्छ। वचनले भन्छआँखाले नेदेखेका र कानले नसुनेका र मानिसले मनमा नसोचेकायी नै कुरा परमेश्वरले उहाँलाई प्रेम गर्नेहरूका निम्ति तयार पार्नुभएको छ” (१कोरन्थी २:९)। प्रिय मित्रत्यो परमेश्वरलाई जीवन दिनुहोस् जसले यी महान् कुराहरू तपाईंको जीवनमा पूरा गर्न चाहनुहुन्छ।  अहिले तपाईंको अवस्था  जतिसुकै नाजुक भए पनि, मानिसले तपाईंलाई जतिसुकै हेलाँ गरेपनि, जीवन अन्धकार र आशाहीन भए पनि यदि परमेश्‍वरको वचनलाई सिरोपर गर्नुभयो र उहाँले भनेको सबै कुराहरू सम्भव हुनेभएकाले हरेस नखाएर त्यो उज्वल भविस्यको सपनालाई दिन रात आफ्नो हृदयमा खेल्न दिनुभयो भने एक दिन त्यो सपना तपाईंको जीवनमा पक्का साकार भएर आउनेछ।

मेरो जीवनको कुरा गर्दादुर्गम जिल्ला डोटीमा मेरा पहिला १६ वर्ष बितेत्यसपछि ४ वर्ष धनगढीमा र ४ वर्ष भारतको बैंगलोरमा।  बैंगलोरमा पढ्नजानेबेलासम्म अङ्ग्रेजीको एक वाक्य पनि म मुखबाट निकाल्न सक्दैनथें।  सपना त थियो अंग्रेजी बोल्ने।  जुन दिन एउटा गोरा मिसनरीको सामु मेरो खिल्लि उडाईएको थियो, त्यसै दिन देखि मैले प्रभुसँग यो भाषामा वचन प्रचारगर्नसक्ने बनाउनुहोस् भनेर माँगेको थिए तर सिक्ने र बोल्ने कुनै मौका मिलेको थिएन।  कलेजको पहिलो सेमेस्टर एउटा लाटो जस्तै भएर मैले विताएँ।  परिक्षामा कुनै पनि विषयमा राम्रो अंक ल्याउन सकिएन।  पछि थाहा भयो कि बर्षको अन्त्यमा पनि केही प्रगति गरिएन भने अर्को साल पढ्न नपाईने रहेछ।  मेरो दयनिय अवस्था देखेर नागाल्याण्डको साथिले (एन्जालो काथ) मलाई दिन रात अंग्रेजी सिकाउन थाल्यो र मैले पनि विस्तारै बुझ्दै गए।  एन्जालोलाई परमेश्वरले मेरो लागि नै त्यो स्कूलमा पठाएको रहेछ कारण उ दोस्रो बर्ष स्कूल फर्किंदै फर्केन र आजसम्म पनि भेट भएको छैन। 
 
त्यो कलेजमा पढ्दा मेरो जीवनमा प्रभुले धेरै अचम्मका काम गर्नुभएको छ जुनकुराहरू पुस्तकमा उल्लेख हुने नै छन्।  मेरो श्रीमतीलाई पनि मैले त्यसै कलेजमा भेटें र जब दिक्षान्तको दिन आयो, त्यो दिन कलेजका डिनले “भट्ट भाई कच्चा पदार्थजस्तै ४ बर्ष अघि यहाँ आएको थियो तर आज उ एउटा उत्तम प्रशोधित् बस्तु भएर निस्किंदैछ” भन्दै मलाई मेरो ब्याजको पढाईमा सबैभन्दा उत्कृष्ट विद्यार्थिलाई दिईने स्वर्ण पदक दिनुभएको दृष्य अहिलेसम्म आँखामा झझल्किन्छ।  पहिलो सेमेस्टरको लाटोलाई अन्तिम सेमेस्टरमा उत्कृष्ट विद्यार्थिले पाउने स्वर्ण पदक प्राप्तीकासाथै स्पस्ट अंग्रेजी बोलेर श्रीमती फकाउनसक्ने र वचन पनि प्रचारगर्नसक्ने प्रभुले बनाउनुभयो!     
 
बैंलोरको पढाई पछि बाइबल शिक्षकको नाताले काठमाडौंमा पाइला टेक्दा म २५ वर्षको थिएँ। नेपाली ईसाई जगतमा न मैले कसैलाई चिनेको न त कसैले मेरो नाम सुनेको थियो। मेरो संसार एस्सेम्ब्लीज आफ गड (अब उप्रान्त एजी चर्च) को १ वर्षे बाइबल स्कूलको कक्षा कोठामा सीमित थियो। २६ वर्षको उमेरमा पास्टरीय सेवाको लागि भनेर अमेरिकन मिसनरीले चलाइरहेको चर्चमा  ६ महिना बिताउन पुगें। ती ६ महिना मेरो लागि आशिष् र श्रापको मिश्रित पोका भएर आए। त्यो चर्चमा बस्न नसकिने देखेर जब म मेरी बिरामी श्रीमतीलाई लिएर खालि हात निस्केर आएँसारा एजी चर्चको नेतृत्व मेरो विरुद्ध सशक्त रूपमा उत्रियो कारण ती मिसनरीको कार्य–शैलीको विरोध गर्नु भनेको त परमेश्वरकै विरोध गर्नुसरह रहेछ उहाँहरूको लागि।  नेपालभरि मलाई एउटा ख्रीष्ट विरोधीकै रूपमा प्रस्तुत गर्न सफल भएछन् मेरा एजीका दाइहरू। हिजो–अस्ति मेरो नामै नसुन्नेहरू पनि छक्क पर्न थालेछन् कि यस्तो महान् र एकमात्र पवित्र एजी र त्यसमा पनि एजीकै देउतालाई प्रहार गर्ने मानिस भोजराज भट्ट कस्तो दुष्ट होला भनेर!  तर अर्कोतिर विभिन्न बाइबल स्कूलहरूमा पढाउन थालेपछि ५ वर्ष काठमाडौंमा सङ्घर्षको भुमरीमा हुँदाहुँदै थाहै नपाएर बितेछन्।
 
बाइबल शिक्षकको नाताले आफ्नो शैक्षिक योग्यता बढाउने रहर पनि थियो र त्यसै बेला थप अध्ययनको लागि कोरियाको एउटा सेमिनरीमा निवेदन पनि हालें तर जाने टिकट आफूसँग नभएको कारण मैले पढाउँदै गरेको एउटा बाइबल स्कूलमा आफ्नो कुरा राखें। विद्यार्थीको मनमा आफूलाई एउटा चाखलाग्दो बाइबल शिक्षक र उनीहरूको जीवनमा सेवाको निम्ति चाहिने उत्साह पनि हाल्न सफल भएको अनुभवको कारण फर्केर आएपछि पनि त्यसै स्कूलमा पढाउने वचन दिएको कारण उनीहरुले एकतर्फी भाडा हालिदिए र मेरो कोरियाको यात्रा शुरू भयो।
 
बाइबल स्कूलहरूमा पढाउँदा पढाउँदै आशा मण्डलीले पनि काठमाडौंमा जरा गाडिसकेको थियो। हाम्रो मण्डली त्यतिबेला चुच्चेपाटी र टुसालको बीच हायात होटेलको गेटअगाडि राजेन्द्र बाबु श्रेष्ठको घरको छिँडीमा थियो। ४०-५० जना सदस्यहरू थियौं। मेरी श्रीमतीलाई ४ वर्षे छोरो र मण्डली जिम्मा दिएर म १९९८मा कोरियातिर लागें। जाने हप्ताको अन्तिम सेवामा मैले आशा मण्डलीलाई भनेको कुरा सायद कति पुराना विश्वासीहरूलाई अझै पनि याद होलामैले अन्तिम सन्देशमा भनेको थिएँ कि म केवल पढाइको लागि जाँदैछु। मण्डलीको नाममा र सेवा गरेको कारण म कहिल्यै कसैसँग भीख माग्नेछैनँ र मलाई मेरो लुगाफाटाको लागि तपाईंहरूले नै सहायता गर्नुपर्ने हुनसक्छ। अन्य विदेश गएका पास्टरहरूलाई देखेर हाम्रो पास्टरले पनि पैसाको भारी ल्याउँछ भनी सोच्नुभएको भए आज नै त्यस्तै मण्डलीतिर जानुहोस् कारण म फर्केर आउँदा मेरो आर्थिक अवस्था योभन्दा पनि नाजुक हुनसक्छ भन्दै म बिदा भएको थिएँ। हुन त मेरा कुरा विश्वासीले पत्याए वा पत्याएनन् भन्न गाह्रो छ र यति बेलाका धेरै रोचक पक्षहरूको बारेमा यहाँहरूले मेरो किताबलाई नै पर्खनुपर्छ होला।
 
कोरियाको अध्यनको यात्रामा पहिलो वर्ष राजकुमार रानाभाट भाइ र म गरी २ जना नेपाली विद्यार्थी थियौं टोर्च ट्रीनिटी स्कूलमा। राजकुमार भाइलाई काठमाडौंमै एउटा बाइबल कलेजमा पढाएको थिएँ तर त्यहाँ हामी एउटै कक्षामा पढ्यौं। कोरिया पुगेपछि स्कूलको नियमअनुसार जुन मण्डलीले हाम्रो फिस तिरिदिन्थ्यो त्यसै मण्डलीमा शनिबार र आइतबार काम गर्नुपर्ने रहेछ। फिस तिरेर महिनामा ५० डलर जति पाकेट खर्च पनि स्कूले नै हामीलाई दिन्थ्यो। वास्तवमा त्यहाँका स्कूलहरूले पनि गरिब देशबाट आएका विद्यार्थीलाई लिलाम नै गर्दारहेछन्। फिसको नाममा जुन मण्डलीले स्कूललाई बढी अनुदान दिन्थ्यो त्यसैमा अलि अनुभवीहरूलाई सेवा भनौं वा कामको लागि स्कूलले पठाउँदो रहेछ। हामी दुवै भाइलाई बुन्दाङ सेन्ट्रल चर्चलाई खुसी पार्न स्कूलले त्यहाँको अङ्ग्रेजी सेवाको लागि पठायो। हुन त त्यो निकै प्रभावशाली मण्डली थियो तर राजकुमार भाइ पनि मजस्तै लाटो मान्छेकरिब ३ महिनासम्म हामी दु:ख गरेर पाकेट खर्चबाट बचाएको पैसाले गाडीभाडा तिर्दै त्यो मण्डलीको अङ्ग्रेजी सेवामा सहायता गर्‍यौं। ‘हामीले यिनीहरूको फिस तिरेका छौं’ भन्दै मण्डलीले पनि हामीलाई वास्तै नगरेर काममा मात्रै घोटाउँदो रहेछ। हामी माथिको पास्टर पनि छुङ्सीन सेमिनरीको शिक्षक रहेछन्।  पार्टटाइम तलबको लागि मात्रै त्यो अङ्ग्रेजी सेवामा आइतबार आउँदो रहेछन्। उनलाई पनि आफ्नै दुनो सोझ्याउनु थियो।हाम्रो दु:खको बारेमा उनलाई के मतलब! त्यसमा पनि गरिब देशका विद्यार्थी भनेपछि उनको अनुहारै अँध्यारो हुन्थ्यो। कता कता हामीसँग उनलाई घीन लागेको जस्तो देखिन्थ्यो।     
 
शुरूको वर्षमा हाम्रो स्कूलको आर्थिक अवस्था निकै राम्रो रहेछ। खाने बस्ने व्यवस्था अति नै राम्रो थियो। एउटै होस्टेलमा शिक्षक र विद्यार्थीहरू बस्थे र एउटै भान्सामा खान्थे। तर त्यो बेलाको स्कूलको डीनचाहिँ निकै विचारशील व्यक्ति रहेछन्। प्राय: बिहानको नास्ताको बेला खानाको प्रार्थनाभन्दा पहिला उनी भन्ने गर्थे तिमीहरू साह्रै भाग्यमानी रहेछौ। यस्तो खाना र बस्न हामीले पनि जीवनमा सोचेका थिएनौं। त्यसकारण तिमीहरू कोरिया देश र कोरियन मानिसप्रति सधैं धन्यवादी हुनुपर्छ। शुरूका दिनमा खाने बेला यस्तो सुन्दा अनौठो लागे पनि खासै त्यति फरक परेन तर जब धेरै पटक यस्तो महावाणी सुन्दै जाँदा कोरियन मित्रप्रति भएको आदर पनि घट्दै गएको अनुभव हुन थाल्यो। कसैले दया देखाएमा जीवनभरि उसको ऋणी भएर जिउनु पर्ने कोरियाको संस्कृति रहेछयो कुरो आफूलाई शुरूमा थाहा भएन। जे होस्,सुनेको र अनुभव गरेकोमा धेरै फरक हुँदोरहेछ।
 
तीन महिना बितिसकेका थिए। पाकेट खर्चबाट बचाउँदै गरेको भाडा तिरेर मण्डलीमा सेवा गरी नै रहेका थियौं। एक दिन अमेरिकी शिक्षक डक्टर मार्क सेन्टरले बिहानको नास्ताको बेला खुसीको खबर सुनाउनुभयो र भन्नुभयो भट्ट भाइ, तपाईंलाई अङ्ग्रेजीमा सेवा गर्न गाह्रो छैन त्यसकारण डक्टर बिली किमको चर्चमा एउटा पास्टर खोजेको छ। तलब पनि हजार डलर जति छ। मन छ भने निवेदन हाल्दा राम्रो होला। शुरूमा त के खोज्छस् कानो आँखाजस्तै लाग्यो तर विचार गरें। स्कूलले हामीलाई निश्चित चर्चमा खटाएको छछोड्न मिल्छ कि मिल्दैन होला। हुन त हामी दुई भाइको काम नै थिएन हामी गइरहेको मण्डलीमा। बेला बेलामा मैले अगुवाइ गर्थेंप्रचारक त्यो प्रोफेसर थियो नै र राजकुमार भाइ खालि उपस्थित मात्रै हुनुपर्थ्यो कारण अङ्ग्रेजी सेवामा मानिस पनि धेरै थिएनन्। डक्टर सेन्टरले भन्नुभएको कुरा टेबलमा सबैले सुनेका थिए। नास्ता पछि राजकुमार भाइले सरके गर्नुहुन्छ त?” भनेर मलाई सोध्नुभयो त्यस विषयमा। मनमा त जान मन लागेको थियो। हजार डलर महिनामा कमाउन सके यता श्रीमतीलाई सकी–नसकी ४ वर्षे छोरालाई बोकेर बाइबल स्कूलहरूमा पढाउन पनि जानु पर्ने थिएन। मण्डलीलाई पनि पानी आउने छिँडीबाट राम्रो कोठामा सार्न सकिने थियो। ‘खै के गरौं भाइ’ भन्दै हामी स्कूलतिर लाग्यौं त्यो दिन। दिनभरि सोचेंविचार गरें र अन्तिममा साँझ फर्किने बेला ‘दु:ख भए पनि स्कूलले पठाएको ठाउँ छोड्न मिल्दैन होला भाइ’ भनेर मैले राजकुमार भाइलाई आफू नजाने कुरा भनें। कुरा गर्दै जाँदाभाइले भन्नुभयो, “सरत्यो मण्डलीमा हामी दुई जनाको कामै छैनयदि तपाईं जानुहुन्न भने म प्रयास गर्छु। नभन्दै कुरा मिल्यो र भाइ त्यता जानुभयो (तर सोचेजस्तो रहेनछ त्यो मण्डली पनि र भाइले धेरै दु:ख पाउनुभयो)।
 
कम्तीमा पहिला त साथी थियो तर अब म एक्लै जानुपर्ने भयो त्यो मण्डलीमा जहाँ मैले खाएँ कि भोकै कसैलाई मतलब थिएन। अङ्ग्रेजी सेवा गर्नेहरूलाई किन हो किन अनौठो नजरले हेर्ने चलन रहेछ मण्डलीहरूमा र पछि मात्रै थाहा भयो कि आफूले अङ्ग्रेजी नजानेको कारण यस्ता मानिसबाट टाढै बस्दा रहेछन् कोरियन मित्रहरू। कोरियन भाषा बोल्न जानेमा उनीहरू अति नै नजिक हुने र साह्रै वास्ता पनि गर्दा रहेछन् तर आफूलाई स्कूलको डीनले दिन दिनै कोरिया देश र कोरियनहरू प्रति मीठो खाना पाएकोमा धन्यवादी हुनु भनेको कारण कोरियन भाषासँग पनि एलर्जी हुन थालेको कारण सिक्नै सकिएन र सिक्न मन पनि लागेन। ममाथिको पास्टर पनि अमेरिकामा पढ्दा विदेशीले हेला गरेको कारणविदेशी देखेपछि उसलाई पनि एलर्जी नै हुँदोरहेछ। उ त्यहाँ रहुञ्जेल हाम्रो साढगाढ मिल्दै मिलेन। मैले जे गरे पनि उनलाई खुसी पार्न सकिएन। हरेक आइतबार मेरो लागि बडो कठिनको यात्रा हुन्थ्यो होस्टेलबाट चर्च जानको लागि।
 
पछि थाहा भयो कि त्यहाँ यस्ता अरू मण्डलीहरू पनि रहेछन् जहाँ सेवामा उपस्थित मात्रै भैदिएमा एक छाक खाना र २० डलर जति पाकेट खर्च पनि पाइँदो रहेछ र साथीहरू त कम्तीमा २ वटा यस्ता चर्चमा भ्याउँदा रहेछन् हेरक हप्ता। ती चर्चको मुख्य उद्देश्य नै गरिब देशबाट आएका विद्यार्थीहरूलाई यसरी नै सहयोग गर्नु रहेछ र कोरियाभरिका बाइबल स्कूलमा पढ्ने साथीहरूलाई भेट्नु परेमा ती चर्चमा जाँदा प्राय सधैं त्यहाँ भेट हुँदो रहेछ। एक दुई चोटि रिसको झोँकमा आफ्नो मण्डलीलाई आज म आउन सक्दिनँ” भनेर म पनि त्यता पुगेको थिएँ र धेरै साथीहरूलाई त्यहाँ देख्दा अचम्म लाग्यो। बिहानै त्यो मण्डलीमा कामकाज सिध्याएर साथीहरू बल्ल स्कूलले पठाएको ठाउँमा जाँदो रहेछन् तर राजकुमार भाइ र मलाई सायद अति नै पवित्र या लाटो के भन्ने?  त्यहाँ जाँदा शान्ति नै भएन र समय पनि मिलेन।
 
यसरी निराशको भारी बोक्दै चर्चको सेवाको लागि गरेको यात्राको नौ महिना बितेछ। तर अङ्ग्रेजी सेवामा मानिस पनि घट्दै गए र अन्तिममा मण्डलीले ममाथिको अङ्ग्रेजी पास्टरलाई असफलको अभियोगमा बिदा दियो। विश्वासीको सङ्ख्या घटेमा कुनै पनि पास्टरको जागिर जानसक्छ कोरियामा। मण्डलीको तर्फबाट राम्रो अङ्ग्रेजी बोल्ने डिकन सुङ ईन किमलाई सेवाको निर्देशक बनाएर मलाई प्रचारकको रूपमा घोषणा गरियो। पास्टरको रूपमा मेरो औपचारिक अभिषेक नभएको कारण मलाई पूर्ण पास्टरको रूपमा मण्डलीले लिन सकेन। प्रभुभोजको दिन कोरियन विभागकै पास्टर आएर दिन थाले प्रभुभोज। तर नेपालीले पनि अङ्ग्रेजीमा प्रचार गर्छ भन्ने सुनेर धेरै मानिसहरू सेवामा मलाई हेर्नको लागि मात्र भए पनि आउन थाले र मण्डलीको मन जित्न प्रभुले मलाई सहायता गर्नुभयो। कोरियन मित्रको नजरमा एउटा नेपालीले अङ्ग्रेजी बोल्न सक्छ भने हामी पनि सक्छौं भन्ने आँट आएको कारण होला सेवामा सङ्ख्याको वृद्धिले सबैलाई चकित पार्यो। खै कुन्नि मेरो बोलिमा के छएकचोटि सुनेपछि मण्डलीका विश्वासी मित्रहरू साह्रै नजिक हुन जान्छन् भने अगुवा पास्टरहरू मेरो आवाजै सुन्न चाहँदैनन्।
 
हिँउदे छुट्टी पनि आयो। कोरियामा झण्डै एक वर्ष बितेछ। नेपाल आउनको लागि टिकट किन्न सक्ने कुनै सम्भावना थिएन। डक्टर मार्क सेन्टर नेपाल आउने भएको कारण श्रीमती र छोराको लागि फ्ली मार्केटबाट (फुटपाथमा हप्ताको एक दिन लाग्ने बजार जहाँ पुराना सामान सस्तो दरमा किन्न पाइन्छ) नेपालबाटै लगेको सुटकेस भरेर लुगा पठाइसकेको थिए। काठमाडौंको जाडोलाई सम्झेर एउटा राम्रो ब्लाङ्केट ५ डलरमा भेटें र त्यो पनि उहाँकै हातमा पठाएको थिएँ। परिवारबाट टाढा रहनुको पीडा त केवल विदेश जाने दाजुभाइहरूलाई मात्रै थाहा हुन्छ होला। छुट्टी कसरी बिताउने भन्दै मन उदास हुन थाल्यो कारण स्कूलले छुट्टी दिए पनि चर्चले छुट्टी दिएको थिएन। कुनै कुनै साथीहरू त लुकेर कारखानामा हाजिरमा काम पनि गर्दा रहेछन् तर आफूलाई नियम विपरीत जानै मन नलाग्ने र कारखानामा काम गर्न त शरीरले पनि साथ नदिने।
 
एक दिन चर्चमा आइतबारको सेवा सकेर टेबुल–कुर्सी मिलाउँदै गर्दा डिकन किमले सोध्यो, “छुट्टीमा के गर्नुहुन्छ?” त्यस्तो केही योजना छैन भनेर भन्दा, “परिवार भेट्न नजाने?” भनेर दोस्रो प्रश्न गरे। ठट्यौली भाषामै भने हिँडेर जान सक्ने भए त आजै जान्थेंके गर्ने बाटो लामो छहिँड्न पनि सकिँदैन उड्न पनि सकिँदैन।” “किन उड्न सकिँदैनप्लेन छ नि” भनेर भन्छ साथीले। सित्तैँमा लाँदैनटिकट किन्ने पैसा छैन” भनेर जवाफ दिँदा यो मण्डलीमा सेवा गरेर जाबो टिकटको लागि पनि पैसा बचाउन सकेनौ?” पो भन्छन् मलाई। यो मण्डलीमा सेवा गरेबापत अहिलेसम्म एउटा सुको पनि पाएको छैन भनेर भन्दा डिकन सुङ ईन किम छक्क परे। उनलाई विश्वासै लागेन। मेरो हात समातेर मण्डलीको वरिष्ठ पास्टरको कोठाको अगाडि लगेर बसाले र आफू पास्टरलाई खोज्न गए। केही समयपछि हामी तीनै जना पास्टरको अफिस कोठामा छिर्‍यौं। दुई जनाले के बोले बोले कोरियन भाषामा तर वार्ताको अन्तिममा वरिष्ठ पास्टरले अङ्ग्रेजीमै भने, “मलाई थाहा थिएन तपाईंले सेवा गरेवापत अहिलेसम्म चर्चबाट स्कूलको फिसबाहेक कुनै सहायता पाउनुभएको रहेनछ र कुनै गुनासोविना यसरी निरन्तर सेवा गरेको देख्दा मलाई साह्रै खुसी लागेको छ। अङ्ग्रेजी सेवा पनि तपाईंले जिम्मा लिएपछि राम्रो भएको छ भनेर सुनेको छु। नेपाल जाने–आउने खर्चको चिन्ता नगर्नुहोस्अर्को हप्ता तपाईं नेपाल जानुहोस्परिवारसँग केही समय बिताएर आउनुहोस्। हुन पनि १०-१२ हजार विश्वासीहरूको मुख्य पास्टरलाई यी सानातिना कुराको बारेमा थाहा हुन पनि गाह्रै कुरा थियो। नभन्दै अर्को हप्ता सेवामा जाँदा नेपाल जाने-आउने टिकटका साथै परिवारको लागि भनेर डिकन किमले हातमा ३ हजार डलर थमाइदिए। म तीन छक परें। आखिर इमानदार सेवाको मूल्याङ्कन परमेश्वरले गर्नुहुँदो रहेछ। उता नेपालभारत र अन्य गरिब मुलुकबाट कोरिया पढ्न गएका मित्रहरूले धेरै मण्डली चाहर्दै गुहार मागेको पनि देखेको थिएँ र यति गर्दा पनि उहाँहरूले खासै सहयोग पाएको देखिएन।  तर मलाई त्यो निराशलाग्दो सेवामा पनि इमानदारिताका साथ गई नै रहेको कारण परिवारलाई खालि हात भेट्नुको साटो नेपालको लागि मोटो रकम प्रभुले हातमा थमाउनुभयो। ३ हप्ता परिवारसँग बिताएर फर्कें र बाँकी २ वर्षको समयमा त्यो मण्डलीले मलाई राम्रो पारिश्रमिक दिएर पूर्णकालीन सेवामा लगायो। वरिष्ठ पास्टरसँग पनि निकै आत्मिय सम्बन्ध गाँसिन पुग्यो र पछि उनकै नेतृत्वमा र उनकै हातबाट मलाई प्रेस्वीटेरीयन चर्च ईन् कोरीया (टोङ्हाप) ले पास्टरीय अभिषेक दियो।
 
दोस्रो वर्ष नेपालबाट दावासाङ लामा भाइ पनि त्यही स्कूलमा पढ्न आउनुभयो र हामी ३ जना नेपाली भयौं। हाम्रो स्कूल र कोरियाको नाम चलेको हल्लेलूयाह चर्चको निकट सम्बन्ध थियो। एक दिन त्यसै चर्चको डिकन ली साङ् ग्युनले त्यो स्कूलमा नेपाली छन् भन्ने सुन्नुभएछ र हामी तीनै जनालाई आफ्नो घरमा खाना खान बोलाउनुभयो। साँझको खाना खाएपछि उहाँले आफू धेरै चोटि नेपाल पहाड चढ्न आएको कुरा बताउनुभयो र हिमालका भिडियोहरू पनि देखाउनुभयो। जब अन्तिम प्रार्थना गरेर छुट्ने बेला भयो तब उहाँले हामीलाई केही खाँचो छ कि भनेर सोध्नुभयो। दुई जना भाइहरूले के के भने कुन्नि मैले बिर्सें तर मलाई खासै केही खाँचो थिएन र मैले सब ठीक छ भनें। कोरियन मित्रहरूलाई मन पर्‍यो भने बडो आदरका साथ जिद्दी पनि गर्छन्। उहाँले पनि मलाई जिद्दी गर्दै सोध्नुभयो तर मैले खाँचो छैन भनेरै त्यहाँबाट बिदा भए। डिकन ली अति नै मिजासिलो मानिस। उमेरमा बाबु समान भए पनि साह्रै नम्र र परमेश्वरको सेवकलाई धेरै आदर गर्ने व्यक्ति हुनुहुँदोरहेछ। हामी ३ जना भाइहरूसँग कुरा गर्दै जाँदा म उमेरमा र सेवामा पनि अलि पाको भन्ने कुरा थाहा पाएको कारण मैले उहाँको केही चाहिन्छ?” भनेर सोधेको अनुरोधलाई स्वीकार नगर्दै फर्केको कारण कतकता उहाँको मनमा कस्तो कस्तो लागेछ। हुन पनि त्यो बेलामा मलाई खासै कुनै खाँचो थिएनप्रभुले सब जुटाउनुभएको थियो।
 
एक हप्तापछि दिउँसोको खानाको मौका पारेर डिकन ली स्कूलमै मलाई भेट्न आउनुभयो र त्यही प्रश्न दोहोर्‍याउनुभयो। उहाँले धेरै गरिसकेपछि मैले उहाँलाई भने कि यदि मलाई साँच्चै सहायता गर्न चाहनुहुन्छ भने मलाई होइन मेरो मण्डलीलाई सहयोग गर्नुहोस्। खै कुन्नी मैले किन त्यसो भने। उहाँले मण्डलीको बारेमा सोध्नुभयोमैले सबै बेलिविस्तार गरें। म प्रार्थना गर्नेछु भनेर त्यो दिन उहाँ जानुभयो। २ हप्तापछि उहाँले मलाई सोलको काङ्नाम भन्ने ठाउँमा खानाको लागि बोलाउनुभयो। म गएँ र राम्रो होटेलमा खाना खाँदै गर्दा उहाँले हाम्रो मण्डलीलाई सहायता गर्ने कुरा सुनाउनु भयो। मलाई लागेको थियो कि उहाँले केही सहायता गरेमा आफूले पनि थपथाप गरेर पानी आउने छिँडीबाट राम्रो ठाउँमा सङ्गति गर्ने ठाउँ खोज्नुपर्ला भन्दै म खाना खाइरहेको थिएँ। तर अचानक उहाँले आफ्नो मनको कुरा खोल्नुभयो। नेपालकै यात्राको बेला उहाँले प्रभुलाई विश्वास गरेको कारण त्यो दिनदेखि नेपालमा प्रभुको लागि केही गर्नुपर्छ भन्दै एउटा कोष शुरू गर्नुभएको रहेछ। तर १९९७को कोरियामा आएको आर्थिक मन्दीमा उहाँको व्यापार टाट पल्टेको रहेछ। तर त्यो कोषचाहिँ अझै रहेछ र आर्थिक अभावको बेला परमेश्वरको कामको लागि भनेर छुट्याइएको रकम पनि चलाउने परीक्षा आउँछ कि भनेर उहाँलाई डर पनि लागिरहेको रहेछ। उहाँले भन्नुभयो त्यो कोषमा १० करोड कोरियन वन (आजको १ लाख डलर) छ। तपाईं त्यो पैसा लानुहोस् र मण्डलीको लागि जग्गा किनेर सकेमा भवन पनि बनाउनुहोस्।
 
खै मेरो कानले सुन्न गल्ती गरेको हो कि उहाँले भन्न गल्ती गरेको हो थाहा नपाएर मैले फेरि सोधें। उहाँले दोहोर्याउनुभयो। विश्वासै लागेन। कता कता डर पनि लाग्यो। यत्रो पैसा यति छिटै,राम्रोसँग नचिनेको मानिसलाई कसरी विश्वास गर्नसकेको होला! म छक्क परें। यसमा उहाँको केही शर्त छ कि भनेर सोध्दा, “कुनै शर्त छैनमेरो छायाँ पनि त्यहाँ परेको म देख्न चाहन्नँ कारण यो मेरो पैसा होइनयो प्रभुको हो र यसले प्रभुको लागि नेपालमा मण्डली भवन बनाउनुहोस्” भन्दै मलाई सान्त्वना दिनुभयो। उहाँको अङ्ग्रेजी त्यति राम्रो थिएन त्यसकारण हाम्रो कुरालाई अझ राम्रोसँग प्रष्ट पार्न अर्को हप्ता हाम्रै स्कूलमा पढ्ने तर उहाँले नै आर्थिक सहयोग गरिरहनुभएको पास्टर चा दोङ जेलाई पनि सँगै राखेर कुरालाई टुङ्गोमा लाउने निर्णय गर्दै हामी त्यो दिन बिदा भयौं। म स्कूल कतिखेर पुगेछु थाहै भएन। काठमाडौंमा मण्डली भवन बनाउने सपना पूरा हुने देखेर हाम्रो स्कूलको पछाडिको जङ्गलमा मैले प्रभुलाई धन्यवाद दिँदै कक्षामा पनि नगएर त्यो दिन बिताएँ।  काठमाण्डौंमा मण्डली भवनको लागि लामो समय सम्म गरेको प्रार्थनालाई त्यो दिन एकजना साधारण मानिसबाट परमेश्वरले पुरागर्न लाग्नुभएको देखेर परमेश्वरका प्रतिज्ञामाथिको मेरो विश्वासले झन धेरै जरा गाड्यो।
 
अर्को हप्ता पास्टर चाले मलाई बोलाएर डिकन लीको घरमा लानुभयो। त्यहाँ सबै कुरा स्पष्ट भयो। आशा मण्डलीको जग्गा र घरको लागि कोरियन वन १० करोड डिकन लीले कुनै शर्तविना दिने पक्का भयो। तर यो रकम नेपाल कसरी ल्याउने मलाई थाहा थिएन। व्यक्तिगत खातामा भन्दा सामाजिक सेवा गर्ने कुनै गैर–सरकारी संस्थाको नाममा कोरियाबाट एक मुष्ठ पठाउन पाउँदा सजिलो र सस्तो पर्ने रहेछ। व्यक्तिगत नाममा एकपटकमा केवल १० हजार डलर मात्र पठाउन पाउने रहेछ त्यो बेलामा। यसरी धेरै चोटि पठाउँदा पठाउने खर्च पनि बढी नै लाग्दोरहेछ। हामी तिनै जनाको सल्लाहअनुसार सेमेस्टरको बीचको छुट्टीमा म नेपाल आएर जग्गा पनि हेर्ने र सरकारमा दर्ता भएका कुनै ख्रीष्टियान संस्थाहरूको सहयोग माग्ने भनेर म नेपाल आए। त्यति बेला धेरै नजिकबाट चिनेको दाईले एउटा ख्रीष्टीयन गैर-सरकारी संस्था चलाईरहनुभएको थियो।  उहाँको संस्थाको नाममा त्यो भेटी नेपाल ल्याउन मिल्छ कि भनेर सोधें र उहाँले पनि मिल्छ भने चलाउनुहोस् भन्दै आफ्नो संस्थाको सरकारमा दर्ताको कागजका साथै एउटा पत्र पनि लेख्नुभयो। तर उनकै कोषाध्यक्षले मानिनन्। हामीलाई के थाहा यी गैर–सरकारी संस्थाका पनि देखाउने र चपाउने दाँतहरू बेग्ला बेग्लै हुन्छन् भनेर! सरकारलाई देखाउने बजेट एउटाआफ्नो बजेट अर्कै हुँदो रहेछ। हामीलाई सहयोग गर्दा उहाँहरूको कता कता पिराउने र बिराउने रहेछ। यस्तो कुराको लागि आइन्दा हामीसँग सहयोगको आस नगर्नुहोला भन्दै ती कोषाअध्यक्षले हामीलाई पन्छाइन्।  
 
जे भए पनि जग्गा हेरियो र म कोरिया फर्कें र महिनाको दश–दश हजार गर्दै खातामा नेपाल पैसा पठाइयो र जग्गा किन्ने बेला पास्टर चा र डिकन ली पनि नेपाल आउनुभयो र हामीले सजिलै जग्गाको रकम भुक्तानी गर्न सक्यौं। मण्डलीको जग्गा कसको नाउँमा राखौं भन्दायति बेलासम्म डिकन लीले नेपालको बारेमा धेरै अनुसन्धान गरिसक्नुभएको रहेछ, उहाँको र मण्डलीका सदस्यहरूको सल्लाहा अनुसार पास्टरकै नाममा राख्ने निर्णय गरियो।   एक्लैको नाममा राख्ने मन त थिएन तरै पनि धेरै मण्डलीहरूको सम्पत्तिको भागबन्डाका कुराहरू सुनेको र देखेको कारण सुरक्षाकै लागि म मन्जुर भए।  तर पछि जुन दाईको गैर सरकारी संस्थाका नाममा रकम नेपाल ल्याउनको लागि सहायता मागेको थिए उनै ले हल्ला फैलाएछन् कि उहाँले पो आशा चर्चको जग्गा मिलाउनुभएको भनेर।  
 
कोरियाको पढाइ राम्रै भइरहेको थियो। मास्टर अफ डिभिनिटी डिग्रि पनि Magna Cum Laudeमै उत्तिर्ण गरियो।  पढाइमा राम्रो भएकै कारण स्कूलका शिक्षकहरूले पनि मास्टर अफ डिभिनिटी सकेपछि अमेरिकामा पिएचडी गर्ने भए बेलायती विद्वान जोन स्टट फाउन्डेसनबाट वर्षको ४० हजार डलरको छात्रवृत्ति हामी मिलाउन सक्छौं भन्न थाले। शर्त एउटा मात्रै थियो कि अमेरिकामा पढाइ सकेपछि नेपाल फर्किनै पर्ने। यसमा मलाई कुनै चिन्ता थिएन कारण कोरियाबाट फर्केर पनि काठमाडौंकै एउटा बाइबल स्कूलमा पढाउने वचन मैले पहिल्यै दिइसकेको थिएँ। शिकागोको ट्रिनिटी ईभान्जेलिकल डिभिनिटी स्कूलका तात्कालीन प्रेसिडेन्ट डक्टर ग्रेग वेब्राईट कोरियामा एक महिनाको लागि हामीलाई पढाइरहनुभएको थियो र हाम्रो स्कूलका प्रेसिडेन्ट डक्टर डेबिड किम र उहाँको सल्लाहमै मेरो लागि शिकागोमा ४ वर्षका लागि पीएचडीको लागि सबै कुरा मिल्यो। २००१को फल सेमेस्टरबाट स्कूल शुरू गर्नको लागि म र मेरो चिनियाँ साथी जोसेफ याङलाई जोन स्टट फाउन्डेसनले पक्का गर्‍यो। त्यसै बेला काठमाडौंमा मैले कोरीयाबाट फर्केपछि निरन्तर पढाउने वचन दिएको स्कूलका संस्थापकहरू  पनि कोरियामा आएको कारण उहाँहरूको सामु यो अवसरको बारेमा कुरा राखे। उहाँहरू पनि खुसी भएर सकरात्मक प्रतिकृया दिनुभयो। यस किसिमले सन् २०००को नोभेम्बरमै पढाइ सकेर म मण्डली भवन निर्माणलाई अघि बढाउन नेपाल फर्कें। मण्डली भवन निर्माणको लागि भनेर मैले सेवा गरेकै मण्डलीले पनि केही रकम भेटी उठाएर मलाई दियो र आफूले कमाएको पैसा (सजिलै आफ्नो घर बन्थ्यो त्यो पैसाले) पनि हाल्दै निर्माण कार्य अगाडि बढाएं।  बाइबल स्कूलमा पनि पढाउन थाले। 
 
मण्डलीको भवनको आकार ठूलै भएको कारण आफूसँग भएको सबै पैसा सकियो। २ तलामै काम सीमित राखेर फेरि पढाइको लागि तयार हुनथालें म। २००१को अगस्ट महिनाबाट पढाइ शुरू हुने भएको कारण मे महिनामै शिकागोबाट भिसाको लागि सबै कागजहरू आए। मे महिनाको २० तारिख अमेरिकी राजदूतवासमा अन्तरवार्ताको लागि बोलाइयो। गएँ। भिसा नदेला भनेर एक मनले पनि सोचेको थिएन। अचम्मको कुराजब म अन्तरवार्ताको ठाउँमा पुगेंमलाई केही कुरा सोध्नुको सट्टा कन्सुलरले सीधै मेरो फाइल मलाई आइएम् सरी” भन्दै हातमा थमाउँछ। किनभन्दा उसको टेबुलमा राखेको चिठ्ठीमाथि चोर औंला राख्छ। चिट्ठी मैले पढाईरहेकै स्कूलको संस्थागत लेटर प्याडमा लेखिएको थियो। मिति पनि मे २० तारिक। सम्बोधनचाहिँ “डियर पावल” भनेर लेखिएको र विषय: ‘भोजराज भट्ट’। मैले एक टक त्यो पत्रमा हेरेको देखेर होला उनले भने आर यू फिनिस्ड?” अर्थात् पढी सक्यौ?” मेरो विरुद्ध हुनु नहुनु लेखेको रहेछ र अमेरिकाको लागि त म एक खतरानाक व्यक्ति नै ठहरिएछु। बडो गजब लाग्यो। मुखले सबै ठीक तर पिठ्यूँपछाडि मानिसहरूले यतिसम्मको प्रहार गर्न सक्दारहेछन्त्यो पनि ख्रीष्टको नाम लिनेहरूनै। त्यो अन्तरवार्ता लिने मानिसले पनि किन देखाउनुपरेको होला?भिसा मात्रै नदिएको भए चित्त बुझाउन सजिलै हुन्थ्यो होला तर आफ्नै मित्रले पछाडिबाट हानेको छुराले निकै दुखायो।  शुरूमा उहाँलाई किन यस्तो पत्र लेखेको भनेर सोध्दा उल्टै धम्कीका साथ इन्कार गर्नुभयो तर पछि प्रमाणसहित पेस गर्दा त्यसको जवाफै दिनुभएन।  जाने स्कूलाई भिसा मिलेन भनेर जब खबर गरें तब डक्टर वेब्राईट र डक्टर किमले पनि अमेरिकी दूतावासमा पत्र लेख्नुभयो र मलाई फेरि निवेदन दिनु भनेर भन्नुभयो तर केही लागेन।  मेरो पीएचडीको सपना पानीमै गयो र मैले  त्यो स्कूलमा पढाउनेछु भनेर दिएको वचन जबसम्म मेरो विरुद्ध अमेरीकी दूतावासमा लेखेको पत्र फिर्ता हुँदैन तबसम्म पढाउँदिन भनेर आजसम्म पढाउन गएको छैनँ।  यो घटनाले निराश त बनायो र कोरियामै भए पनि पीएचडी गर्नुपर्‍यो भनेर केही स्कूलमा मैले ईमेल पठाए तर त्यो वर्षको अन्त्यसम्म पनि कतैबाट उत्तर आएन। हुन पनि त्यति बेलासम्म कोरियामा डीमिन डिग्री केही स्कूलमा थियो तर थियोलोजीमा पीएचडी दिने अङ्ग्रेजी भाषाका स्कूलहरू थिएनन्।
 
जीवनमा पहिले नै धेरै हन्डर खाइसकेको कारण केही समयपछि यो निराशालाई पनि प्रभुले बलमा नै परिवर्तन गर्नुभयो। मण्डलीमा सुधार आउन थाल्यो। गाउँमा पनि मण्डली शुरू हुन थाले। छोरा पनि स्कूल जान थाल्यो। मण्डली भवन पूरा गर्न नसके पनि सेवाको लागि राम्रै भैसकेको थियो। परमेश्वरले नै मेरो मित्रलाई चलाएर मेरो सेवा र परिवार वचाउनको लागि मलाई अमेरिका जानबाट रोकेको पक्का भयो। नत्र लामो समय पहिल्यै परिवारबाट अलग भएको थिएँ र फेरि ४ वर्ष परिवार छोडेको भए मेरो अवस्था कस्तो हुन्थ्यो होलाविचार गर्दा नै डर लाग्छ।  तर त्यो समय मैले मेरो परिवार र सेवामा लगानि गर्न पाएको कारण आज हामीले परमेश्वरबाट धेरै आशिषहरू अनुभव गरिरहेका छौं।  सेवाले पनि नौलोरूप लियो र देस-विदेशमा बस्ने, नेपाली र अङ्ग्रेजी भाषी मित्रहरूमाझ परमेश्वरको वचन बोल्ने अवसर प्रभुले दिनुभयो।  २००३मा प्रभुले अर्को अचम्मको काम गर्नुभयो जसले गर्दा मेरो पिएचडिको सपना पनि पुरा भयो तर यसको लागि अर्को खण्ड पर्खिनुहोस!

Leave a Reply

Your email address will not be published. Required fields are marked *